Deneme Bonusu Veren Siteler
आइतबार, पौष १४, २०८१
Sunday, December 29, 2024

जापानी भाषामा बहानाबाजीलाई इ-वाके (言い訳) भनिन्छ । बहाना बनाएर ठीक्क पार्ने नेपाली सँस्कार पुरानै रोग हो । यो सँस्कारले घरपरिवार, कार्यालय, अड्डा-अदालत, सरकारी कार्यालयदेखि राजनीति क्षेत्र र देशकै बिकास निर्माणसम्म गाँजेको पाईन्छ ।

देशकै राजनीतिको कुरा गर्ने हो भने राणा शासन जहाँनिया भयो भन्यौं, पञ्चायत ल्यायौं, एकतन्त्रीय पञ्चायती ब्यवस्थाले बिकास गरेन भनियो प्रजातन्त्रको ढोल पिटियो, देशमा बहुदलीय प्रजातन्त्र आयो, त्यसपछि बिकासको बाधक राजसंस्थालाई बनाईयो, त्यसपछि जनयुद्ध भनियो । राजसंस्थाको अन्त्य भयो, जनयुद्धको बिसर्जन गरियो शान्ति सम्झौता भयो, गणतन्त्रको स्थापना पनि भयो, त्यसपछि संक्रमणकाल अर्थात राजनैतिक अस्थिरता भनियो । अहिले दुईतिहाईको स्थायी सरकार छ, जनता सरकारले देखिने गरी काम गरेको हेर्न चाहेका छन् । शक्तिशाली सरकारलाई फटाफट आफ्नो काम गरेर देखाउन कुनै रोकतोक देखिदैन तर पनि नयाँ कानूनहरु बनाउन समय लाग्यो, आधार वर्ष तयार गर्‍यौं भन्दै सरकारमा बस्नेहरुद्वारा आलटाल र अलमल्याउने क्रम अझै जारी छ । जुनसुकै कार्यालयमा गए पनि गणतान्त्रिक मुलुकको झझल्को दिने सेवाप्रवाह खासै देखिदैनन् ।

दशैं, तिहार, छठ, ल्होसार लगायतका नेपालमा थुप्रै चाडपर्वहरु छन् । लगातार आउने यस्ता चाडपर्वबाट प्रभावित हुने सरकारी कार्य सम्पादनले जनता निकै मर्कामा पर्ने गरेका छन् । सामाजिक पर्वहरुको उल्लास र सरकारी बिदाका कारण पर्व सुरु हुनुभन्दा धेरै अगाडिदेखि र सकिएको धेरैपछिसम्म राष्ट्रसेवकहरु फुल फेजमा काम गर्दैनन् । पर्व र बिदाको बहानाबाजीले अल्झिने र अल्झाउने मनोवृत्ति कर्मचारीतन्त्रमा ब्याप्त छ । बिदामा घर गएका सरकारी कर्मचारी समयमा कार्यालय नफर्कदा सुस्ताएको सेवा प्रबाहको असर निर्दोष जनताले भोग्नुपर्ने अवस्था अझै नेपालमा छ । राजनीतिदेखि कर्मचारीतन्त्रसम्म, सरकारीदेखि निजी क्षेत्रसम्मको अवस्था उही छ । नारामा ’समृद्ध नेपाल र सुखी नेपाली’ भनिए पनि ब्यवहारमा त्यस्तो फरक राज्यले कहिं कतै प्रदर्शन गर्न सकेको छैन ।

अल्छीपनले बहाना खोज्छ । प्रगतिको बाधक यो बहानबाजी सँस्कृतिले गाँजेको नेपाली समाजले उन्मुक्ति पाउन अझै निकै समय लाग्ने देखिन्छ । हाकिम सा’ब हुनुहुन्न, फाँटवाला बाहिर जानु भा’छ, दशैं लाग्यो, तिहार पछि आउनुस्, कर्मचारी बिदामा छन्, आज भिआईपीको सवारी छ, जामले गर्दा ढिलो भयो, फाइल आईपुगेन – यी हुन् प्रायः सरकारी कार्यालयमा सुनिने बहानबाजीका पपुलर शब्दावलीहरु । चाहे जेसुकै होस् २१ औं शताब्दीका जनतालाई के मतलव ? जसरी भएपनि सेवाग्राहीले समयमा सेवा पाउनुपर्‍यो, पहिले यति गरेर देखाओस् शक्तिशाली भनिएको वर्तमान सरकारले अनि बल्ल समृद्ध नेपालको कुरो गरोस् । सुशासनको प्रत्याभूति पहिलो अनिवार्य आवश्यक्ता हो ।

चिनियाँ राष्ट्रपति सी जिन पिङको आगमनका क्रममा काठमाडौं सहर रातारात नयाँ दुलही झैं सिंगारियो । चाहृयो भने फाष्ट ट्रयाकमा विकास संभव छ भन्ने सरकार आफैले पुष्टि गरेको छ । समयमा काम नहुँदा हरेक वर्ष बजेट खेर जान्छ । विनियोजित रकम समयमै खर्च नहुनुको मुख्य कारण बहानाबाजीमा हुने ‘असारे विकास’ सँस्कृति हो । सरकारमा बस्नेहरु यसलाई रोक्न किन सकिरहेका छैनन्, यसको मुलजरो पत्ता लगाउन जरुरी छ ।

युद्धको चपेटामा परेर क्षतविक्षत भएका जापान, दक्षिण कोरियाजस्ता देश छोटो समयमै तिब्र बिकास गरेर उदाहरण बनेका छन् । यी देशहरुबाट नेपालले शिक्षा लिन सक्नुपर्छ । जनताको करबाट तलव खाने राष्ट्रसेवकहरु जनताप्रति पूर्णरुपमा उत्तरदायी मात्रै हुन सके सुशासन स्वःत कायम हुन सक्छ । कार्यालयहरुमा कर्मचारीहरुद्वारा सेवाग्राहीलाई गरिने ब्यवहार अझै मैत्रीपूर्ण देखिदैंन । रुखो र झर्को-फर्को ब्यवहार कर्मचारीतन्त्रमा अझै ब्याप्त छ । शक्तिशाली सरकारको उपस्थिति त्यहाँबाट देखिन सुरु गरिनुपर्दछ । कुनै पनि बहानाबाजीमा जनताका सेवा प्रबाह अबरुद्ध गर्न अब कसैलाई छूट छैन ।***

तपाईको प्रतिक्रिया