Deneme Bonusu Veren Siteler
आइतबार, मंसिर ०९, २०८१
Sunday, November 24, 2024

अहिले सामाजिक सञ्जालमा केही रबि लामिछानेका समर्थक र विरोधीहरूबीच कित्ताकाटको स्थिति बनेको छ । हामी सबैले बुझनुपर्ने कुरा के हो भने देशको पद्धति नसुध्रिएमा एक, दुईजना पत्रकारले घोक्रो सुनिने गरी कुनै टेलिभिजनको कार्यक्रममा कराउनुले आंशिक असर पारे पनि समग्रमा यो नै अन्तिम समस्याको समाधान हैन । तर कसै कसैले सबै समस्याको हल भनेको रबि हो जसरी प्रचार गरिरहेका छन् त्यो कदापि सत्य होइन । यसमा हामी सबै स्पष्ट हुन जरुरी छ । तसर्थ सबैभन्दा पहिले रबि लामिछानेजीलाई किन धेरै जनताले रुचाए ? सर्बप्रथम यो प्रश्नको उत्तरबाट सुरु गर्नुपर्छ जस्तो लाग्छ ।

हो सबै नेपाली जनताले बुझेको कुरो के हो भने हाम्रो देशमा राजनैतिक आवरणमा थुप्रै क्रान्ति भए अन्ततः सबै आन्दोलन पश्चातको व्यवस्था संसदीय प्रणालीको वरिपरि घुमिरहेको कुरा सत्य हो । देशको शासन प्रणालीमा कुनै नौलो सुधार भएन किनभने हिजो देशमा राजसंस्था हुँदा पनि देशको कार्यकारी संसदबाट नै चुनिने व्यवस्था थियो र आज पनि त्यही व्यवस्था छ । हिजो व्यवस्थापिकामा पनि ठेकेदार, दलाल, भ्रष्टाचार, कमिशनखोर र देशद्रोही संसदीय चुनावमा पैसा, मासु, रक्सीबाट किनेका मत र बुथहरू कब्जा गर्ने प्रतिनिधि चुन्ने व्यवस्था थियो अहिले पनि यथावत छ । न्यायपालिकामा पनि कार्यकर्ता भर्तीकेन्द्र जस्ताको तस्तै छ । देशमा हुँदा खाने र हुने खानेहरूको अन्तराल पनि झन ठूलो खाडल बन्दै गइरहेको छ । जता पनि भ्रष्टाचार, कमिसन, दलाली झन् धेरै मौलाएको छ । स्थानीय कथित जनप्रतिनिधिहरू नवजातीय धनाढ्यवर्गमा परिणत हुँदै गरेको तथ्य ठेक्का, डोजर काण्ड र आफन्तहरूको भर्तिकेन्द्रले देखाउँदै आइरहेको छ । देशमा कानुनी राज्यको उपहास हुँदै गइरहेको छ । कुनै पनि सरकारी काम पुरा गर्नलाई घुस नदिई काम बन्ने निश्चित नै छैन । नागरिकको जीवनमा प्रत्यक्ष असर पर्ने कार्य खाद्य पदार्थ, खानेपानी, स्वास्थ्य, शिक्षा, सडक, यातायात, इन्धन लगायत कुनै पनि कुराको राम्रो व्यवस्था छैन । कुनै पनि खानेकुरो स्वास्थ्यका लागि उचित छ भन्ने कुराको नागरिकले विश्वास गर्ने अवस्था छैन । कुनै पनि चेली नेपालको कुनै ठाउँमा राति त के दिउसो पनि निर्धक्क एक्लै यात्रा गर्ने अवस्था छैन । हजारौं चेलीहरू भारत लगायत खाडी मुलुकमा कहिलेसम्म बेचिने र यौनजन्य पेशामा संलग्न हुने ठेगान छैन । नेपालमा कति जनता कुन कुन रोगले ग्रसित छन् र उनीहरू कहिले प्राण त्याग गर्नुपर्ने हो त्यो पनि ठेगान छैन । हजारौं युवाहरू रोजगारका लागि विदेशिन बाध्य छन् तर उनीहरू स्वदेश सकुशल फर्किने या लाश फर्किने कि नफर्किने टुंगो छैन । स्वदेशमा पढिरहेका युवा विद्यार्थीले के का लागि अध्ययन गर्ने उसलाई बिश्वाश छैन । व्यापारीलाई मिसावट र कालो बजारी नगरी बाँच्ने आधारमा बिश्वाश छैन ।

