Deneme Bonusu Veren Siteler
आइतबार, पौष १४, २०८१
Sunday, December 29, 2024

केही साता अघि जापानको पुरानो अनि लोकप्रिय नेपाली मिडिया समुद्रपारि डट कममा मैले दुईवटा समाचार लेखेको थिए । एउटा थियो जापानमा एकै साता दुई नेपालीको निधन । उक्त समाचार हालसम्म ५५ हजार भन्दा बढी पटक हेरिएको छ । र अर्को समाचार थियो, एनआरएन जापानको अध्यक्षमा चारजना भिड्दै । जुन करीव ११ हजार पटक हेरिएको थियो । यसवाट के प्रष्ट हुन्छ भने प्रवासमा कोही नेपालीप्रति अर्को नेपालीको मर्दा-पर्दा चासो र चिन्ता अधिक देखिन्छ ।

अझै कुनै नेपाली बिरामी भई उपचार गराउन नसक्ने अवस्थामा अर्को नेपालीले उसको उपचारका निम्ति आर्थिक संकलनको अभियाननै चलाईरहेका हुन्छन् । तर प्रवासमा नेपालीको साझा संस्था भनिने एनआरएनएको गतिविधीको नेपालीले नै खासै चासो दिएको देखिदैन । आखिर किन ? आफुलाई एनआरएनएको अभियान्ता भन्नेहरुले समयमै सोच्न जरुरी छ ।

एनआरएनएमा लागेका अनुहारहरु गुण्डागर्दी गर्ने, कोही मानव तस्करमा लागेका, विद्यार्थी भिषामा विद्यार्थी ल्याएर विचल्लीमा पारेका, आफ्ना व्यवसाय तथा रेष्टुरेन्टमा कुक तथा कामदारहरुलाई समयमा तलव र विदा नदिने यस्तै-यस्तै यदाकदा देखिदा सँस्थालाई नै हेर्ने दृष्टिकोण जनमानसमा राम्रो प्रभाव अवश्य पर्दैन । अनि कसरी बढ्छ एनआरएनएको सदस्यता ? एक लाखको हाराहारीको संख्यामा नेपालीहरू भएको जापानमा जम्मा एनआरएनएको सदस्यता संख्या २५ सय मात्र । एनआरएन जापान कति लोकप्रिय वा अलोकप्रिय छ भनेर हेर्नका लागि यो भन्दा गतिलो उदाहरण अरु के हुन सक्छ ? अनि एनआरएनए कसरी हुन्छ प्रवासमा सबै नेपालीको साझा संस्था ? अनि एक लाख नेपाली भएको ठाउँमा ५ सयको हाराहारीमा भोट ल्याएर जित्यौ भनि हामी उफ्रन्छौं । यस्तो क्रियाकलापले अव एनआरएनए केवल केही पैसा कमाउने अनि इजेतका लागि खादा लगाएर फोटो खिच्नेहरुको झुण्ड हुन बेर छैन ।

एनआरएनएले ठूला-ठूला कुरा गर्ने तर काम भने सिन्को नभाँच्नेको जमात भनेर परिभाषित गर्ने दिन पनि नआउला भन्न सकिन्न । कामै गरिहाले पनि घाटा मात्रै देखाउने सँस्कार बसिसकेको छ, यसलाई चिर्न जरुरी छ ।

र अर्को कुरा जो कोही जापान छ भन्दैमा सबैको आर्थिक हैसियत एउटै हुन्छ भन्ने हुँदैन । कसैलाई मुश्किलले मासिक १ लाख कमाउन पनि गाह्रो हुन्छ । कसैले दशौं लाख पनि कमाउन सक्लान् । त्यसैले सबैलाई हेरेर नियम बनाउनुपर्ने हुन्छ । तर एनआरएनए जापानमा त्यसको कुनै मतलव छैन । किन कि यसपालीको एनआरएनए जापानको उम्मेदवारी शुल्क यति महंगो थियो कि सुन्दा नै उम्मेदवारी दर्ता गर्ने आँट जो कोहीले गर्न सक्दैनथ्यो । यि र यस्तै विकृतिहरुले गर्दा एनआरएनए जापान सबैको साझा र अभिभावकत्व प्रदान गर्ने संस्था बन्न सकेको छैन । कमसेकम जापानमा रहेका ५० प्रतिशत नेपालीले त यसको सदस्यता बनेको हुनुपर्ने हो । यि र यस्ता विकृतिहरुलाई हटाउँदै अगाडि बढे अवश्य भन्न सकिने छ, हाम्रो अनि राम्रो एनआरएन ! ***

(लेखक न्यौपाने फुजीनेपाल डट कमका सम्पादक  हुन्) 

तपाईको प्रतिक्रिया