बुधबार, जेठ ०२, २०८१
Wednesday, May 15, 2024

टोकियो – जापान सरकारले कोरोना भाइरसका कारण सर्बसाधारणमा पुर्‍याएको नकरात्मक आर्थिक प्रभावलाई ऊर्जा प्रदान गर्न सहानुभूति राहतस्वरुप हरेक नागरिकलाई प्रतिब्यक्ति १२ हजार येन नगद उपलब्ध गराउने राहत प्याकेज ल्याउने भएको छ ।

माइनिची शिम्बुनले जनाएअनुसार सरकारले नागरिकलाई उपलब्ध गराउन लागेको उक्त नगद भुक्तानी आपतकालिन अवस्थाको आर्थिक राहत स्वरुपको एक हिस्सा भनिएको छ ।
जापानमा आर्थिक मन्दी हुँदा सन् २००९ तिर पनि जापान सरकारले आफ्ना नागरिकलाई यसरी नै नगद राहत बितरण गरेको थियो । जसअनुसार १८ वर्ष मुनि र ६५ वर्षभन्दा माथिकालाई प्रतिब्यक्ति २० हजार येन र अन्यलाई प्रतिब्यक्ति १२ हजार येन बितरण गरेको थियो । यसरी वितरण गर्दा जापान सरकारले २ खर्ब येन बजेट विनियोजन गरेको थियो ।

सत्तारुढ दल एलडिपीका सभापति समेत रहेका जापानी प्रधानमन्त्री शिन्जो आबेले बुधबार पार्टीको विशेष वैठकमा बोल्दै यस्तो घोषणा गरेका हुन् । सो अवसरमा उनले जापानको अर्थतन्त्रलाई खलबलिन नदिन अझ प्रभावकारी कदम चालिनु आवश्यक रहेकोमा जोड दिए ।

सांकेतिक सहयोगका रुपमा डेलिभरी गर्न लागिएको यो आकस्मिक राहत प्याकेजबाट सर्बसाधारण लाभान्वित हुने अपेक्षा गरिएको छ ।

लामो कसरतपछि ५ प्रतिशतबाट ८ प्रतिशत र ८ प्रतिशतबाट १० प्रतिशत उपभोक्ता कर लगाएको भन्दै यदाकदा आलोचित बन्दै आएको एलडिपीको सरकार कोरोना भाइरसको संक्रमणलाई रोक्न र थप फैलिन नदिन सुरुका दिनमा शिघ्रताशिघ्र कदम चाल्न नसकेको भन्दै आलोचित हुँदै आएको थियो । तर पछिल्ला समयमा साना तथा मझौला ब्यवसायीलाई लामो अवधिको लागि सफ्ट लोन उपलब्ध गराउने, स्कुल जाने विद्यार्थीका अभिभावकका लागि आर्थिक सहयोग उपलब्ध गराउने, नागरिकलाई राहत प्याकेज वितरण गर्ने जस्ता एकपछि अर्को लोकप्रिय कार्यक्रम आबे सरकारले अगाडि सार्दै आएको छ ।***

तपाईको प्रतिक्रिया