आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

टोकियो – हरेक दिन, हरेक क्षण नयाँ-नयाँ विषयको भोका अहिलेका नेपाली पाठकहरुका लागि अहिले गायिका आस्था राउत चर्चामा छिन् । गायिका आस्था राउतले आफूलाई प्रहरीले ‘तँ’ भनेर दुर्व्यवहार गरेको भन्दै बिहीबार सामाजिक सञ्जालमा एउटा भिडियो बाहिरिएसंगै यो बिषय सतहमा तैरिएको हो । उक्त भिडियो सामाजिक सञ्जालमा अझै भाइरल भईरहेको छ । दश मिनेट ३१ सेकेण्डको उक्त भिडियोमा गायिका राउतले प्रहरीलाई गालीगलौज गरेको सुन्न सकिन्छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षा जाँचका बेला भएको सबै गतिविधिको भोलिपल्टै सिसी टिभी फुटेज सार्वजनिक भयो । ‘फुटेज’ मा प्रहरीको भन्दा गायिका राउतको गतिविधि अलि बढी हो कि भन्ने देखिन्छ ।

सिसी टिभी फुटेजमा महिला प्रहरीले सुरक्षा जाँचका बेला कुनै दुर्व्यवहार गरेको नदेखिने महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले बताएका छन् । उसो त प्रहरीले प्रहरीकै पक्षमा बचाउ गर्नु उनीहरुको धर्म हुने नै भयो ।

राउतले नै अभद्र व्यवहार गरेको फुटेजमा देखिएको भन्दै घटनाको अनुसन्धान भइरहेको प्रहरी स्रोत बताउँछ ।

यस विषयमा महिला प्रहरीले महानगरीय प्रहरी कार्यालयमा घटनाको विवरणसहित जानकारी गराएको बुझिएको छ । उक्त विवरणमा ‘सुरक्षाको जाँच गर्न खोज्दा किन गर्नुपर्‍यो, म गायिका हो, चिन्नु भएन ?’ भनेर गायिका राउतले उल्टै प्रश्न गरेको फुटेजमा उल्लेख रहेको कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक किरण बज्राचार्यले बताउँछन् ।

घटना बुधबार अपरान्हको हो । राउत त्रिभुवन विमानस्थलको आन्तरिक उडान कक्षबाट भद्रपुर जाँदै गर्दा उक्त घटना भएको थियो ।

गायिका राउतको भिडियो र विमानस्थलको फुटेज दूवै हेर्दा प्रहरीले आफ्नो कर्त्तब्य अनुसार गर्नुपर्ने सुरक्षा चेकजाँचलाई सहयोग गर्नुपर्नेमा राउतले सो नगरेको देखिन्छ भने प्रहरीबाट पनि मुस्कानसहितको सेवा त परै जाओस् जनअपेक्षित मैत्रिपूर्ण व्यवहार हुन नसकेको देखिन्छ । विमानस्थलमा सुरक्षा चेकजाँचका लागि खटिएका प्रहरी हुन् या अन्य कर्मचारी सेवाग्राही प्रति नम्रतापूर्ण ब्यवहार हुने नगरेको घटना भने यो पहिलो होइन ।

जनताकै करबाट जनताकै सुबिधाका लागि तैनाथ राष्ट्रसेवकहरुमा नम्रता, विनयशिलता र हार्दिकताको खडेरी छ भन्ने कुरो आफु विवादमा परेरै भए पनि गायिका राउतले यतिबेला उजागर गरिदिएकी छिन् ।

जनताका लागि खटिएका राष्ट्रसेवकबाट सो अनुसारको ब्यवहार नहुँदा जनस्तरबाट आक्रोश पैदा हुनु स्वभाविकै हो तर गायिका राउतले भिडियोबाजी गरेर आवेगमा बोलेर गल्ति गर्नुभन्दा सिधा र सोझो बाटो अपनाएर कानूनी उपचारको लाइन समातेको भए बुद्धिमानी हुने थियो – शुभेच्छुकहरु यसै भन्छन् ।

एक महिलाले अर्को महिलालाई गरिएको भनिएको अभद्र ब्यवहारको बिषयलाई लिएर यतिबेला सामाजिक सञ्जालमा खुराक बनेका छन्, सञ्जाल प्रयोगकर्ताहरु ध्रुबिकरण भएका छन् । बिषयको गहिराईमा पुगेर अन्तर्य बुझेर भन्दा हतारमा प्रतिक्रिया दिने र बिषयलाई थप अतिरञ्जित बनाउन सामाजिक सञ्जालका प्रयोगकर्ताहरु उद्यत देखिन्छन् । कतिपयले आफु जान्ने टोपलिनका लागि आफ्नो अर्गानिक धारणा भन्दा पनि अन्धाधुन्धा पक्षधरता लिएर सटही धारणा राख्ने गरेको पनि पाईन्छ । गायिका राउत त एक प्रतिनिधि पात्र मात्र हुन् । उनले आफु सबैले चिनेजानेको नाम चलेको सेलिब्रेटी भएको कारण ती ड्यूटीमा खटिएकी महिला प्रहरीले पनि चिन्नुपर्ने हो भन्ने उनको अपेक्षाले मेल खाएन, कथा यहिँबाट सुरु भएको देखिन्छ । महिला प्रहरीले पनि चिन्नु त परै जाओस् बर्दीको दम्भ नदेखाएर विनयशीलताको क्याप्शुल प्रयोग गर्नुपर्दथ्यो, उनी त सरकारी नुनपानी खाएकी राष्ट्रसेवक हुन् । गायिका राउत आम नागरिक सरह पब्लिक हुन्, जनता हुन् उनले भन्न पाउँछिन् तर दायराभित्र रहेर, सभ्य र शिष्ट भाषामा तर उनले पनि आफ्नो दम्भ पोखिन् नै । यस घटनाबाट राष्ट्रसेवक प्रहरी र मै हुँ भन्ने सेलिब्रेटीहरुले पनि पाठ सिक्न जरुरी छ ।***

तपाईको प्रतिक्रिया