आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

टोकियो – गैर आवासीय नेपाली संघ, अन्तरराष्ट्रिय समन्वय परिषदको नवौं विश्व सम्मेलन तथा महाधिवेशनमा भएको निर्वाचनबाट १२१७ मत प्राप्त गरी कुमार पन्त अध्यक्षमा विजयी भएका छन् । पन्तले प्रतिस्पर्धी कुल आचार्यलाई १४७ मतले पछि पार्दै नेतृत्वमा बाजी मारेका हुन् । आचार्यले १०७० मत प्राप्त गरेका छन् ।

यसैगरी उपाध्यक्षमा क्रमशः डा. बद्रि केसी (११६३), अर्जुनकुमार श्रेष्ठ (१०२६), मन केसी (९६१) र सोनाम लामा (८९८) विजयी भएका छन् भने महिला उपाध्यक्षमा रबिना थापाले १२३२ मत लिई विजयी भएकीछिन् । उनकी प्रतिस्पर्धी सपिला राजभण्डारीले ८६३ मत प्राप्त गरेकी थिईन् ।

निर्वाचन समितिले जनाएअनुसार महासचिवमा ११३९ मतका साथ डा. हेमराज शर्मा विजयी भएका छन् भने शर्माका प्रतिस्पर्धी जानकी गुरुङले १०५३ मत हासिल गरेकीछिन् ।

यसैगरी सचिवद्वयमा क्रमशः गौरीराज जोशी र आरके शर्मा विजयी भएका छन् । जोशीले ९१६ र शर्माले ८६८ मत प्राप्त गरी सचिव पदमा विजयी भएका हुन् ।

कोषाध्यक्षमा महेशकुमार श्रेष्ठले १६५३ मत प्राप्त गरी विजयी भएका छन् भने उनका प्रतिस्पर्धी सुदन थापाले ५४७ मत हासिल गरेका छन् । यसैगरी सहकोषाध्यक्षमा लोकप्रसाद दाहालले ११८४ मत प्राप्त गरी वाजी मारेका छन् भने प्रतिस्पर्धी गोविन्दप्रसाद गौतमले ८५२ मत प्राप्त गरेका छन् ।
महिला संयोजकमा भोमादेवी लिम्बुले ७०२ मत हासिल गरी विजयी भएकी छिन् भने उनकी निकटम प्रतिद्वन्द्वी संगिता मरहठ्ठाले ६५२ मत प्राप्त गरेकी थिईन् ।
युवा संयोजकमा हिमाल गुरुङले ७६८ मत प्राप्त गरी विजयी भए भने निकटमा प्रतिस्पर्धी सुदिप कार्कीले ६५५ मत प्राप्त गरे ।
एशिया क्षेत्रीय संयोजकमा रोविन्दप्रसाद श्रेष्ठ (रोविन्द) ले २१७ मतसहित विजयी बनेका छन् भने उनका प्रतिस्पर्धी अजिव गुरुङ (ओम) ले १९५ मत प्राप्त गरे ।
उपसंयोजकद्वयमा खगेन्द्र न्यौपाने र पारसमणि पोखरेल निर्वाचित भएका छन् । न्यौपानेले १९८ मत ल्याउँदा पोखरेलले १९५ मत प्राप्त गरी विजयी भएका हुन् । सोहीपदमा निर्वाचन भिडेका बिनोद कुँवर र टंक गैरेले क्रमशः १५२ र १३७ मत पाएका थिए ।

कुल २ हजार ५ सय ७० महाधिवेशन प्रतिनिधी अर्थात मतदाता रहेकोमा २ हजार ३ सय ४४ मत अर्थात ९१ दशमलव २० प्रतिशत मत खसेको निर्वाचन समितिले जनाएको छ । एशिया प्यासिफिकबाट ४ सय ६२, मध्यपूर्वबाट ४ सय ७०, अफ्रिकाबाट १६, ओसिनियाबाट २ सय १५, अमेरिकाबाट २ सय ६१ र युरोपबाट ९ सय २० मत खसेको थियो ।
यहि अक्टोबर १५ देखि १८ सम्म राजधानीको होटल हायातमा एनआरएनएको नवौं महाधिवेशन भएको हो । महाधिवेशनको राष्ट्रपति विद्यादेवी भण्डारीले समुदघाटन गरेकीथिईन् भने समापन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यक्रम छ ।
महाधिवेशनको दोस्रो दिन कम्प्युटर सिष्टमबाट हुने भनिएको मतदान अन्तिम समयमा प्राविधिक समस्या आएको भन्दै घण्टौ लाइन बसेका मतदाताहरुलाई भोलिपल्टका लागि स्थगन गरी फर्काइएको थियो ।
तेस्रो दिन बिहान ११ बजेदेखि म्यानुयल मतपत्र सिष्टमबाट मतदान सुचारु गरिएको थियो । जसका कारण महाधिवेशन थप एक दिन लम्बिएको थियो । निर्वाचन समयमा नभएको, पटक पटक निर्वाचनको समय सारिएको र महाधिवेनमा ब्यवस्थापन पक्ष सन्तोषजनक नभएको भन्दै महाधिवेशन प्रतिनिधीहरुले पटक पटक नाराजुलुस गरेका थिए ।

को हुन् अध्यक्ष पन्त ?
पन्त गोरखा फुजेलका हुन् । उनी पढ्न सन् १९९७ मा ग्रीस पुगे । तर लामो समय त्यहाँ बसेनन्, केही महिनापछि उनी जर्मनी पुगे । उनले जर्मनीबाटै राजनीतिशास्त्रमा स्नातक गरेका छन् ।र्
जर्मन पुगेको केही समयमा उनले होटलमा काम सुरू गरे । कोरियनले सञ्चालन गरेको होटलमा उनी चार वर्षसम्म म्यानेजर भए । त्यसपछि आफैले होटल किनेर सञ्चालन गर्न थाले । ३६ कोठाको एउटा होटलबाट व्यवसाय सुरू गरेका पन्तको अहिले जर्मनी, बेल्जियम, स्वीट्जरल्याण्डमा गरी २९ वटा होटल छन् । व्यवसायसँगै पन्त एनआरएनएमा पनि निरन्तर लागिरहे । सन् २००४ सालमा एनआरएनए जर्मनी राष्ट्रिय परिषद् गठन गरी क्षेत्रीय सदस्य बने । केही महिनापछि उनी संयोजक पनि भए ।
सन् २००९ मा अन्तर्राष्ट्रिय समन्वय परिषद्, २०११ मा युरोप क्षेत्रको संयोजक निर्वाचित उनी २०१३ देखि १५ सम्म अन्तर्राष्ट्रिय समन्वय परिषद्को महासचिव थिए । त्यसबेला शेष घले पहिलोपटक अध्यक्ष भएका थिए । सन् २०१५ देखि दुई कार्यकाल पन्त उपाध्यक्ष नै रहेका थिए ।***

तपाईको प्रतिक्रिया