बिहिबार, जेठ ०३, २०८१
Thursday, May 16, 2024

काठमाडौं -सरकारले कोरोना भाइरस संक्रमणलाई लक्षित गरी दैनिक उपभोगका वस्तु सुपथ मूल्यमा सहजरुपमा उपलब्ध गराउन सुपथ मूल्यका पसल सञ्‍चालन गर्ने भएको छ ।

संसद्को उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा कोरोना भाइरस संक्रमणको जोखिमबारे मंगलबार भएको छलफलमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले सुपथ मूल्यका पसल खोल्न लागेको जानकारी गराएका हुन् । ‘खाद्यान्‍नको सस्तो पसल निश्चित ठाउँहरुमा खोल्ने तयारी खाद्य व्यवस्था संस्थान र साल्ट ट्रेडिङ कर्पोरेसनले गरिरहेको छ, मोबाइल पसलहरु पनि सञ्चालन गर्ने सरकारको तयारी छ’, मन्‍त्री भट्टले भने, ‘यसले मूल्यवृद्धि र अभाव सिर्जना गर्नबाट रोक्ने छ ।’

उनले ७७ वटै जिल्लामा गृहमन्त्रालयसँग समन्वय गरेर कालोबजारी गर्नेलाई कानुन दायरामा ल्याउने काम भइरहेको पनि बताए । मन्‍त्री भट्टले चेतावनी दिँदै भने, ‘कतै कालोबजारी र मूल्यवृद्धि गरेको भेटिए उदार र लचक हुने भन्ने छैन ।’ मन्त्री भट्टले खाद्यान्न, औषधि, ग्यास, पेट्रोलको कुनै अभाव नरहेको भन्दै नेपाल आयल निगमले शनिबार दिउँसो १ बजेसम्म पेट्रोल डिपो खोल्ने जानकारी दिए ।

तपाईको प्रतिक्रिया