Deneme Bonusu Veren Siteler
आइतबार, पौष १४, २०८१
Sunday, December 29, 2024

समसामयिक समाजमा हामी संक्रमणकालका बासिन्दा हौं । हामीलाई आध्यात्मिक चिन्तनको प्रभाव पनि छ, भौतिक उपलब्धि गर्न नसकेको छटपटी पनि छ । वचन, शरीर र चिन्तनले अरुलाई दुःख नदिने हाम्रो दर्शन हो । सात्विक (सत्य र अहिंसा) विचार हाम्रो जीवन तान्ने डोरी हो । सँधै साँचो बोल, माता-पिता र गुरुको सेवा सम्मान गर, अर्काको सम्पत्तीमा आँखा नलगाऊ, इमान्दार बन, परोपकारमा लाग, सानालाई माया गर, पाहुनालाई देवता मान र सत्कार गर, दुर्वाच्य नबोल, दयालु होऊ – यी हाम्रा आदर्श हुन् । एकातिर यी आदर्शहरुमा विचलन आयो भने अर्कातिर समसामयिक समाजमा नयाँ मूल्यमान्यता स्थापित हुन सकेनन् । आफूले आफैलाई नढाँटी भनौ त के यी आदर्श अनुसार हाम्रो घर ब्यवहार चलेको छ ? के हाम्रा समाजमा पहिले जस्तो अनुशासित र कर्त्तब्यनिष्ठ हुन नयाँ सामाजिक मूल्यमान्यता हामीले अंगालेका छौं ? समसामयिक समाजको विश्लेषण गर्दै समाज र प्रशासन बीच मिल्दा र नमिल्दा कुराहरु के के छन्, समाज र प्रशासनको गतिमा द्वन्द्व ल्याउने आन्तरिक र बाह्य कारणहरु के के हुन सक्छन्, त्यसको विवेचना गर्नु आवश्यक छ ।

नढाँटीकन भन्नुपर्दा हामी अधिकाँश नेपालीहरु आफ्नै परिवारभित्रै अनुत्तरदायी, छलपकटी र अहं लिएर हुर्केका हुन्छौं । अधिकाँश हामी नेपालीको घरको दैनिक बोलीचाली नै पन्साउने वा आफ्नो बचाउ गर्ने प्रवृत्तिको हुन्छ । घरमूलीले आफ्नै परिवारको सदस्यलाई हेप्छौं, नजानेको कुरामा पनि जानिफकार भइ टोपल्छौं, आदर्शका पाठ अरुलाई पढाउँछौं तर आफुचाँही सुध्रिदैनौं । दैनिक घरमा गरिने कुराको छाप दिमागमा परिरहेको हुन्छ । घरकै ससाना कुरालाई लिऊं । आफैले घरभित्र सरसामान ठीक-ठीक ठाउँमा राखेका हुँदैन । यसरी घरमा सामान थुपार्छौं कि केही समयपछि घरधनीलाई नै आफ्ना घरमा के के राखेको छ, पत्तो हुँदैन । जथाभावी राखेपछि खोजेको बेला भेटिँदैन । आफैले बन्द गरेको दराजको साँचो भेटिएन भने ’ए साँचो कता गएछ’ भन्ने गरिन्छ । मानौ दराजको साँचो बिरालाको छाउरा जस्तो आफै उफ्रदै हिँड्या हो । तर त्यही साँचो परिवारका अरु कसैले राखेर भेटेनन् भने ’कहाँ हराइस्’ भन्दै गाली गरेर हुर्मतै लिने गरिन्छ । हिँड्ने बेलामा पर्स (पैसाको व्याग) नभेटेर रन्थनिएको, मोजा नभेटेर दुई रंगको मोजा लगाएर हिँडेको, पढ्दै गरेको किताब, आफ्नो नागरिकता, पासपोर्ट, प्रमाणपत्रहरु कुठाउँमा राखेर हराएको, अरुलाई दिनुपर्ने जरुरी कागजपत्र वा खबर नदिएर अप्ठ्यारो बनाएको, बोक्नुपर्ने कुरा छोडेर हिंडेको जस्ता कुराहरु कति हुन्छन् कति ।
