आइतबार, बैशाख १६, २०८१
Sunday, April 28, 2024

विश्वकै शक्तिशाली र नजिकको छिमेकी राष्ट्र चीनका राष्ट्रपति सी जिङपिङ नेपालको दुईदिने राजकीय भ्रमण सकेर स्वदेश फर्किएका छन् । नेपाल र चीन सन् १९५५ देखि कूटनीतिक सम्बन्धमा बाँधिएका एक अर्काका असल मित्रराष्ट्र हुन् । चीनले नेपाललाई आर्थिक, सामाजिक, व्यपारिकलगायतका क्षेत्रमा उल्लेखनीय सहयोग गर्दै आईरहेको छ।
विश्व विख्यात पत्रिका फोर्ब्सका अनुसार विश्वकै पहिलो शक्तिशाली व्यक्ति मानिएका सीको लोकप्रियता चुलिईरहेको बेला उनको नेपाल भ्रमण हुनुलाई सुखद संयोग मान्न सकिन्छ । भारत लगत्तै उनको भ्रमण नेपालमा हुनु र भारतसरहकै समय र महत्व नेपाललाई दिईनुलाई अर्थपूर्णरुपमा हेरिएको छ । अत्यन्तै शालिन, सादगी र उच्च व्यक्तित्वका धनी राष्ट्रपति सीको भ्रमणलाई नेपाली जनताले मुक्तकण्ठले प्रशंसा गरेको पाईयो । सीका जीवन संघर्ष र उनले चीनमा गरेका सामाजिक रुपान्तरणका आयामहरु जो कोहीका लागि अणुकरणीय छन् ।
महाशक्ति राष्ट्रका सर्बोच्च नेताबाट भएको यस भ्रमणले गर्दा यतिबेला नेपाल अन्तर्राष्ट्रिय समाचारको केन्द्रिय बिषय बन्न पाएको छ, भ्रमण वर्षको संघारमा उभिएको नेपालका लागि यो आफैमा अत्यन्त ठूलो उपलब्धि हो ।
नेपालको विकास निर्माणमा चीनको योगदान अतुलनीय छ । चीनकै सहयोगमा अनेकौं कलकारखाना सञ्चालनमा थिए। काठमाडौंको चक्रपथसँगै बानेश्वरको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, भूकम्पको समयमा उद्वार, राहत तथा पुनःस्थापना, अरनिको राजमार्ग, मुग्लिङ-नारायणगढ सडक, पृथ्वी राजमार्ग लगायतका पूर्वाधार निर्माणमा प्राप्त चीनको सहयोगप्रति नेपाल अनुग्रहित छ ।
नेपालको हालको जनसंख्या बराबर चीनमा प्रतिवर्ष जनसंख्या वृद्धि हुने भएकाले नेपालका लागि चीन ठूलो ब्यापारिक बजार पनि हो । त्यहाँको आवश्यकताअनुसार उत्पादन गरी त्यहाँ पठाउन सके नेपालले ठूलो परिमाणमा विदेशी मुद्रा हासिल गर्न सक्दछ । अर्कोतर्फ विश्वकै २० प्रतिशत हिस्सा ओगट्ने अर्थात डेढ अर्व जनसंख्या भएको नजिककै छिमेकी आर्थिक महाशक्ति राष्ट्र चीनका ६५ प्रतिशत जनता बौद्ध धर्मावलम्वी हुनु र नेपालमा गौतम बुद्धको जन्मस्थल लुम्बिनी हुनुको तादाम्यतालाई पर्यटन र भ्रमण वर्षसंग जोड्न सके बढी भन्दा बढी चिनियाँ पर्यटक नेपाल भित्रिन सक्नेतर्फ राष्ट्रपति सीले संकेत गरेका छन् । यसलाई नेपाल सरकारले ढिला नगरीकन गम्भीरतापूर्वक लिन आवश्यक देखिन्छ ।
राष्ट्रपति सीको करीव २१ घण्टा नेपाल बसाईका क्रममा भएका विभिन्न भेटवार्ता र उनका अभिब्यक्ति हेर्दा समृद्धिको यात्रामा रहेको नेपालका लागि थप आशा जगाईदिएका छन् । सडक सञ्जाल अर्थात कनेक्टीभिटीमार्फत विश्वलाई जोड्ने (बिआरआइ) अवधारणा अनुरुप नेपाललाई दिएको महत्वले राष्ट्रपति सीको भ्रमणबाट नेपाली जनतामा उत्साहको सञ्चार गरेको छ । समाजवाद उन्मुख लोकतन्त्रलाई आदर्श मान्दै आएको राजनीतिमा अभ्यासरत नेपालले सोही अभ्यासबाट हासिल गरेको उचाई र सफलतामा अगाडि बढेको चीनबाट धेरै सिक्न आवश्यक छ । साथै योजना र कार्यक्रम मात्रै तय गरेर भन्दा कार्यान्वयनमा जोड दिनुपर्नेमा राष्ट्रपति सीले घुमाउरो शैलीमा संकेत गरेका छन् ।
राष्ट्रपति सीको बहुप्रतिक्षित नेपाल भ्रमणबाट दुई देशबीच रहीआएको सम्बन्ध नयाँ युगमा प्रवेश गरेको छ । दर्जनभन्दा बढि समझदारीपत्रमा हस्ताक्षर भएका छन् । भ्रमणकाक्रममा नेपाल पक्षबाट त्यस्तो कुनै ठूलो कमजोरी र खोट नहुनु अर्को कूटनीतिक सफलता मान्न सकिन्छ । मित्रराष्ट्र चीनबाट राष्ट्रपति तहमा २३ वर्षपछि भएको सीको नेपाल भ्रमण समग्रमा ऐतिहासिकरुपले सफल भएको छ । भ्रमणबाट हासिल भएका उपलब्धिहरुलाई दूवै देशले आपसी हितमा उपयोग गर्न थप मिहिनेत भने गर्न आवश्यक छ । राष्ट्रपति सीको भ्रमणले नेपालको बहुआयामिक संभावनाहरुको उजागर गर्न र त्यसलाई संभव बनाउन दुई देश मिलेर काम गर्नुपर्ने सन्देश दिएको छ । जसबाट समृद्धिको यात्रालाई सहज र संभव बनाउन सकिन्छ भन्ने मनोवललाई बढाएको छ। त्यसैले अबको समय अथाह संभावनाहरुको खोजी गरी त्यसलाई संभव बनाउनका लागि उपयोग गरिनुपर्दछ। समग्रमा नेपालको समृद्धि र तीब्र आर्थिक बिकासमा छिमेकी राष्ट्र चीन बलियो सारथी बन्न सक्ने सन्देश दिएर राष्ट्रपति सी नेपाली जनताको मन जित्न सफल भएका छन् ।***

तपाईको प्रतिक्रिया