आधुनिकीकरण तर्फ फड्को मार्दै गरेको नेपाली समाजमा चाडपर्व मनाउने हाम्रा शैली पनि परिवर्तन हुँदै गएका छन् । गाउँघर, सहरबजार र देशविदेशमा समेत नेपाली चाडपर्वहरु मौलिक परम्पराअनुसारभन्दा पृथक ढंगले मनाईन थालिएको छ । वर्षभरिमा आउने विभिन्न चाडपर्व मध्य देशविदेशमा समेत अत्यन्तै महत्व र हर्षोल्लासका साथ मनाइने एउटा पर्व हो हरितालिका तीज । घरआँगनी हुँदै गाउँभरिका महिलाहरु चौतारामा भेला भएर तीजेभाका हालेर मनाइने पर्वले अब महोत्सवको रुप धारण गर्न थालेका छन् । पार्टी प्यालेस, शानदार होटेलका वातानुकुलित सभाहल तथा विशाल प्रेक्ष्यालयमा तीज कार्यक्रमहरु हुन थालेका छन् । राष्ट्रिय स्तरका महंगा कलाकारहरुलाई आमन्त्रण गरी रेडिमेड गाना-बजानामा तीज पर्वलाई खुम्च्याँइदैं छ । कार्यक्रमस्थल साजसज्जाले शानदार भएपनि बाजागाजाका नाममा अचेल मादलसम्म पनि बज्दैनन् । गाउँका हजुरआमाहरुले पिंढीमा बसेर आफै मादल बजाएर पुस्तान्तरण हुँदै आएका तीजेभाकाहरु लोप हुँदै जान थालेका छन् । पर्वहरु गाउँबाट सहरबजार हुँदै व्यवसायिक आवरणमा कमर्शियल बन्दै गएका छन् त्यसकारण पनि चाडपर्वहरु खर्चिलो र भडि्कलो बन्दै गईरहेका छन् ।
तीजको अवसरमा देशविदेशमा समेत नेपालका सबैभन्दा चलेका र महंगा कलाकार बोलाएर तीज विशेष साँगीतिक कार्यक्रम गर्ने प्रचलन अत्यधिक बढ्दो छ । आफ्नो लागि आफैले रमाइलो गर्ने, आफुमा जे जस्तो कला, प्रतिभा र रुची छ त्यहीअनुसारले मौलिकतामा रमाउने सँस्कार र सँस्कृति ओझेल पर्दैछन् ।
गरगहना, भेषभूषामा देखासिकी अत्यधिक बढेको छ । तीजमा खाइने दरको नाममा मादकजन्य पेय पदार्थहरुले स्थान लिन थालेका छन् । यसरी नै हुर्कदो तीज पर्व र मनाइने शैलीबाट हाम्रा भावी पुस्ताले के सिको गर्ने हुन् त्यतातिर ध्यान दिने फुर्सद कसैलाई छैन । साँगीतिक बजार पनि प्रभावित बनाउने हैसियत राख्ने तीज पर्वमा गीत, संगीत उद्योगमा लागेका कलाकर्मीहरु २, ४ महिना अगावै नयाँ नयाँ तीजका गीत बजारमा ल्याउने अस्वस्थ्य प्रतिस्पर्धा चल्दै आएको छ । मौलिकताको मुलजरोमा टेकेर खुराक कसरी गुणस्तरिय र सन्देशमुलक पस्कने भन्दा बजार कसरी पिट्न सकिन्छ र चाँडै चर्चा बटुल्न सकिन्छ भन्ने एकप्रकारको मनोविज्ञानले नयाँ पुस्ताका सर्जकहरुलाई गाँजेको देखिन्छ । दर्शक, स्रोताहरु पनि बुझेर-नबुझेर उनीहरुलाई नै पछ्याईरहेको पाईन्छ ।
हरेक वर्ष जापानमा करीव दुई दर्जनको हाराहारीमा तीज विशेष कार्यक्रमहरु औपचारिकरुपमै आयोजना हुने गर्दछन् । ती कार्यक्रमहरुका लागि करीव त्यतिनै संख्यामा कोही नयाँ त कोही पुरानै अनुहारका कलाकारहरु नेपालबाट आमन्त्रण गरिन्छन् । आयोजकहरु एक दिनको कार्यक्रमका लागि महिनौदेखि समय, श्रम र लगानी खर्चिन्छन् । जापानको व्यस्त दैनिकी, बिदाको अनिश्चितता र उस्तै प्रकृतिका धेरै कार्यक्रम यत्रतत्र हुने हुँदा सबै कार्यक्रमहरु अपेक्षित सफल हुँदैनन् । कार्यक्रम सफल भए पनि नभए पनि कलाकारका लागि पूर्व सर्त अनुसार तोकिएको पारिश्रमिक बुझाउनै पर्ने हुन्छ । कलाकारहरुको हवाइटिकट, आवास प्रवन्ध, महंगा हल, ध्वनी व्यवस्थापन, अन्य तैयारी खर्च, तुलनात्मकरुपमा तीजमा हुने सस्तो टिकट दर जस्ता कारणले आयोजकका लागि आर्थिकरुपले अपेक्षित उपलब्धी हुने संभावना न्युन भए पनि तीज कार्यक्रम आयोजना गर्नैपर्ने एकप्रकारको होडबाजी जापानमा बढ्दो छ ।
कुनै जमाना थियो जापानमा नेपाली समुदायबीच तीज पर्वलाई धर्म र सम्प्रदायविशेष संग जोडेर हेरिन्थ्यो । समयले कोल्टे फेरेको छ, तीज एउटा सामाजिक पर्वमा रुपान्तरित भईसकेको छ । आपसी सद्भाव, पुनर्मिलन र मित्रताको नविकरण, दाजुभाइ तथा दिदीबहिनीहरुबीचको भाइचारा र सद्भावको पर्याय बनेर नेपाली एकताको साझा प्रतिविम्वकोरुपमा तीज हुर्कदो छ । तथापि यसभित्र मौलाउन थालेका विसंगति र विकृतिका अव-यवहरुलाई हाम्रो पुस्ताले बेलैमा चिन्न र चिर्न सकेन भने भावी पुस्ताले हामीलाई धिक्कार्ने मात्र छैन, माइती र चेलीबीचको भावनात्मक सम्बन्धलाई सँधै पुनर्ताजगी गर्दै आएको धरोहर पर्व तीज डिस्को र डान्स बारहरुमा खोज्नुपर्ने दिन नआउला भन्न सकिन्न ।***