शुक्रबार, बैशाख २१, २०८१
Friday, May 3, 2024

काठमाडौं – भारतले दार्चुलाको लिपुलेक हुँदै मानसरोवर जोड्ने बाटो बनाएको विरोधमा प्रदर्शनमा उत्रिएका सत्तारुढ नेकपानिकट विद्यार्थीसहित ३६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । लकडाउन उल्लंघन गरेको भन्दै प्रहरीले उनीहरुलाई केही बेरअघि माइतीघरबाट नियन्त्रणमा लिएको हो ।

नेविसंघ, सत्तारुढ नेकपानिकट अखिल, मोहन बैधनिकट अखिलले संयुक्त रुपमा गरिएको प्रदर्शनमा हस्तक्षेत्र गर्दै पक्राउ गरिएको नेविसंघ पूर्व केन्द्रीय सदस्य एलिजा ढकालले जानकारी दिएकी छिन् । प्रदर्शनका क्रममा ३३ जनालाई नियन्त्रणमा लिइएको महानगरीय प्रहरी परिसरका एसएसपी श्याम ज्ञवालीले पुष्टि गरेका छन् । भारतले लिपुलेक-कालापानी हुँदै चीनको मानसरोवर जोड्ने सडक बनाएर उद्घाटन गरेपछि त्यसको विरोधमा प्रदर्शन गरिएको हो ।

भारतले एकतर्फीरूपमा नेपालको भूगोलमा रहेको लिम्पियाधुरा, लिपुलेक र कालापानीबाट चीनको स्वशासित क्षेत्र तिब्बतको मानसरोवर जोड्ने सडक ट्रयाकको उद्घाटन गरेको समाचारले दुई देशबीच थाती रहेको लिपुलेक कालापानी विवादलाई नयाँ चरणमा प्रवेश गराएको छ ।

भारतका सङ्घीय रक्षामन्त्री राजनाथ सिंहले शुक्रबार ट्वीट गर्दै अब भारतीय तीर्थयात्रीलाई मानसरोवरको यात्रा गर्न सहज हुने भन्दै प्रसन्नता व्यक्त गरेका थिए । नेपाल सरकारले नेपाली भूमिमा सडक निर्माण गरिएकोबारे स्पष्ट विवरण दिन दूतावासमार्फत आग्रह गरिएको स्पष्ट पारेको छ ।

यसअघि भारत सरकारले नेपालको दार्चुला जिल्लामा पर्ने लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमा विभिन्न सैनिक असैनिक गतिविधि गरिआएको छ । भारतले सो क्षेत्रलाई आफ्नो क्षेत्रमा गाभी नक्सा सार्वजनिक गरेपछि सरकारले केहीअघि आपत्ति जनाएको थियो ।

तपाईको प्रतिक्रिया