ठ्याक्कै यति नै छन् भन्ने यकिन कसैसंग नभए पनि जापानमा सयको हाराहारीमा नेपाली संघसंस्था रहेको अनुमान गरिन्छ । ती संघसंस्थाहरुको हरेकजसो सप्ताहान्तमा यहाँ कुनै न कुनै कार्यक्रमहरु हुने गर्दछन् । कार्यक्रममा औपचारिकताका नाममा खादा, माला, आसनग्रहण र वक्ताहरुको लामबन्दीले गर्दा कार्यक्रममा जानेहरुले निकै सोच्नुपर्ने स्थिति बन्दै गएको छ भने अर्को महत्वपूर्ण भनेको कार्यक्रमको गहनता, निर्धारित समयमा कार्यक्रम सुरु नहुनु र सहभागीहरु अन्तसम्म बस्नका लागि धैर्यता नहुनुले उपस्थितिका हिसाबले कार्यक्रमहरु प्रति आकर्षण हैन विकर्षण बढ्दो छ ।
जापानको नेपाली समुदायका एउटै ब्यक्ति बिभिन्न संघसंस्थाको बिभिन्न जिम्मेवारीमा बस्ने र अनुहार एक भूमिका अनेककारुपमा प्रस्तुत हुने प्रवृत्ति पनि बढ्दै गईरहेको छ । यसले गर्दा निजले धेरै ठाउँमा आफुले लिएको जिम्मेवारी कुशलतापूर्वक निर्बाह गर्न नसक्दा अपेक्षित परिणाम आउन नसकेका उदाहरण प्रशस्त पाईन्छन् । पहिचान, परिचय र ब्यक्तित्वका हिसाबले पनि एउटा संस्थाको जिम्मेवार ओहदामा रहेको ब्यक्ति अर्को संस्थाको जिम्मेवारी लिनुभन्दा कार्यकाल समाप्तीपछि इच्छाएको अर्को संस्थाको जिम्मेवारी लिनु उपयुक्त हुन्छ । यसो गर्दा स्वयम ब्यक्ति र संस्थाको हितमा हुने कुरामा दुई मत छैन ।
अर्को सबैभन्दा महत्वपूर्ण बिषय एउटा संस्थाको नेतृत्व सम्हालिसकेको अर्थात पदाधिकारीमा रहेको व्यक्ति आफ्नो पदीय मर्यादा र पोर्टफोलियोको प्रबाह नगरी अर्को संस्थाको त्यो भन्दा तलको जिम्मेवारीमा गएर बस्न मरिहत्ते गर्ने प्रवृत्ति पनि हामीकहाँ अचाक्ली बढेको छ । यसले गर्दा आफुले नेतृत्व सम्हालिसकेको वा उच्च तहमा रहीसकेको पहिलेको संस्थाको मानमर्दनसंग जोडिने बिषय भएकोले हाम्रो समाज कता जाँदै छ भनेर सोच्नुपर्ने बेला आएको छ ।
मर्यादाक्रम वा पोर्टफोलियो सर्बत्र लागू हुने बिश्वब्यापी मान्यताका प्रचलन हुन् । एउटा अड्डाको हाकिम भईसकेको कर्मचारी अर्को कार्यालयमा त्यो भन्दा तलको पोष्टमा कोही बस्दैनन् । मालपोतको हाकिम सरुवा भएर नापीमा सुब्बा हुन कोही जाँदैनन् । अपबाद बाहेक मन्त्री भईसकेको मान्छे राज्यमन्त्री वा सहायकमन्त्री बनेको कतै सुनिदैन । संघसंस्थामा पनि अध्यक्ष भईसकेको वा पदाधिकारीमा रहीसकेको ब्यक्ति अर्को संस्थाको त्यो भन्दा तल्लो तहको ओहदामा बस्दा आफैमाथि मर्यादाक्रम बेवास्ता गरेको ठहर्छ । स्वविवेक वा बहकाउमा हुने यस्ता मल्टी जिम्मेवारी लिने सँस्कारले कार्यसम्पादनमा निखार आउने अपेक्षा कमै गर्न सकिन्छ जति एकल जिम्मेवारीमा गर्न सकिन्छ ।
कतिपय संघसंस्थामा आजीवन एकल नेतृत्व रहीरहने, कहिलै नेतृत्व परिवर्तन नहुने र नियमित हुनुपर्ने बैठक, साधारण सभा, अधिवेशन जस्ता गतिविधिहरु हुन छोडेको वर्षौ भएकाहरु पनि देखिन्छन् । कतिपय व्यक्ति विशेषको स्वभाव कस्तो देखिन्छ भने जता मौका पर्छ त्यतै कुनै न कुनै पदमा बसिहाल्ने, उक्त पद आफ्नो लागि हरेक हिसाबले उपयुक्त हो या होइन भन्ने बिचारै नगरी पदलोलुपताको पगरी गुथ्नुपर्ने हो कि भन्ने सामान्य हेक्का समेत राख्ने गरेको पाईदैन । यसबाट हुर्कदों भावी युवा पुस्तामा राम्रो सन्देश संप्रेषण हुँदैंन । धेरै ठाउँमा हात हालेर भन्दा एउटै बिधामा खर्चिएको निरन्तरको लगावबाट हासिल गरेको उचाईले ब्यक्तिको धेरै राम्रो ब्यक्तित्व निर्माण हुने गरेको नजिर स्थापित देखिन्छ ।
त्यसैगरी संघसंस्थाहरुमा सम्मानका खाँतिर राखिने आलाङ्कारिक पदहरु पनि पछिल्ला समयमा धेरैजनालाई भाग पुर्याउन होस् या खुशी पार्न संख्यात्मकरुपमा सानो आकार नै खँदिलो हुने मान्यता विपरित दर्जनौ संख्या राख्ने प्रचलन हाबी हुन थालेको छ भने अझ अनेकन उप-पदहरु सिर्जना गरी धेरैलाई समेट्न खोजिएको देखिन्छ । संख्यामा थोरै हुँदा यसको महत्व र उपादेयता जति रहन्छ, दर्जनौ हुँदा स्वभाविकरुपमा यसको महत्व पनि खस्केर जाने कुरामा सन्देह रहँदैन । यसबाट प्रष्ट हुन्छ कि हामी बसेको समाज गुणात्मक भन्दा संख्यात्मक पक्षलाई बढि महत्व दिनतिर उद्यत देखिन्छ । अन्ततोगत्वा त्यसको प्रभाव परिणाममा गएर ठोक्किन पुगेको अनुभूत हामी सबैले आफै गर्दै आईरहेका छौं । ***