काठमाडौं – १३ औं दक्षिण एसियाली खेलकुद (साग) को समापनका दिन मंगलबार समाचार संकलनका क्रममा नेपाल खेलकुद पत्रकार मञ्चका सदस्य सुमन चापागाईमाथि नेपाल प्रहरीले निर्घात कुटपिट गरेको घटनाको मञ्चले निन्दा गरेको छ ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) को मुख्य प्रवेशद्वार नजिकै तस्बिर लिने क्रममा रहेका पत्रकार चापागाईलाई नेपाल प्रहरीका डिएसपी सन्तोषसिंह राठौरलगायतको समूहले अपशब्द प्रयोग गर्दै जथाभावी बुट प्रहार गरेका थिए ।
एकजनाले समाएर बाँकी दुईले चापागाईमाथि अन्धाधुन्द बुटले हानेका थिए । घाइते चापागाईको अहिले परिषद् नजिक ब्लुक्रस अस्पतालमा उपचार भईरहेको छ । उनको छाती र टाउकोटमा चोट लागेको छ ।
अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको दिन दशरथ रंगशालाभित्र सांसद ११ र कर्मचारी ११ को मैत्रीपूर्ण फुटबल खेल भइरहँदा बाहिर भने टिकट किनेर आएका दर्शक कुटिरहेका पुलिसको तस्बिर कैद गर्ने क्रममा चापागाईले पुलिसको बुट खानुपरेको घटनाको मञ्चले निन्दा गरेको हो । ***