काठमाडौं – जापानमा आयोजना हुने अन्तर्राष्ट्रिय यू–१२ टोरे कप फुटबलका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) र नेपाल युथ सकर प्रोजेक्ट (एनपीओ) जापान बीच शनिबार सम्झौता भएको छ ।
टोरे कपका लागि नेपाली यू–१२ फुटबल टिमले सहभागिता जनाउने भएपछि एन्फा र एनपीओबीच दुईवर्षे सम्झौता भएको हो । सम्झौतापत्रमा एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा र प्रोजेक्टका अध्यक्ष वसन्त गौचनले हस्ताक्षर गरे ।
सम्झौतासंगै नेपालले एनपीओसंग सहकार्य गरेर प्रतियोगिता खेल्नेछ । प्रतियोगिताका लागि नेपालमा खेलाडी छनोट एन्फाले गर्नेछ । प्रतियोगिताका लागि जापानमा रहदाको सम्पूर्ण खर्च भने एनपीओले गर्ने छ । यस्तै, जापानको फन रुट्स एकेडेमीले सहयोग गर्नेछ ।
यसअघि एनपीओले कास्की फुटबल संघसंग सहकार्य गरेर टिम छनोट गर्दै प्रतियोगिता खेल्दै आएको थियो । सम्झौतापछि एनपीओ तथा नेपाली राष्ट्रिय टोलीका पूर्व फरवार्ड वसन्त गौचनले नेपाली फुटबललाई दीर्घकालीन सहयोग पुरयाउन यस्ता प्रतियोगिता फलदायी हुने भएकाले एन्फासंग सम्झौता गरिएको बताए ।
एन्फा अध्यक्ष शेर्पाले युवा फुटबल विकासका लागि एन्फा लागि परेको जनाउँदै प्रतियोगितामा प्रदेशबाट छानिएका १२ खेलाडीलाई जापान पठाउने बताए । टोकियोमा हुने अन्तर्राष्ट्रिय यू–१२ टोरे कप फुटबल मार्च अन्तिम साता हुनेछ । प्रतियोगितामा स्पेन, फ्रान्स, अस्ट्रेलिया, जर्मनी, मलेसियालगायत टिम र जापानको जे लिग क्लबका युथ टिमको सहभागिता रहनेछ । ***