आफूलाई गतिलो प्रदर्शित गर्न छिनछिनमा झूट बोल्छौं । तरकारीमा नून धेरै हालेर चर्को पार्‍यो, अनि मैले नून धेरै हालें नभनेर ’नून धेरै परेछ’ भन्ने चलन छ । मानौं नून आफै उफ्रेर परेजस्तो । हातबाट गिलास खसेर फुट्यो, ’मैले फुटाएँ’ नभनेर खुस्केर फुट्यो भन्ने गरिन्छ । पोख्यो भने पोखें नभनेर ’पोखियो’ भन्ने गरिन्छ । घरमा सामान सँधै छरपष्ट, खोज्नको हैरानी छ । समाजमा जति असुरक्षा बढ्दै गयो, घरका गृहणीहरुले किमती गरगहनाहरु दराजमा नराखेर विभिन्न ठाउँमा लुकाउने हुँदा पछि ठाउँ विर्सेर घरमा कति हो कति तनाव भएको देखिन्छ । रिस् उठ्यो, तथानाम अर्कालाई गाली गर्‍यो, कसैले औंलो ठड्याई हाल्यो भने ’झोकमा खुस्किएछ’ भनेर तर्किने बानी छ । मेरो गल्ती भयो भन्न कोही सक्तैन । मुलुकमा घटेका आपराधिक घटनाका विवरण तयार गर्दा होस् वा बयान लिंदा होस् यस्तै अनुत्तरदायी भाषामा लेखिने हुँदा कुन कुरामा कसको दोष वा अर्घेलाई हो न्यायिक टुंगो लगाउन हम्मे पर्छ । कर्मचारीले फायल हरायो, ’हराएँ’ भन्दैन, कता परेछ भन्छ । आफै समयमा काम गर्दैन, किन भएन भन्यो भने ’नगरेको देखिन्छ’ भन्छ । गलत गरेका कामको फलानाबाटै गल्ती भएको हो भनेर बोल्ने वा लेख्ने चलन छैन । घरको काम आफूले नगरेको भए, फुर्सदै नभएको भन्यो । परिवारका अरु सदस्यले गरेनन् भने ’किन गरिनस्’ भन्दै डंकाले पिट्यो । आयन्दा यस्तो नगर्नु भनेर चेतावनी दिएको हुन्छ । आफूले गर्ने काम नगर्‍यो, अनि अरुलाई बडो गतिलो भइटोपलेर यसो र उसो गर्नू भनेर सुझाव दिने हाम्रो बानी छ । कसैलाई सापटी वा पैंचो दिएको कुरा लैजानेले फर्काउन सकेन भने ’खाने कै नास हुन्छ’ भनेर आफूले आफैलाई सान्त्वना दिने तर परिवारका अरु सदस्यले दिएको फर्किएन भने ’के हेरेर दिइस्’ त्यसले तिर्दैन भन्ने पहिलै मलाई थाहा थियो, बुद्धु, स्वाँठ’ भन्दै उसको मानमर्दन गर्ने चलन छ । कमसल चीजलाई धेरै दाम हालेर आफूले किनेको छ भने ’फटाहाले ठग्नु ठगेछ’ भन्यो । तर परिवारका कसैले धेरै दाम हालेर किनेको रहेछ भने ’के हेरिस्, कमाउनु, धमाउनु छैन, बुद्धि सकिएको’ भन्दै फत्फतायो । प्रशासनमा पनि दिएको पेश्की सापटीहरु लैजानेले बिर्सन्छन् तर पाउनुपर्ने भए मरिहत्ते गरेर माग्छन् । यी माथिका बानी ब्यहोरा प्रत्यक्ष वा अप्रत्यक्षरुपमा हाम्रो प्रशासनिक कामकार्वाही, बोलीचाली, आदेश निर्देशनमा झल्किएका हुन्छन् ।
बूढाबूढी भएका बाबुआमासंग बोलचाल हराएको वर्षौं भएपनि घरमा उत्सव गर्दा निम्ता पत्रमा तिनै तिरस्कृत बाबुआमालाई ’प्रार्थी’ भनेर लोकलाई देखाउन नाम राख्यो, उत्सवमा कसैले सोधि हाले बिरामी भएको बहाना गर्‍यो । पहिले बाबुआमालाई सम्मान र श्रद्धाको मन्दिरमा राखिन्थ्यो, अहिले बूढेसकालमा मन्दिरको परिसरमा माग्ने बनाएर राखिन्छ । आफ्नो पौरखले बाबुआमालाई पाल्नु त कता हो कता, उनीहरुकै सम्पत्ति पाइएन भनेर अदालतमा मुद्दा हाल्ने गरिएको छ । बाँचुञ्जेल बाबुआमा वा संरक्षकलाई तिरस्कार र घृणा गर्‍यो, मरेपछि ठूलै धर्मात्मा देखिन सेता लुगाको पहिरन र विधिपूर्वकको काजक्रिया नियमित श्राद्ध गर्ने गरिएको छ । क्रिया बस्दा गरुण पुराण सुन्ने चलन छ । त्यो पुराण कसैले मन पराउँदैनन् । तर सुन्न छोड्न वा सट्टामा अर्को के सुन्ने भन्न कोही सक्दैन । अहिलेको जमानामा १३ दिन क्रिया बस्न व्यवहारिक छैन छोट्याउनु पर्छ भनेर आवाज उठाउने आफै १३ दिन चुपचाप घोत्लिन्छ । अस्पतालमा जन्मेका नानीको किन जन्मसूतक बार्ने गरेको ? जीवन पाएकोमा यो त