बुधबार, जेठ ०२, २०८१
Wednesday, May 15, 2024

काठमाडौं – भ्रमण वर्ष २०२० को औपचारिक सुरुवात हुन करीव एक महिना बाँकी छ । उदघाटनको तयारीसहित संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय भ्रमण वर्षको अभियान सफल बनाउन यतिबेला हरेक क्षेत्रबाट समर्थन र सहयोग जुटाउने प्रयत्नमा छ ।

बुधबार मात्रै नेपालस्थित विभिन्न ३१ देशका राजदूतसंग मन्त्रालयमै छलफल भएकोमा बिहीबार देशका प्रमुख राजनीतिक दलका नेता र भ्रातृ सङ्गठनका प्रतिनिधिसंग छलफल भयो । छलफलमा सहभागी सबै दलका नेताहरूले भ्रमण वर्ष सरकार वा कुनै एउटा दलको कार्यक्रम नभई साझा राष्ट्रिय स्वार्थ भएकाले अधिकतम सहयोग गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गरेका छन् ।
भ्रमण वर्षमा एकपटक मात्र नेपाल घुम्न आउने नभई यसलाई बारम्बार नेपाल गइरहने आधारका रूपमा अगाडि बढाउनुपर्ने नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेलको सुझाव थियो । भ्रमण वर्ष राष्ट्रिय अभिभारा भएकाले सबै राजनीतिक दल र समाजले त्यही रूपमा ग्रहण गर्नुपर्ने उहाँको आग्रह थियो । उहाँले भ्रमण वर्ष सफल पार्न मन्त्रालयबाट हुने आग्रहलाई अधिकतम रूपमा सहयोग गर्न आफ्नो दल प्रतिबद्ध रहेको बताउनुभयो । भ्रमण वर्षको उदघाटनदेखि वर्षभर नै समस्त नेकपा र यसको जनवर्गीय संगठन स्वयंसेवाका लागि उपस्थित छ र यसलाई त्यही रूपमा प्रयोग गर्न आग्रह गर्छु, उहाँले भन्नुभयो । छलफलमा उहाँले नेपालमा विश्वमा कतै उपलब्ध नरहेको प्राकृतिक सुन्दरता रहेकाले भ्रमण वर्षमार्फत यसको जानकारी फैलाउनुपर्ने सुझाव दिनुभयो ।

नेपाली काँग्रेसका नेता मोहनबहादुर बस्नेतले नेपालमा विभिन्न समयमा राजनीतिक उतारचढाव भए पनि अब सबैले आर्थिक समृद्धिमा केन्द्रित हुनुपर्ने बेला आएको बताउनुभयो । त्यसका लागि पर्यटन महत्वपूर्ण क्षेत्र भएकाले आवश्यक पूर्वाधार बनाउन मन्त्रालयले बढी ध्यान दिनुपर्ने उहाँको सुझाव थियो । भ्रमण वर्ष सफल पार्न सबै सिंगो नेपाल एक भएर लाग्नुपर्ने र यसमा आफ्नो दलको सबै किसिमको सहयोग रहने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो ।
यो नेकपा अथवा सरकारको मात्र हैन । सारा देशको सफलतासंग जोडिएको भएर हाम्रो आफ्नो दायित्व बुझेर संगठनलाई परिचालन गर्न तयार छौँ, उहाँले भन्नुभयो ।

राष्ट्रिय जनता पार्टीका नेता लक्ष्मणलाल कर्णले पहाडमा मात्र सीमित नेपालको पर्यटकीय गतिविधिलाई भ्रमण वर्षले तराईमा पनि विस्तार गरेकामा खुसी व्यक्त गर्नुभयो । पर्यटकीय पूर्वाधार बनाउँदा यसको सुरक्षाको विषयलाई पनि ध्यान दिन उहाँको सुझाव थियो । त्यस्तै उहाँले भ्रमण वर्ष सफल पार्न आफ्नो प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता रोशन कार्कीले धार्मिक पर्यटनलाई पनि समेटेर भ्रमण वर्षको दायरा बढाउनुपर्ने सुझाव दिनुभयो । कार्यक्रममा अन्य दलका नेताले पनि भ्रमण वर्ष साझा लक्ष्य भएकाले यसको सफलताका लागि काम गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गर्नुभयो ।***

तपाईको प्रतिक्रिया