सोमबार, बैशाख १७, २०८१
Monday, April 29, 2024

५ को ज्यान गयो, संक्रमित ८ सय ५०

टोकियो – चीनमा लामो समयदेखि महामारीको रुप लिएको कोरोना भाइरसको संक्रमण घट्न थालेको छ । पाँच दिनदेखि संक्रमितको संख्या घट्न थालेसँगै ज्यान गुमाउनेको संख्या पनि घट्न थालेको चिनियाँ स्वास्थ्य विभागले जनाएको छ । बुधबार बिहानसम्म चीनमा कोरोनाको संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ हजार ७ सय १५ पुगेको छ । मंगलबार चीनमा ५२ जनाको ज्यान गएको छ । यसअघि चीनमा दैनिक सरदर एक सय भन्दा बढीको ज्यान जाने गरेको थियो ।
मंगलबार ४ सय ६ जना नयाँ कोरोना संक्रमित फेला परेसँगै चीनमा हालसम्म कोरोना संक्रमितको संख्या ७८ हजार ६४ पुगेको छ । केही दिनदेखि चीनमा कोरोनाको संक्रमण घट्दै गएपनि चीन बाहिर भने संक्रमण बढीरहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । बुधबार बिहानसम्म चीन बाहिर मात्रै करिब २५ जनाको ज्यान गएको छ ।
चीन बाहिर जापान, दक्षिण कोरिया र इटलीमा कारोना संक्रमितको संख्या निकै बढेको छ । बुधबार बिहानसम्म चीन बाहिर दक्षिण कोरियामा ८, इरानमा ५, इटलीमा ५, जापानमा ५, हङकङमा १ र फिलिपिन्समा १ जनाको ज्यान गएको छ ।
चीनबाट फैलिएर कोरोना संक्रमणबाट दक्षिण कोरियामा सबैभन्दा बढी मानिस संक्रमित भएका छन् । सोमबारसम्म कोरियामा १ हजार एक सय ४६ जना संक्रमित भएको पुष्टी भएको छ ।
यस्तै जापानमा पनि संक्रमितको संख्या निकै बढेको छ । जापानमा मंगलबार बिहानसम्म ८ सय ५० नाघेको स्वास्थ्य विभागले जनाएको छ ।
विश्वका २६ देशमा १८ सय भन्दा धेरै मानिसमा कोरोना भएको पुष्टि भएको विश्व स्वास्थ्य संगठन डब्लूएचओले जनाएको छ ।***

तपाईको प्रतिक्रिया