सोमबार, बैशाख १७, २०८१
Monday, April 29, 2024

काठमाडाैं – विश्‍वको प्रतिस्पर्धात्मक पर्यटनमा नेपाल १०२औं स्थानमा परेको छ । वर्ल्ड इकोनोमिक फोरमले सन् २०१९ का लागि तयार पारेको ‘द ट्राभल एन्ड टुरिज्म कम्पिटिटिभनेस रिपोर्ट २०१९’ मा नेपाल गत वर्षको दाँजोमा एक स्थान माथि उक्लिएको हो ।

फोरमले १ सय ४० देश समेटेर तयार पारेको रिपोर्टअनुसार नेपालले दक्षिण एसियाका बंगलादेश र पाकिस्तानलाई पछाडि पारेको छ भने अफ्रिकी महादेशका अधिकांश र दक्षिण अमेरिकाका केही देशलाई उछिनेको छ ।

बंगलादेश १ सय २० र पाकिस्तान १ सय २१औं स्थानमा छन् । नेपालले मोल्डोभा, ताजकिस्तान, बोस्‍निया एन्ड हर्जगोभिना, सेनेगल, रुवान्डा, एलसाल्भाडोर, पाराग्वे, किर्गिस्तान, गाम्बिया, युगान्डा, जाम्बिया, घाना, अल्जेरिया, भेनेजुएला, इथियोपियालगायत देशलाई पछाडि पारेको हो ।

रिपोर्टको पहिलोदेखि १०औं स्थानसम्म क्रमशः स्पेन, फ्रान्स, जर्मनी, जापान, अमेरिका, बेलायत, अस्ट्रेलिया, इटाली, क्यानडा र स्वीजरल्यान्ड परेका छन् ।

फोरमले व्यापार वातावरण, सुरक्षा, स्वास्थ्य तथा सरसफाइ, मानव संशाधन र श्रम बजार, सूचना प्रविधि तथा सञ्‍चार, पर्यटनलाई प्राथमिकता, अन्तर्राष्ट्रिय खुलापन, प्रतिस्पर्धी मूल्य, वातावरणीय दिगोपना, हवाई यातायात पूर्वाधार, स्थल तथा जल पूर्वाधार र पर्यटक सेवा पूर्वाधार, प्राकृतिक स्रोत तथा सांस्कृतिक स्रोत र व्यापार पर्यटन जस्ता प्रमुख बुँदाको सूची समेटेर प्रतिवेदन तयार पारेको हो ।

तपाईको प्रतिक्रिया