खुशियालीको क्षण हो । मरेकाका लागि आत्माले सुख पाओस् भनेर घोत्लिन सूतक बार्नु उचितै होला । बार्नेहरुले पनि ३ दिनदेखि १३ दिनसम्म बार्नुपर्ने आफ्नो कुनै सम्बन्धित ब्यक्ति मर्‍यो भने बाहिर चोखोनितो र नून समेत नखाएको देखायो, भित्रभित्रै सबै खाइसकेको हुन्छ । बरखी सकिएपछि लोकाचारका लागि सप्ताह पुराण लगायो र पुराण सुनेर आफ्नो सोच, चरित्र र काम कारवाहीमा कुनै परिवर्तन आएको हुँदैन । यस्तो कार्य धर्म कमाउनेमा सीमित हुन्छ । अझ अमेरिका, क्यानडा, बेलायत अष्ट्रेलिया, जापान जस्ता मुलुकमा गएका छोराछोरीहरु घरमा बाबुआमा मर्दा पनि उताको ’स्थायी बसोबास’ को प्रमाणपत्र नपाइएला भन्ने डरले काजक्रिया गर्न नेपाल नआएका उदाहरणहरु छन् । हाम्रा घरपरिवारभित्र द्विविधा, संकोच, आडम्बरी यसरी आएका छन् ।
धेरै जान्ने हुनुपर्ने हाम्रो बानी भइसक्यो । विरामी परेर डाक्टरकहाँ देखाउन गयो, डाक्टरलाई रोगको लक्षण नभनेर रोगको नाम पहिले भनिहाल्छौं । डाक्टर नै छक्क पर्छ । आफू वा कोही विरामी भयो भने औषधि पसलमा गएर आफ्नै खुशीको औषधि किनेर खाइ रोग थप्छौं । कसैको योग्यता कस्तो छ भनेर उसको ज्ञान, शीप र खुबी भन्दा उसले डिस्टिङ्सन वा श्रेणी के ल्यायो भनेर लब्धाङ्कले तौलिन्छौं । राजनीति गर्नेले आफैले नबुझेका समाजले पनि न बुझ्ने तीस चालिस क्लिष्ट शब्द फरर भन्छ । समाजमा ती शब्दहरुले के तात्विक फरक ल्याउँछ, केही थाहा छैन तर उसले आफूलाई नेताको दर्जामा राख्न थाल्छ । कोहीसंग झगडा पर्‍यो, बाठो र जालीचाँही थानेदार वा प्रमुख जिल्ला अधिकारीकोमा गएर ’फलानालाई पाता फर्काइदिनुपर्‍यो’ भन्छ, के नाजायज भयो त्यो भन्दैन । कोही उच्च रक्तचाप, मधुमेह, एसिडिटी जस्ता रोगले आक्रान्त छ भने काँचो लसुनदेखि गुर्जो, मेथिको धुलो जस्ता के के खानू वा रामदेवका फलाना, फलाना योग्याभ्यास गर्नु भनेर नमागेको सल्लाह र्फरर दिइहाल्ने हाम्रो बानी छ । यहाँ करोडौंको भ्रष्टाचार भएको छ भनेर कुनै आयोजनाको नाम लिएर भाषण गर्नेले के मा चाँही कमसल काम गर्‍यो वा नभएको कुराको दावी गरेर भ्रष्टाचार गर्‍यो, औल्याउँन सक्दैन ।
अर्काको दोष र अर्घेलाइँ खोतल्न हामी खप्पिस छौं । अर्को कुनै ब्यक्तिलाई पात्र बनाएर उसका बारेमा घण्टौं कुरा गर्नु हाम्रो बानी परिसकेको छ । अर्काले ’यसो पो भन्यो’ भनेर कुरा सुनाइहाल्यो भने त्यसबाट बाह्र-सत्ताइस कुरा बनाउँछौं, कुरा काट्छौं । हो या होइन भनेर उसैसंग सोध्दैनौं । बिना सोच प्याच्च बोल्ने हाम्रो बानी छ । झूटो बोल्यो अनि झूट छोप्न अरु बनावटी कुरा गर्‍यो । अर्काको जमीनको साँध मिच्दा, नाप जोखमा अर्कालाई अलिकति ठग्दा, झुक्याएर अरुलाई कुनै कुरामा फसाउँदा, बकमफुसे कुराले अर्कालाई ’हो’ भन्ने पार्दा आफूलाई अक्कल भएको बाठो सम्झन्छौं । समाजमा आफ्नो हैकम छ र अर्को छिमेकी आफू बराबर भयो या उछिन्न खोज्यो भने उसको डाह गर्छौं, खबरदारी गर्र्छौ र उसका परिवारले गरेका कुराको खिसिटिउरी पार्छौं ।
(लेखक नेपालको ’समाज, संस्कार र शासन’ पुस्तकबाट उद्धृत गरिएको)

तपाईको प्रतिक्रिया