बुधबार, जेठ ०२, २०८१
Wednesday, May 15, 2024

काठमाडौँ – विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको त्रासका कारण यसै वर्ष आयोजना हुने भनिएको ओलम्पिक खेलकुदको भविष्य पनि अन्योलमा परेको छ। विश्व खेलकुदको महाकुम्भ ओलम्पिक आगामी जुलाई २४ देखि अगस्त ९ तारिखसम्म जापानको राजधानी सहर टोकियोमा आयोजना हुने कार्यक्रम छ।

तर, चीनबाट सुरु भएको कोरोना भाइरस महामारीका रूपमा विश्वभर फैलिएपछि ओलम्पिक खेलकुद स्थगित गरिनुपर्ने माग बढ्न थालेको छ। आयोजक राष्ट्र जापानका प्रधानमन्त्री सिन्जो आबेले ओलम्पिक खेलकुद निर्धारित समयमै आयोजना हुने दाबी गरेको एक दिनपछि नै सोमबार एक ब्रिटिस खेलाडीले टोकियो ओलम्पिकको मिति सारिनुपर्ने धारणा व्यक्त गरेका छन्।

ब्रिटिस खेलाडी गुय लियरमन्थले तत्कालका लागि ओलम्पिक खेलकुद स्थगित गरिनुपर्ने बताएका हुन्। यद्यपि, अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) ले भने हालसम्म यस विषयमा आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको छैन।

जापानले ओलम्पिकका लागि १.३५ ट्रिलियन जापानी येन खर्च गरिसकेको छ।आईओसीका सदस्य डिक पाउन्डले भने यही अवस्थामा ओलम्पिक हुन नसक्ने बताएका छन्। उनले स्वास्थलाई ख्याल गरी आईओसी यसमा सचेत हुनुपर्ने पनि बताए। ओलम्पिकलाई लक्षित गरी गरिएको तयारीलाई कतिपय देशले स्थगित गरिसकेका छन्।

यसैबीच, टोकियो ओलम्पिकका लागि ओलम्पिक ज्योति हस्तान्तरण कार्यक्रम पनि बन्द रंगशालामा गरिने भएको छ। आधुनिक ओलम्पिकको सुरुआत ग्रिसबाट भएकाले विश्वकपको जुनसुकै राष्ट्रमा ओलम्पिक आयोजना भए पनि ग्रिसबाटै ओलम्पिक ज्योति ल्याउन प्रचलन रहेको छ।

तर, कोरोना भाइरसको त्रासका कारण ग्रिसमा ओलम्पिक ज्योति हस्तान्तरण कार्यक्रम बन्द रंगशालामा गरिने भएको छ। ओलम्पिक ज्योति प्रज्ज्वलन र हस्तान्तरण कार्यक्रम अर्को साता प्राचिन ओलम्पियामा हुनेछ। ओलम्पिक ज्योति हस्तान्तरण गरिए पनि ग्रिसमा ओलम्पिक ज्योति भ्रमण गराइने छैन।

तपाईको प्रतिक्रिया