सोमबार, बैशाख १७, २०८१
Monday, April 29, 2024

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड व्यापारीहरूको षड्यन्त्र पूरा गर्न लागेको निष्कर्ष सुनाएका छन् ।

पार्टीका नेता माधव नेपाल र उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेललाई बालुवाटार बोलाएर व्यापारी घरानाहरूले सरकारविरुद्ध षड्यन्त्र गरिरहेको र प्रचण्ड त्यसैको लहलहैमा लागेको निष्कर्ष सुनाएको स्रोतले जनाएको छ ।
बुधबार बसेको पार्टी सचिवालय बैठकले वामदेव गौतमलाई राष्ट्रियसभामा लैजाने र संविधान संशोधनका लागि गठित कार्यदल विघटन गर्ने निर्णय गरेको थियो ।

प्रधानमन्त्री ओलीले सचिवालयका केही नेताहरू अलग्गै भेला बसेर व्यापारीकै स्वार्थपूर्ति गर्न लागेको भन्दै असन्तोष प्रकट गरेको उच्च स्रोतको भनाइ छ ।

सचिवालय निर्णयको केही समयपछि प्रधानमन्त्री ओलीले नेता नेपाललाई बालुवाटार बोलाएका थिए । बालुवाटारको भेटमा प्रचण्डको पछिल्लो गतिविधि पार्टीको हित विपरीत रहेको भन्दै असन्तोष प्रकट गरेको स्रोतको दाबी छ ।

ओलीले अर्थमन्त्री डा. युवराज खतिवडालाई रोक्ने गरी गौतमलाई राष्ट्रियसभामा लैजान सकिँदैन भनेर नेताद्वयलाई अवगत गराएको स्रोतको दाबी छ । जवाफमा नेता नेपालले सचिवालयले निर्णय गरिसकेकाले कार्यान्वयनको विकल्प नरहेको बताएका थिए ।

‘यो सबै अर्थमन्त्रीलाई रोक्ने डिजाइनमा भइरहेको छ । अर्थमन्त्रीलाई ठूला व्यापारी घरानाले रुचाइरहेका छैनन् । उनीहरू सरकारै गिराउने योजनामा छन् । तपाईंहरू उनीहरूको षड्यन्त्रको मतियार बन्दै हुनुहुन्छ,’ – ओलीले सचेत गराउंदै भने ।

स्रोतका अनुसार मंगलबार खुमलटारमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, झलनाथ खनाल, माधवकुमार नेपाल, वामदेव गौतम बसेका थिए । खुमलटार बैठकपछि ठूला व्यापारी घरानासंग बैठक बसेर खतिवडालाई रोक्ने योजना बनाइएको स्रोतको दाबी छ । भेटमा कोको व्यापारी थिए भन्नेचाहिँ स्रोतले खुलाउन चाहेन ।

‘हिजो वामदेव गौतम प्रधानमन्त्री बन्ने ग्यारेन्टी भएमा मात्रै राष्ट्रियसभामा जान्छु भन्नुहुन्थ्यो । त्यसैका लागि संविधान संशोधन गर्ने कार्यदलसमेत बनाइयो । अहिले संविधान संशोधन नभए पनि राष्ट्रियसभामा जान्छु भन्दै हुनुहुन्छ । त्यसको पछाडिको कारण के हो ? त्यो हामीले बुझ्नुपर्छ । देशले बुझ्नुपर्छ,’ – बालुवाटारनिकट स्रोत आश्चर्य व्यक्त गर्छ ।

प्रधानमन्त्री केपी शर्मा ओली अर्थमन्त्री खतिवडालाई रोकेर वामदेवलाई राष्ट्रियसभामा लैजाने पक्षमा नरहेको स्रोतले दाबी गर्‍यो ।

‘तपाईंहरू मेराविरुद्ध कहाँकहाँ भेला हुनुभएको छ । गुटबन्दी गर्नुभएको छ, सबै मलाई थाहा छ । यसैगरी गुटबन्दी गरेर व्यापारीको उद्देश्य पूरा गर्नेतिर लाग्नुहुन्छ भने मैले पनि फरक तरिकाले अघि बढ्नुपर्छ । सरकारविरुद्ध घेराबन्दी भइरहेको छ । अब मैले घेरा तोड्नै पर्छ, वामदेवलाई तत्काल राष्ट्रियसभा लैजान सकिँदैन । अहिले अर्थमन्त्रीलाई निरन्तरता दिनुको विकल्प छैन,’ – भेटमा ओलीले भनेको स्रोतले उद्धृत गर्‍यो ।

ओलीको प्रेस सल्लाहकार सूर्य थापाले मन्त्रिपरिषद्को सिफारिमा राष्ट्रपतिले मनोनीत गर्ने कोटा प्रधानमन्त्रीको विशेषाधिकार भएको जानकारी दिए ।

“राष्ट्रपतिले मनोनीत गर्ने राष्ट्रियसभा सदस्य कोटा प्रधानमन्त्रीको विशेषाधिकार हो । मन्त्रिपरिषद्ले गर्ने निर्णयमा पार्टीले सुझाव दिन सक्छ,” थापाले भने ।

तपाईको प्रतिक्रिया