सरकारी कर्मचारीलाई इमानदारीकासाथ काम गरेर मात्र मेरो जीवन चल्छ भन्ने सरकारप्रति पटक्कै विश्वास छैन । वकिललाई सत्य तथ्य ढंगले आफ्नो पेशा मात्रै गरेर बाँच्न सकिन्छ भन्ने अवस्था छैन । डाक्टरले बिरामी जाँचेर मात्र मेरो डाक्टरी पढेको पैसा असुल गर्न सकिन्छ भन्ने लागेकै छैन । विश्वविद्यालयका प्रोफेसरलाई राम्रोसँग अनुसन्धान, खोज गरेर मेरो जीविकोपार्जन र प्रमोशन हुन्छ भन्ने कुनै ग्यारेन्टी छैन । गैर सरकारी र निम्न आय भएका मजदुरलाई अहिलेको तबलबाट हातमुख जोर्न पनि कठिन छ राम्रो शिक्षा र स्वस्थको के कुरा गरौं । उमेर पुगेका बुढापाकालाई सरकारले व्यवस्था गर्छ भन्ने कुनै आशा र विश्वाश नै छैन । यसको मतलब यो हुन्छ कि यो राज्य व्यवस्थाप्रति कोही पनि नेपाली विश्वस्त हुने अवस्था छैन र यो राज्य व्यवस्थाप्रति कसैको आशा पनि छैन तर पनि केही तथाकथित संसदीय दलका झोले नेता तथा कार्यकर्ताले आम मानिसलाई दिग्भ्रमित पार्ने कशिस गरिरहेका छन् तर उनीहरूको नांगोपन दिन प्रतिदिन छर्लंग हुँदै गइरहेको छ ।

अनेकौं संभावना र चुनौती नै चुनौती भएको मुलुकमा अहिले संसदमा प्रतिनिधित्व गर्ने दल र नेतृत्व भनेको समाजको प्रतिबिम्ब हुनुपर्नेको सट्टा ’रक्सी पनि उही बोतल पनि उही’ तर जनतालाई सुखी र समृद्धिको नारा दिएर जनतालाई भ्रम छर्न खोज्दै छन् । उदाहरण स्वरूप देशका प्रधानमन्त्री केपी शर्मा ओलीको कुरा गरौं उहाँ कुनै बेलाको सुकुम्बासी (उहाँको बुवाको अन्तर्वार्ताअनुसार), युवा अवस्थामा १४ वर्ष जेल बस्नुभयो, उहाँले कुनै व्यापार वा जागिरमा संलग्न भएको या वैदेशिक रोजगारमा गएको सुन्न र देख्नमा आएको छैन । उहाँको उपचार खर्च मात्र करोडौं, दिनमै लाखौंको दैनिकी खर्च, र करोडौंको भक्तपुरमा बंगला, ल भन्नुहोस् यो सबै कसरी आयो ? अन्य नेताहरूको त कुरै नगरौ । यस्ता मान्छेलाई रोल मोडेल मानिदिनुपर्ने हामी नेपाली जनताले । जबकी त्यहि शासकले भाषणमा ’समृद्ध नेपाल अनि सुखी नेपाली’ को नारा दिँदै छ जसको ठीक विपरीत ’समृद्ध नेता अनि सुखी नातागोता’ हुनुपर्ने हो । यसको कसैले विरोध गर्‍यो भने त्यो विकास विरोधी, यो कथित सरकार आफ्ना विरोधीलाई जसरी पनि किनारा लगाउने तरखरमा रहेको बुझन कठिन छैन । विरोधीहरू केहीलाई आफैतिर ल्याएर समाप्त पार्ने त केहीलाई दमन गरेर, जसको उदाहरण स्वरूप नेपाल कम्युनिस्ट पार्टी (विप्लवले नेतृत्व गरेको पार्टी) का हजारौं कार्यकर्ताको गिरफ्तारी र कार्यकर्ताको इन-काउन्टरको नाममा हत्याले पनि पुष्टी गरिसकेको छ ।
यी र यस्ता अनगिन्ती प्रश्न र भद्रगोल भएको अवस्थामा रबि लामिछाने अमेरिकाको बिलासी जीवनलाई थाती राख्दै नेपाल प्रवेश हुनुले के अनुमान गर्न सकिन्छ भने नेपालमै केही गरौं भन्ने सोच पनि हुन सक्ला, या त विरोधीले भने जस्तै नेपाली जनतालाई इमोशनल पारेर सहजै आफ्नो व्यापारलाई वैधानिक तवरले अघि बढाउन सकिन्छ कि भन्ने पनि हुन सक्ला । भलै अरू पनि नदेखिएका थुप्रै अन्य कारणहरू पनि सक्छन् । धेरै हदसम्म उनले जनताका विषयहरू उठाउने प्रयत्न गरेका छन् । म रबि लामिछानेका धेरै कामप्रति सहमत छु । तर पनि कैयौं कामप्रति सहमति हुन सकिदैन । जस्तो कमजोर राज्य व्यवस्थाको फाईदा उठाउँदै, सर्बसाधारणलाई इमोशनल बनाई स्ट्रिङ् अप्रेसनको नाममा के गर्न मिल्छ र के गर्न मिल्दैन भन्ने उदाहरण पत्रकार स्व. शालिकराम पुडासैनी प्रकरणसम्म आउँदा केही पुष्टि हुन खोजेको छ । यसले के संकेत गरेको छ भने समाजमा विभिन्न किसिमका अपराध हुने गर्छन् सबै अपराधलाई जस्ताको तस्तै टेलिभिजनको पर्दामा देखाउँदा पीडितले न्याय पाउँछ कि पाउँदैन त्यो अर्को पाटो हो किन भने न्याय भनेको राज्यले दिनुपर्ने हो तर राज्यनै उदासिन छ तर अर्को एउटा महत्वपूर्ण पाटो के हो भने पिडकको पनि सामाजिक जीवन हुन्छ, यदी उसले त्यहि कारणले आत्महत्या गर्‍यो भने कुनचाहिँ ठूलो अपराध हो उसले गरेको अपराध ठूलो हो या आत्महत्या गर्न बाध्य पार्ने हो ? यो त प्रश्नको जबाफ कानुनसँग सम्बन्धित महानुभावले दिनुहोला । यस्ता कैयौं घटना छन् लामिछानेजीले पर्दामा बजाएका भिडियो क्लिपहरू छन् जसले गर्दा कुनै पनि बेला आत्महत्या हुन सक्ने अनुमान लगाउन सकिन्छ । यदी रबिजी सच्चा, इमानदार र राज्यलाई सहयोग गर्दै जाने हो भने राज्यको कुनै निकायमा बसेर काम गर्न सक्नु इमानदार हुनेछ न कि टेलिभिजनको पर्दामा अदालतबाट पुष्टि नभई सकेका कुरा प्रसारण गर्न । जस्तो पुडासैनीको भिडियो सार्वजनिक हुनुलाई आकाश खसेको मान्नेहरू रबिको जनतासँग सिधा कुरा कार्यक्रमका सयौं एपिसोडमा हजारौं यस्ता अडियो, भिडियो सार्वजनिक भएका छन् त्यसलाई के भन्ने ?

