आइतबार, बैशाख १६, २०८१
Sunday, April 28, 2024

नेपाल सरकारले आउँदो वर्ष २०२० लाई नेपाल भ्रमण वर्ष घोषित गरी २० लाख पर्यटक भित्र्याउने महत्वाकाँक्षी लक्ष लिएको छ । पछिल्ला वर्षहरुको आँकडा हर्दा करीव १० लाखको हाराहारीमा हाल नेपालमा पर्यटक भित्रिएको देखिन्छ । भ्रमण वर्षलाई सफल पार्न त्यति नै संख्यामा थप पर्यटक भित्र्याउने चुनौती अहिले नेपालसामु छ । भ्रमण वर्षको पूर्व सन्ध्यामा हुनुपर्ने जुन तिब्र तैयारी र रणनीतिक कार्ययोजनाको पाटो हो त्यो भने अझै ठोसरुपमा देखिन सकेको छैन ।

नेपालका लागि जापान आफैमा एक अभिन्न मित्र राष्ट्र हो । नेपाल र जापानबीच रहीआएको आधा शताब्दीभन्दा लामो कूटनैतिक सम्बन्ध र नेपालप्रति जापानीहरुमा रहेको सदाशयताका कारण सरकारी तथा निजी स्तरबाट नेपालका विभिन्न क्षेत्रमा सहयोग भईरहेको छ । तथापि विदेश घुम्न अत्यधिक रुचाउने जापानीहरुको रोजाईमा अझै नेपाल पर्न सकेको छैन । भ्रमण वर्षलाई लक्षित गरी जापानमा नेपालको पर्यटन प्रवर्धन सम्बन्धि कार्यक्रमहरु अपेक्षित हुन सकिरहेका छैनन् । जापानमा नेपाललाई चिनाई जापानीहरुलाई नेपाल घुम्न प्रेरित गर्ने खालका प्रभावकारी कार्यक्रम वर्षभरिनै भईरहनुपर्ने हो । अन्यत्र नपाईने तर नेपालमा मात्र पाईने र देख्न सकिने हाम्रा प्राकृतिक तथा साँस्कृतिक सम्पदाको प्रचुर मात्रामा प्रचारप्रसार गरी पर्यटकका लागि विशेष सहुलियतका प्याकेज, आवास, सुरक्षाको ग्यारेन्टी, पर्यटकीय गन्तब्यको पहिचान जस्ता बिषयमा जापानीहरुलाई यथेष्ट जानकारी दिन आवश्यक छ । हालै मात्र जापानस्थित नेपाली राजदूतावास र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा भ्रमण वर्ष लक्षित नेपालको पर्यटन प्रवर्धन कार्यक्रम टोकियोमा सम्पन्न भएको थियो । विशेषतः ट्राभल एजेन्सीहरुलाई लक्षित गरी राखिएको उक्त कार्यक्रममा नेपालको चिनारी दिने विषयलाई जोड दिइए पनि भ्रमण वर्षका कार्यक्रम र आकर्षणहरुका बारेमा भने त्यति ध्यान दिईएको पाईएन ।

आवश्यक गृहकार्य र पूर्वतैयारी बिना भ्रमण वर्ष भनेकै भरमा अहिलेको भन्दा दोबर विदेशी पाहुनाहरु नेपाल जान्छन् भन्न सकिदैंन । त्यसका लागि सरकारी तथा निजी क्षेत्रबाट आक्रामक प्रचारप्रसार र सम्बन्धित मुलुकका मिडियाहरुमा नेपालको बारेमा जानकारीमुलक सामग्रीहरु संप्रेषण हुनु जरुरी छ । यस अभियानमा विदेशमा रहेका नेपालीहरुको पनि अत्यन्त महत्वपूर्ण भूमिका हुने भएकोले उनीहरुलाई राज्यले अपिल गर्नुपर्छ र नागरिकले पनि स्वत:स्फुर्तरुपमा आफ्नो ठाउँबाट सहयोग गर्नुपर्छ ।

करीव १ लाख नेपालीहरु रहेको जापानको सन्दर्भमा १ जना नेपाली बराबर १ जना जापानी साथीलाई नेपाल भ्रमणमा पठाउन सक्ने हो भने झण्डै १ लाख जापानी पर्यटक नेपाल भित्र्याउन सकिन्छ । यस्ता बिषयमा राज्यको तालुकदार निकाय बेलैमा सजग भई आफ्ना नागरिकलाई परिचालन गर्न सक्नुपर्दछ । उसो त विदेशमा बस्ने नेपालीहरुको प्रतिनिधित्व गर्ने गैरआवासीय नेपाली संघ पनि छ तर उसले अहिलेसम्म भ्रमण वर्ष संग सम्बन्धित कुनै आधिकारिक कार्ययोजना बाहिर ल्याउन सकेको देखिदैन । विदेशमा बसेका नेपालीले भ्रमण वर्षलाई कसरी सफल पार्न सकिन्छ र उनीहरुको भूमिका के हुन सक्छ भन्ने बिषयमा गतिलो गरी बहससम्म हुन सकेका छैनन् । कतिपय अवस्थामा जापानीहरुकै सहयोग लिएर जापानमा नेपालको पर्यटन प्रबर्धनमा टेवा पुग्ने खालका कार्यक्रमहरु गर्न सकिन्छ । जापानीहरुको नेपालप्रतिको धारणा, उनीहरुले सुनेको नेपाल, नेपाल घुम्न जाने बारेमा उनीहरुको योजना, रोजाईमा पर्ने उनीहरुको पर्यटकीय गन्तब्य जस्ता बिषयमा जापानीहरुसंग अन्तरक्रिया गर्न सकिन्छ । त्यसबाट निस्कने निचोडबाट नेपालमा सुधार्नुपर्ने क्षेत्रमा तत्काल सुधारका लागि नेपाल सरकारलाई सुझाव दिन सकिन्छ । यस्ता कार्यक्रमहरुका लागि विशेष गरी राजदूतावासले अग्रसरता देखाउनु पर्दछ ।

नेपालको आर्थिक मेरुदण्डकारुपमा अथाह संभावना बोकेको पर्यटन क्षेत्रले आशातित उपलब्धि हासिल गर्न नसकेको सम्बन्धित क्षेत्रका विज्ञहरुले भन्दै आईरहेका छन् । प्रकृतिले सित्तैमा दिएको, कहिलै नमासिने र नष्ट भएर नजाने हाम्रा प्राकृतिक सम्पदा, शताब्दियौं पुराना साँस्कृतिक सम्पदा तथा अन्यत्र बिरलै पाईने मुस्कानसहित पाहुनालाई सत्कार गर्ने नेपाली सँस्कार मात्रैले पनि विदेशीहरु लोभिने गरेको हामीसंग अनुभव छ । पर्यटन क्षेत्रलाई व्यवस्थित गरी प्रशस्त मात्रामा विदेशी पर्यटक भित्र्याउन सकेमा मात्र भ्रमण वर्ष सार्थक हुनुका साथै समृद्ध नेपाल निर्माणमा कोसेढुंगा साबित हुन सक्नेछ ।***

तपाईको प्रतिक्रिया