काठमाडौं – दक्षिण एसियाली खेलकुद प्रतियोगिताको औपचारिक रुपमा उद्घाटन आइतबार हुँदैछ । तर उद्घाटन अघि नै नेपाली महिला भलिबल टिम पदकको खुसी दिने प्रयासमा शनिबार श्रीलंकविरुद्ध सेमिफाइनलमा प्रतिस्पर्धा गर्दैछ ।
त्रिपुरेश्वरस्थित राखेपको कर्भड हलमा साँझ ७ बजे बलियो श्रीलंकाविरुद्ध जित निकाल्न सके रजत पदक निश्चित हुनेछ । हारले भने काश्य पदकको प्रतिक्षामा फर्काउने छ । नेपाल समूह ‘ए’ को उपविजेता तथा श्रीलंका समूह ‘बी’ को विजेताका रुपमा सेमिफाइनल प्रवेश गरेका हुन् ।
बुधबार श्रीलंकाले माल्दिभ्सलाई ३-० को सोझो सेटमा पराजित गर्दै अन्तिम चारमा पुग्न सफल भएको थियो । समूह ‘बी’ मा रहेको पाकिस्तान नआएपछि दुवै टिम वाक ओभर पाउँदै सेमिफाइनलमा प्रवेश गरेका हुन् । शनिबार हुने सेमिफाइनलको पहिलो खेलमा समूह ‘ए’को विजेता भारत र समूह ‘बी’को उपविजेता माल्दिभ्सबीच शनिबार साँझ ५ बजे पहिलो खेलमा प्रतिस्पर्धा हुँदैछ ।
प्रतियोगितामा भारतले दुवै खेल सोझो सेटमा जित्दै समूह विजेताको रुपमा अन्तिम चारमा स्थान बनायो । अर्को समूहमा पाकिस्तान सहभागी नहुँदा श्रीलंकाले माल्दिभ्सलाई हराउँदै समूह विजेता बन्यो । पुरुषतर्फ प्रतियोगिताबाट बाहिरिसकेको नेपाल भलिबलमा महिला टिमबाट खुसी दिन चाहन्छ ।