आइतबार, बैशाख १६, २०८१
Sunday, April 28, 2024

लण्डन – नेपाली लोक दोहोरीको क्षेत्रमा अलग्गै पहिचान बनाएका म्याग्देली गायक कुमार पुनले आफ्नो पछिल्लो मौलिक सालैजो गीत बेलायतबाट रिलिज गरेका छन् ।

सांगीतिक कार्यक्रमको सिलसिलामा बेलायत पुगेका पुनले लोप हुन लागेको म्याग्देली पुरानो सालैजो भाकाको गीत रिलिज गरेका हुन् ।

लाकुरी, लाछा डोरी उनैको, बामरी जस्ता जस्ता जनजिब्रोमा झुण्डिएका गीतबाट चर्चाको शिखरमा पुगेका पुनले सालैजो गीत मार्फत म्याग्दी जिल्लाको पुरानो लोकभाकालाई उजागर गरेका हुन् ।
गीतमा कुमार पुन, जमुना राना र कुमारी चेपाङको स्वर रहेको छ भने लय, शब्द गायक पुनकै रहेको छ ।

स्थायी रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको यो गीतको एरेन्ज सागर बिरहीले गरेका हुन् ।

गीतको भिडियोमा बद्री केसी, दिपक मैथाने मगर, सोफिया बुढा, एन्जी रोका लगायतको नृत्य रहेको छ । निर्देशन, छायांकन तथा सम्पादन मनोज गुरुङले गरेका छन् । त्यस्तै छायांकन सहयोगीको रुपमा मनि गुरुङ र कोरियाग्राफी बद्री केसीको रहेको छ ।

बेलायतस्थित फ्रिमली ग्रीनमा सुटिङ गरिएको सालैजोमा म्याग्दी जिल्लाको भाषा र संस्कृति झल्केको छ । बेलायतस्थित म्याग्दी देवीस्थान समाजको सहयोगमा सो गीतको सुटिङ बेलायतमा गर्न सम्भव भएको पुनले बताए ।

उनले यसअघिका गीतहरुलाई जस्तै शिरमाफूल बोलको सालैजो भाकालाई स्रोता-दर्शकले माया गर्ने विश्वास गरे ।***

तपाईको प्रतिक्रिया