शुक्रबार, बैशाख २१, २०८१
Friday, May 3, 2024

अहिले हामी विसं २०७५ ले विदा लिदै गरेको अवस्था र नयाँ वर्ष २०७६ को पूर्वसन्ध्यामा उभिएका छौं । जापानको नेपाली समुदाय र परिवर्तित सन्दर्भमा मुलुकको समग्र पाटोका बारेमा वर्षभरिको समीक्षा गर्ने बेला हो यो । समीक्षाबाट सिक्दै आगामी वर्षो रेखा कोर्ने, भावी योजना तय गर्ने संघारमा उभिरहँदा बितेको वर्षमा भए गरेका उपलब्धि र आत्मालोचना गर्नुपर्ने बिषयहरुमा केन्द्रित हुनु जरुरी छ ।

वितेको वर्षमा जापानको नेपाली समुदायबीच विद्यमान आपसी सद्भाव र भाइचाराका दृष्टिले सकारात्मक सन्देश दिने खालका थुप्रै कार्यक्रमहरु सम्पन्न गरिएका छन् । नेपाली समुदाय र यहाँ रहेको दूतावास बीचको पारस्परिक सम्बन्ध र सहकार्य थप विकसित हुँदै गएका छन् । कानुन तथा न्यायमन्त्री भानुभक्त ढकाल र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको राज्यस्तरबाट भएका जापान भ्रमण र जापानी विदेशमन्त्री तारो कोनोको नेपाल भ्रमणबाट नेपाल जापानबीच रही आएको असल सम्बन्धलाई थप पुनर्ताजगी गरिनुका साथै जापानी निजी क्षेत्रलाई नेपालमा लगानीका लागि औपचारिक रुपमा आहृवान गरिएको छ भने आर्थिक समृद्धिको दिशातर्फ अगाडि बढ्दै गरेको नेपालका लागि जापान सरकारको संभावित सहयोगका लागि आधार बनाउने काम भएको छ । यसबाहेक जापान र नेपालबीच अझ उपल्लो स्तरको भ्रमण आदान प्रदानका लागि संभाब्यताको अध्ययन गरी वातावरण बनाउन पहल भईरहेको खबर आईरहेका छन् । यो आम नेपालीका लागि खुशीको बिषय मान्न सकिन्छ ।

यति हुँदा हुँदै जापान जस्तो सभ्य र शालिन समाजमा बसेका नेपालीहरु अवाञ्छित गतिविधिमा संलग्न रहेको आरोपमा धरपकडमा परेको, शरणार्थीमा जाने नेपालीहरुको संख्यामा खासै कमी नआएको जस्ता समाचारहरु समय समयमा जापानी मिडियामा प्रधान बिषय बन्नुले जापानमा नेपालीहरुको छबि धुमिल हुन पुगेको छ । यसबाहेक नेपालीहरुबीचको सौहार्द्रतामा खलल पुग्ने खालका क्रियाकलापहरुमा बढोत्तरी आउनु अर्को चिन्ताको बिषय हो । नेपालीहरु मिलेर अरुसंग प्रतिस्पर्धा गर्नुपर्नेमा त्यसो हुन नसक्नुमा हाम्रो चिन्तन र सोचमा अझै संकिर्ण बाँकी रहेको छनक दिन्छ । समस्या हामीमा अवश्य छन् तर समाधान पनि हामीभित्रै खोजिने सँस्कारको विकास हुनु आवश्यक छ ।

अर्कोतर्फ ब्यवसायिक क्षेत्रमा नेपालीहरुले जापानमा गरेको लोभलाग्दो प्रगतिको दायरा फराकिलो हुँदै गईरहेको छ । तिनैको सिको गर्दै नयाँ पुस्ताका नेपालीहरु पनि उद्यमी बन्नतिर प्रेरित देखिन्छन् । यहाँ उपलब्ध संभावना र अवसरलाई केलाएर अभिप्रेरित गर्ने खालका अपेक्षित कार्यक्रमहरु हुन नसके पनि त्यस दिशामा जानुपर्नेमा यहाँको नेपाली समुदाय एकमत देखिन्छ ।

नेपाल सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषित गरी २० लाख पर्यटक भित्र्याउने संकल्प गरेको परिप्रेक्ष्यमा जापानमा बस्ने नेपालीहरुको भूमिका अहम हुने देखिन्छ । यस सन्दर्भमा नेपाल जापानबीच सिधा हवाईसम्पर्क हुने बिषयले थप उत्साहको सञ्चार गरेको छ । नेपाल बारे अनभिज्ञ जापानीहरुको संख्या अधिक रहेको सन्दर्भमा नेपाललाई चिनाउने र नेपाल भ्रमण गर्न प्रेरित गर्ने खालका अल्पकालिन र दीर्घकालिन अभियानहरु थालिनु जरुरी छ । यसका लागि नेपाली दूतावास, पर्यटन बोर्ड, नेपाल वायुसेवा निगम, जापानका नेपाली संघसंस्था, ब्यवसायी तथा प्रबुद्ध वर्गको संयुक्त पहलकदमी हुनुपर्ने देखिन्छ ।
जापानमा नेपालीहरुको बढ्दो संख्या, थपिदो जिम्मेवारी र अत्यन्त पेचिलो बन्दै गएको नेपालीका लागि जापानको श्रमबजार जस्ता बिषयहरुमा यहाँको अगुवा नेपालीहरु थप संयमित र संवेदनशील हुनु जरुरी छ । हाम्रा कतिपय सार्बजनिक अभिब्यक्तिले जापानी समुदायमा नकारात्मक प्रभाव पर्न जाने बिषयलाई नकार्न सकिदैंन । जापानीहरुमा नेपालीहरुप्रतिको चासो र निगरानी अत्यन्तै बढेको पाईन्छ । यहाँका ठूला मिडिया हाउसहरुले समेत नेपालीका बारेमा नियमित सामाग्री उत्पादन तथा प्रसारण गरिनुले त्यसलाई पुष्टि गर्दछ ।

नेपाल र जापान दूवै राष्ट्रका लागि आसन्न वर्ष अत्यन्त महत्वपूर्ण एवं ऐतिहासिक वर्ष हुने छन् । नेपालका लागि भ्रमण वर्षको अन्तिम तैयारी वर्ष अर्थात आधारशिला निर्माण गर्ने वर्ष हो भने जापानका लागि ओलम्पिक आयोजक राष्ट्रका हैसियतले सम्पूर्ण तैयारी पुरा गरेर बिश्वलाई आमन्त्रण गर्ने वर्ष हो । यस अवसरमा हामी जापानमा हुने नेपालीको पनि कुनै न कुनै रुपमा सकारात्मक भूमिका वाञ्छनीय छ । मेलमिलाप, सहकार्य, सहमति र एकअर्काप्रतिको सौहार्द्रताले मात्र जापानी समुदाय सामु हामीले नेपालीको असली चिनारी दिन सक्दछौं । यस महत्वपूर्ण अवसरमा नयाँ वर्ष नेपाल र नेपालीका लागि सार्थक र उपलब्धिको वर्ष साबित हुन सकोस् सबैमा शुभकामना।***

तपाईको प्रतिक्रिया