सोमबार, बैशाख १७, २०८१
Monday, April 29, 2024

पिताजी सँधै भन्ने गर्नुहुन्थ्यो धर्मले नै धन दिन्छ बाबु । बाँचुञ्जेल कहिल्यै धर्म नछोड्नु, कर्म नछोड्नु अनि नैतिकता कहिल्यै पनि नबिर्सनु र नबेच्नु है । जुन दिन धर्म कर्म र नैतिकता बेच्छौ तिमीले सोच्नु कि अब बर्बाद हुँदैछु भनेर ।

यतिखेर समय बदलिएको छ मानिसको मस्तिष्कको सकारात्मक पक्ष अलिक खस्कँदै गईरहेको महशुस हुन्छ यो समाजलाई देखेर । समाजमा महँगी बढेको बढ्यै छ । इमान्दारिता नांगिएको छ, स्वाभिमान बेचिएको छ, नैतिकता बन्धकी राखिएको छ, अपनत्व टुक्रिसकेको छ । बाँकी केहि पनि रहन्छ भने दुराचार, ब्यभिचार, चोर, फटाहा, लुटाहा मौलाईरहेको छ ।
समाज आनाकानीमै उत्तर आधुनिकतातिर ढल्किसकेको आभास हुन्छ । कसैलाई एकछाक गाँस टार्न अनि एकसरो आङ छोप्ने लुगा नभएको यो बर्तमान आधुनिकतामा कसैलाई भने आनाकानीमै सत्ताको महंगो चिठ्ठा उपहार पर्नेगर्दछ यहि समाजमा । सक्षमहरुलाई दर्शकदीर्घामा राखेर या मताधिकारबाट बञ्चित गर्दै असक्षमहरु या अशिक्षितहरुलाई सत्ताको महंगो ट्याग लगाईन्छ पनि हाम्रै समाजमा ।

त्यही सत्ताको महंगो ट्याग भिरेर निस्कन्छन् कालो धन्दामा कहिले भेटिन्छन् क्याबिन रेस्टुरेन्टमा रंगेहात कहिले क्यासिनोमा पटक पटक बिबादित र गलत क्रियाकलाप गर्दै भाईरल बनिरहन्छन् आफूहरु अनि बदनाम गराईरहन्छन् नेपाली राजनीतिलाई बिश्वपरिवेशमा । कहिले पराई देश रोईरहेको बेला समवेदना सन्देश पठाउनु पर्ने ठाउँमा बधाई सन्देश टाइप गरिदिन्छन् जिम्मेवार कुर्सीमा रहेकाहरुले अनि प्रुफ नहेरी रातो मसी चोपीदिन्छन् बिशिष्टहरुले अनि हुर्‍याईदिन्छन् सामाजिक सञ्जालहरुमा ।

फेरि अर्को देश जलिरहेको बेला पराई देशमा पर्चा र पम्प्लेट छर्दै बिज्ञापन गरिरहन्छन् आफ्नै सुर आफ्नै तालमा । कतै ट्राफिक नियमको उल्लंघन त कतै असभ्य अपाच्य घटनाहरु घटाईरहन्छन् । कहिँ भाषामा बद्नाम गराउँछन् कहि ब्यवहारमा ।

यतिवेला फेरि आधुनिकताको नाममा पुराना धर्म सँस्कृति र संस्कारमाथि प्रहार भएको छ । सदियौदेखि नेपालमा मान्दै आईरहेको स्वस्थानीको पबित्र धर्मग्रन्थमाथि च्यात्नुपर्ने अभिब्यक्तिले देशमा धार्मिक द्वन्द भित्र्याउने जस्ता बिवादास्पद अभिब्यक्ति दिईरहन्छन् सत्तासिनहरुले । यसरी नै यो वा त्यो नाममा लाखौको धार्मिक आस्था र स्वतन्त्रातामाथि हस्तक्षेप गर्दै जाने हो भने भोलि न रहन्छ बाँस न बज्ने छ बाँसुरी । क्षणिक उत्तेजना र आवेगमा आएर यस्ता प्राचिन सँस्कृति र धरोहरलाई मास्दै जाने हो भने देश कसरी बाँकी रहँला अनि हामी र तपाई कमरेडहरु कसरी नेपाली रहौंला जिज्ञासा खडि्करहन्छ मनमा ।

संसार आज यति धेरै बिकसित भईसक्दा पनि ती देशहरुले आफ्ना प्राचिन धर्मग्रन्थ, रितीरिवाज सँस्कृतिहरु जगर्ना गरिरहँदा, आफ्ना सँस्कारहरु मनाईरहँदा या पंत्तिकार बिगत पाँच बर्षदेखि जापानमा रहेर नियालिरहँदा सदियौदेखि चलिआएको परम्परालाई अझै बृहत रुपमा मनाउँदै आईरहेको या संरक्षण गर्दै अघि बढिरहेको यहाँको सँस्कृति देखिरहँदा लाग्छ हामी भने सिङ नभएको गोरुको नाम तिखे त भएको होईनौ त ?

इतिहास र प्राचिन धर्मसंस्कृतिलाई जगेर्ना, उत्थान र संरक्षण गर्न सके मात्र देश धनी हुनेरहेछ । आफ्नो सँस्कार र सँस्कृतिलाई जतनसाथ बचाईराख्नु नै अभिभावकको कर्तब्य हुन्छ । बैज्ञानिक बिष्लेषण नगरीकन सनकका भरमा लाखौ जनताको बिश्वासमाथि ठेस लगाउनु असान्दर्भिक र अवैज्ञानिक हुन्छ ।
साँच्चै देशको सर्वांगिण बिकासमा यहि धार्मिक बिश्वासको मान्यताले अवरोध गरिरहेको छ या यसलाई च्यातिसकेपछि देशको कायापलट हुन्छ भन्ने बिश्वास र संकल्प छ भने म पनि साथ दिनेछु र भन्छु पनि । आउ कमरेड ! मिलेर स्वस्थानी च्यातौं ! ***

चिवा, जापान ।

तपाईको प्रतिक्रिया