सोमबार, बैशाख १७, २०८१
Monday, April 29, 2024

काठमाडौं – प्रतिनिधिसभाको सभामुख चयन भएको लामो समय हुँदा पनि उपसभामुख चयनका विषयमा दलहरु मौन देखिएका छन् ।

गत माघ १२ गते सभामुखमा सत्तारुढ दलबाट अग्निप्रसाद सापकोटा निर्वाचित भएसंगै उपसभामुख चयनको प्रकृया चाँडै सुरु हुने विश्वास गरिए पनि अहिलेसम्म उपसभामुख चयनको विषयमा दलहरु मौन देखिएका हुन् ।

सत्तारुढ दल नेकपाका नेताहरुले उपसभामुख चयनमा ढिलाइ नभएको बरु केही समय पर्खिएको बताएको छ भने विपक्षी दलका नेताहरुले सत्तापक्ष दलले निर्णयमा ढिलाइ गरेको बताइरहेका छन् ।

प्रतिनिधि सभाकी तत्कालीन उपसभामुख शिवमाया तुम्बाहाङ्फेले माघ ६ गते पदबाट राजीनामा दिएकी थिइन् । उनले राजनीमा दिएको एक महिनाभन्दा बढी भइसक्दा पनि उपसभामुख चयनका विषयमा दलहरु मौन देखिएका हुन् । तत्लकालीन उपसभामुख तुम्बाहाङ्फेलाई कानुन मन्त्री बनाइएको छ ।

सत्तारुढ दल नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले सभामुख चयनमा ढिलाइ नभएको तर केही समय पर्खेको बताए । नेकपाले सभामुख पाउँदा उपसभामुखका लागि तीन दलहरु नेपाली कांग्रेस, समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीमध्ये कुनै एक दलबाट उम्मेदवार बन्‍ने उनले बताए । उनले राजपाले उपसभामुखका लागि अनिच्छा देखाएको कांग्रेसले उपसभामुख नमाग्ने प्रतिक्रिया दिएको र समाजवादी पार्टीले केही समयअघि मात्रै सरकार छाडेकोले राम्रोसंग छलफल हुने अवस्था नदेखिएको बताए ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडुले सभामखु चयनमा सत्तारुढ दलको आन्तरिक कारणले ढिला भएको बताउँदै उपसभामुख चयनमा ढिला गर्न नहुने बताए । फरक दल र फरक लिंगको हुनुपर्ने संवैधानिक प्रावधान अनुसार उपसभामुखको चयन प्रक्रिया चाँडो सुरु गर्न आग्रह गरे । उनले उपसभामुखमा उम्मेदवारी दिने विषयमा कांग्रेसले अहिले सम्म केही नसोचेको बताए । अरु दलहरु पनि यसका लागि दावेदार रहेकाले सत्तारुढ दलले सोचेको निर्णय हुने उल्लेख गर्दै बडुले कांग्रेसले केही नसोचेको बताएका हुन् ।

राष्ट्रिय जनता पार्टी (राजपा) राजपा अध्यक्ष मण्डलका संयोजक महेन्द्र राय यादवले उपसभामुख कसलाई दिने भन्ने कुरा सरकारले निर्णय गर्ने बताए । अहिलेसम्म आफ्नो पार्टीलाई आधिकारिक रुपमा केही नभनेको उल्लेख गर्दै उनले सरकारले पार्टीलाई भनेको खण्डमा छलफल गरेर टुंगो लगाउने बताए । सरकारले सभामुख कसलाई दिने भन्ने कुरा स्पष्ट पारेपछि यो विषय टुंगो लाग्ने उनले बताए ।***

तपाईको प्रतिक्रिया