सामाजिक सञ्जालको बढ्दो प्रयोग र यसमा माध्यमकारुपमा लिखित प्रयोग गरिने भाषाको चर्चा गर्दा नेपाली भाषामाथि न्याय हुन सकेको देखिदैंन । नेपालीभाषी सञ्जालका प्रयोगकर्ताहरुले नेपालीमा आफ्नो अभिव्यक्ति संप्रेषण गर्दा कतिपयले अंग्रेजी लिपीमा रोमन नेपाली प्रयोग गर्ने गरिएको पाईन्छ भने कतिपयले युनिकोड नेपाली प्रयोग गर्ने गरेको देखिन्छ । धेरै कमले मात्र जो अंग्रेजी भाषामा सहज पहुँच राख्दछन्, उनीहरुले अंग्रेजी भाषालाई माध्यमकारुपमा प्रयोग गर्ने गरिएको देखिन्छ । यसबाट प्रष्ट हुन्छ कि अपबादबाहेक हामी अधिकांश नेपालीहरु न त आफ्नै भाषा नेपालीमा पोख्त छौं न त अंग्रेजीमा नै ।
सञ्जालमा नेपाली भाषाको प्रयोग र यसको अभ्यास हुनुले नेपाली भाषाको बिकासमा टेवा पुग्दै गईरहेको छ र सिक्ने क्रम पनि बढ्दो छ । तथापि नेपाली भाषामा यसको व्याकरणीय पक्ष ज्यादै गहन र जटिल हुनुले कतिपय अवस्थामा अर्थको अनर्थ र अस्वभाविक लाग्ने परिदृश्यहरु पनि हामी नियमित देख्दै आईरहेका छौं । भाषा आफैमा एक संवेदनशील बिषय हो । सम्पूर्णरुपमा जानकार नहुनु अस्वभाविक नहोला, तथापि सामान्य बोलीचाली र लेखापढीमा नियमित प्रयोग हुने भाषा, शब्दावली समेत हेक्का नहुनु वा नराख्नु भनेको आफ्नै भाषामाथि न्याय नगर्नु हो । समाजका कतिपय वौद्धिक कहलिएका वा त्यस्तो प्रतिष्ठित परिचय बनाएका ब्यक्तित्वहरु पनि यस मामिलामा चुक्ने गरेका उदाहरणहरुले कहिलेकाँही असहजताको महशुस गराउँदछ । सार्बजनिक गरिने अभिब्यक्तिहरुमा कम्तीमा पनि सम्बन्धित ब्यक्तिको हैसियतअनुसारको भाषाको स्तर र अर्थपूर्ण सन्देशको अपेक्षा गरिनु स्वभाविकै हो ।
करीव सयको हाराहारीमा नेपाली संघसंस्था भएको जापानको कुरा गर्नुपर्दा सार्बजनिक लेखापढीमै यदाकदा अतिथिलाई अथिति, अध्यक्षलाई अदक्ष, दिवंगत भईसकेकालाई समवेदना जस्ता त्रुटीपूर्ण शब्दावली प्रयोग हुने गरेको पाईन्छ । जसको अर्थ ठीक विपरित हुन जान्छ । शब्दावलीको चयनमा हुने यस्ता त्रुटीहरुबाट समाज र भावी पुस्तामा राम्रो सन्देश प्रवाह गर्दैन । साहित्यिक फाँट, प्राज्ञिक फाँट, पत्रकारिता फाँट, कलाकारिता फाँट जस्ता समाजलाई भाषाले अगुवाई गर्ने क्षेत्रमा कर्मशील ब्यक्तिहरुले त भाषाको प्रयोग जथाभावी गरिनु झन अशोभनीय हुन्छ ।
सामाजिक सञ्जालको आफ्नो वालमा जे जस्तो लेखे पनि आफ्नो मनोमर्जी भन्ने तर्क पनि यदाकदा सुनिन्छ तर पब्लिकमा सबैले पढिने सन्देश सकेसम्म भाषिक हिसाबले, तार्किक हिसाबले र बोकेको सन्देशका हिसाबले गहकिला र त्रुटीरहित हुन सके पढ्नेलाई पनि छुट्टै आनन्द मात्र दिलाउँदैन यसले समाज र निजको नेटवर्कमा जोडिएका अन्यमा पार्ने प्रभाव अनुकरणीय हुन सक्छन ।
लोकप्रियताको आशयबाट कमेन्ट र लाइकको अपेक्षासहित सन्देश संप्रेषण गरिने प्रचलन सामाजिक सञ्जालको बजारमा अचेल बिकाउ माल बन्ने गरेका छन् । कम्तीमा पनि नेपाली भाषा, साहित्य, वाङ्मय, कला र सँस्कृतिको उन्नत अभिलाषाको कर्ममा लागेका मान्छेहरुले सचेततापूर्वक हाम्रो भाषा प्रयोगमा ध्यान दिन सके हाल भईरहेको नेपाली भाषामाथिको अन्यायलाई कम गर्दै जान सकिन्छ ।
नेपालीहरुको बढ्दो क्रमसंगै पछिल्ला दिनहरुमा जापानका स्थानीय निकायहरुले समेत नेपाली भाषालाई स्थान दिन थालिएको र आफ्ना जानकारीमुलक सामग्रीहरुलाई नेपालीकरण गरी राख्न थालिएको छ । नेपालीकरण गरिएका कतिपय ती सामग्रीमा प्रयोग भएका नेपाली भाषा यदाकदा हास्यास्पद लाग्ने खालका भेटिन्छन् । त्यसो हुँदा हाम्रो भाषाको सम्मान गर्न हामीले नै जान्नुपर्दछ र यसको प्रयोगमा हुने गरेका त्रुटीहरुमा सुधार गर्न पनि हामी सचेत नेपालीहरुले नै ध्यान दिन सक्नुपर्दछ । हाम्रो भाषाको शब्दकोषका कतिपय पुराना शब्दावली ओझेल पर्दै गएका छन् त्यस्ता बिषयहरुमा पनि ध्यान दिनुपर्ने बेला आएको छ ।***