काठमाडौं – दोलखा र रामेछाप भएर बग्ने तामाकोशी नदीमा बन्ने तामाकोशी तेस्रो जलविद्युत् परियोजनामा ५० करोड डलर लगानी हुने भएको छ । यो परियोजना निर्माणका लागि दुई चिनियाँ कम्पनीले नेपाली कम्पनीसँग मिलेर संयुक्तरूपमा निर्माण गर्ने भएका हुन् ।
उर्जा, जलस्राेत तथा सिंचाइमन्त्री वर्षमान पुन र युनान प्रान्तका भाइस गभर्नर झांग गुहुवाको उपस्थितिमा समझदारीपत्रमा हस्ताक्षर भएको हो । चीनको वाईईआईजी इन्टरनेशनल, सांघाई इन्भेष्टिगेसन, डिजाइन एण्ड रिसर्च इन्ष्टिच्युट कम्पनी लिमिटेड र नेपालको टीबीआई होल्डिंग्सबीच उक्त सम्झौता आदानप्रदान भएको हो ।
मन्त्री पुनले दुई देशबीचको ऊर्जा क्षेत्रमा सहकार्यको प्रतीकका रुपमा परियोजनालाई लिएको बताए । भाइस गभर्नर झांगले पनि नेपालसँगको सहकार्यले परिणाममुखी नतिजा दिने बताए । २०२० को सुरुतिरै निर्माण सुरु हुने यो परियोजना आगामी साढे ३ वर्षभित्र पूरा हुनेछ ।