बुधबार, जेठ ०२, २०८१
Wednesday, May 15, 2024

इटहरी – १० वर्षअघि कालापत्थरमा मन्त्रीपरिषद्को बैठक बसेको सम्झनामा इटहरीका युवाहरु मौन ब्रत बसेका छन् । ‘बाह्र घन्टे मौन सन्देश विश्वलाई’ नाम दिएको कार्यक्रम अन्तर्गत इटहरीको पर्यटकीय क्षेत्र तालतलैयामा १२ घण्टा लामो सामुहिक मौन ब्रत सुरु गरिएको हो ।

बिहान ६ बजे सुरु भएको उक्त कार्यक्रममा ६० भन्दा बढी युवा सहभागी छन् ।पूर्व कृषिराज्यमन्त्री रामकुमारी चौधरी, सगरमाथा आरोही मदन चुँडाल र शिव डाँगी, इटहरीका विभिन्न संघ संस्थाका प्रतिनिधि, कलाकार, पत्रकार, व्यापारी मौन बसेका छन् ।

मौन बस्नुअघि इटहरी चोकदेखि तालतलैयासम्म ३ किलोमिटर पैदल यात्रा गरिएको थियो । अपांगता भएका युवाहरुसमेतको उक्त यात्रालाई ‘अपांगमैत्री इको रेस’ नाम दिइएको थियो । पैदलयात्रामा पूर्व भूमिसुधार मन्त्री रामकुमार सुब्बासमेत सहभागी थिए ।

कार्यक्रमले जलवायु परिवर्तनप्रति विश्व समुदायलाई सचेत गराउँदै वातावरणको संरक्षण गर्न प्रोत्साहित गर्ने संयोजक सुरेश कार्कीले जानकारी दिए । तालतलैयामा मन्जुल बराइलीले बनाएको ‘मृत्यु शैय्यामा पृथ्वी’ नाम दिइएको ढुंगाको मूर्ति नजिकै कार्यक्रम गरिएको हो । उक्त मूर्तीमा मानवीय क्रियाकलापले पृथ्वी छिया छिया परेको आशय झल्काउने आकृति कुँदिएको छ ।

२०६६ मङ्सिर १९ गते तत्कालीन माधव नेपाल नेतृत्वको सरकारले कालापत्थरमा बसेको बैठकले सबैभन्दा उचाइमा बसेको मन्त्रीपरिषद्को बैठकको रुपमा इतिहास बनाएको छ। नेपालले गरेको उक्त बैठकमा हिमाली मुलुक एक हुनुपर्नेसहितको घोषणापत्र जारी गरेको थियो । सोही वर्ष माल्दिभ्सले समुद्रमुनी मन्त्रीपरिषद्को बैठक राखेको थियो। ***

तपाईको प्रतिक्रिया