काठमाडौं – १३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता अन्तर्गत तेस्रो दिनको खेल चलिरहँदा नेपाल पदक तालिकाको शीर्ष स्थानमै रहेको छ । नेपालले अहिलेसम्म २७ वटा स्वर्ण पदक जितिसकेको छ ।
नेपालका लागि बुधबार कराँतेमा अनुपमा मगरले स्वर्ण पदक जितिन् । कराँते कुमुतेको ६८ केजी तौल समूहमा अनुपमा मगरले पाकिस्तानी खेलाडी नगर्सिलाई ६-३ ले हराउँदै बुधबार स्वर्ण पदक जितेकी हुन् । त्यसैगरि उसुको पुरुष थाउलोतर्फ दीपक हमालले स्वर्ण पदक जितेका छन् । कराँतेमा नेपालको स्वर्ण पदक संख्या १० पुगेको छ । कराँतेमा नेपाल अहिले सम्म कुनै पनि इभेन्टमा पदकविहीन हुनु परेको छैन ।
नेपालले साइक्लिङको पुरुष-महिला दुवै इभेन्टमा स्वर्ण पदक जित्न सफल भएको छ । डाउनहिल साइक्लिङमा नेपालले दुईजटा स्वर्ण पदक जितेको छ । गोकर्णस्थित सहिद पार्कमा बुधबार डाउनहिलतर्फ नेपालले दुईवटा स्वर्ण पदक जितेको हो । पुरुष इभेन्टतर्फ नेपालका राजेश मगर र महिला इभेन्टतर्फ निश्मा श्रेष्ठले स्वर्ण पदक जितेका हुन् ।