बाँकी रहृयो स्व. पुडासैनीले लगाएका आरोपहरू जो छन् म ती आरोप सत्य प्रमाणित नहोस् भन्ने चाहान्छु तर कुनै कारणवश भईहालेको खण्डमा थुप्रै प्रश्नहरू उब्जाउने छन् जस्तै टेलिभिजनबाट उहाँले बारम्बार भन्नुभएको कुरा के हो भने मलाई न्यूज-२४ ले तलव दिन्छ भनेर । उहाँलाई कति तलव दिन्छ ? त्यसबापत राज्यलाई तिर्नुपर्ने आयकर पनि तिर्नु भएको होला र उहाँको नेपालको सबै खर्च, अमेरिकाको घरको किस्ता, नेपालको फ्ल्याटको किस्ता, छोरीहरूको खर्च सबै कसरी व्यवस्थापन हुँदै छ ? नत्र भने स्व. पुडासैनीले लगाएको आरोप कुनुपर्दैन किनभने नेपालमा मिडिया जगतबाट कसरी कालो धन्दा चल्दैछ र कसरी सेतो पारिदैं छ भन्ने कुरा पनि प्रमाणित हुनेछ । यस प्रकरणले सम्पूर्ण नेपाली मिडियाको सँधै शिर निहुरिएको हुने छ ।

अहिले जसरी सामाजिक सञ्जाललगायत विभिन्न ठाउँमा रबिजीप्रति श्रद्धा राख्ने महानुभावहरू जसरी तर्क गर्दै हुनुहुन्छ यो राज्यले गरिरहेको अनुसन्धानप्रति तपाईको विश्वास छैन भने तपाई के ढुक्क हुनुहोस् भने यो राज्यले केही सत्य तथ्य सार्वजनिक गर्नेवाला छैन र कथमकदाचित रबि निर्दोष भएको भएपनि उनीलाई फसाउने षडयन्त्र राज्यले नै गर्ने छ । यो राज्य व्यवस्था भनेको खसीको टाउको देखाई कुकुरको मासु बेच्ने व्यवस्था हो । तसर्थ अग्रगामी राज्य व्यवस्थासहितको समुन्नत नेपाल बनाउने महान् यात्रामा किन तपाई हामी अघि नबढ्ने ? क्रमशः ….
Email: [email protected]

तपाईको प्रतिक्रिया