आइतबार, बैशाख १६, २०८१
Sunday, April 28, 2024

काठमाडाैं – नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले जापानको नारितामा उडान गर्न भूमिस्थ सेवा, इन्धन सेवा र स्लट (ग्राउन्ड ह्यान्डलिङ, फ्युल र स्लट) को सहमति गरेको छ ।

यो सहमतिसँगै निगम सन् २०२० को जनवरी (पुसको दोस्रो साता) देखि जापानको नारितामा उडान शुरू गर्ने तयारीमा छ । निगमले गत भदौ १२ गतेदेखि जापानकै ओशाकामा सातामा दुईओटा उडान गरिरहेको छ । ग्राउन्ड ह्यान्डलिङ सेवा नपाउँदा निगमको नारितामा विमान सेवा सञ्चालन गर्ने योजना अनिश्चित बनेको थियो । निगमले अहिले जापान सिभिल एभिएशन ब्युरोअन्तर्गतकै ग्राउन्ड ह्यान्डलिङ सेवा प्रदान गर्ने संस्थासँग सहमति गरेको छ ।

अति व्यस्तताको कारण निगमलाई ग्राउन्ड ह्यान्डलिङ सेवा दिन असमर्थता जनाएको उक्त संस्था नेपालस्थित जापानी दूतावासको समन्वय तथा जापानस्थित नेपाली दूतावासको सक्रियतामा यो सेवा दिन सहमत भएको निगमका सहप्रवक्ता सुलेख मिश्रले बताउनुभयाे । उहाँका अनुसार निगम र जापानको जापान सिभिल एभिएशन ब्युरो (जेक्याब) बीच हालै यी विषयमा सम्झौता भएकाले निगमले तोकेकै समयमा नारिता उडान गर्ने छ ।

निगमले शुरूमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ओसाकास्थित कान्साइ अन्तरराष्ट्रिय विमानस्थलमा मंगलवार, बिहीवार र शनिवार गरी साताको तीनओटा उडान गर्ने तालिका बनाएको थियो । तर, यात्रु अभाव भएपछि हाल साताको २ दिन मंगलवार र शनिवार मात्र ओशाकामा उडान गर्दै आएको छ ।

‘व्यापारिक दृष्टिले ओसाकाभन्दा नारिता राम्रो भए पनि केही प्राविधिक कारण निगमले शुरूमा नारिता नगई ओसाका उडान गरेको हो । अब नारिता उडानका लागि सबै तयारी गरिएको छ, निगमले तोकिएकै समयमा नारितामा उडान गर्छ,’ उहाँले भन्नुभयाे ।

तपाईको प्रतिक्रिया