आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

टोकियो – तुलनात्मकरुपमा विश्वका अन्य महंगा देशहरुमा भन्दा जापानमा स्मार्ट मोबाइल फोनको सेवा शुल्क महंगो रहेको आलोचना भईरहेकै बेला जापान सरकारले सेवा शुल्क घटाउने भएको छ ।
प्रधानमन्त्री शिन्जो आबेको क्याविनेटले मंगलबार बिधेयक संशोधन गरी स्मार्ट मोबाइल फोनको महशुल कम गर्ने प्रस्तावलाई अनुमोदन गरेको छ ।
जापानमा दुई देशका तीन कम्पनी सफ्ट बैंक कर्पोरेशन, केडिडिआई कर्पोरेशन (एयु), एनटीटी दोकोमो इन्कले स्मार्ट मोबाइल सेवा प्रदान गर्दै आईरहेका छन् ।
कम गरिएको नयाँ महशुल दर संभवतः यहि बसन्तदेखि लागू हुने गरी तयारी अगाडि बढाईएको बताईएको छ ।

क्याविनेट बैठक पछि पत्रकारहरुसंगको कुराकानीमा सञ्चारमन्त्री मासातोशी इशिदाले भने – ‘मोवाइल फोन प्रदायक कम्पनीहरुले डाटा र डिभाइसको मूल्य अलग अलग छुट्याई आवश्यक जानकारीहरु सहित सेवाग्राहीहरुमा सेवा प्रवाह गरिनुपर्ने जसले गर्दा प्रतिस्पर्धात्मक बजारमा सेवाग्राहीले आफुलाई उपयुक्त लागेको सस्तो र राम्रो सेवा रोज्न सकून् ।’
कुल जनसंख्याको ६० प्रतिशत जापानी नागरिकहरुले स्मार्ट फोन प्रयोग गरिरहेका छन् भने ट्याब्लेट र अन्य डिभाइससमेत जोडेर ८४ प्रतिशत जापानीहरु यस्तो सेवा लिईरहेका छन् । सञ्चार मन्त्रालयका अनुसार सन् २०१७ को आंकडा हेर्ने हो भने जापानको एक घरपरिवारले कुल घरायसी खर्चको ३ प्रतिशत मोवाईलमा खर्च गर्ने गरेको देखिएको छ ।

विश्वका कहलिएका महंगा सहरहरु न्यूयोर्क, लण्डन, सिउल भन्दा टोकियोमा बस्नेहरुको मोवाइल खर्च महंगो भएको तथ्यहरुले जनाएका छन् । औसत २० गिगावाइट इन्टरनेटसहित स्मार्ट मोवाइल चलाउनेहरुले मासिक खर्च सरदर ७ हजार येन रहेको सञ्चार मन्त्रालयले जनाएको छ ।
क्योदो न्यूजका अनुसार जापानी क्याविनेटका प्रमुख सचिव समेत रहेका सरकारका प्रवक्ता योसिहिदे सुगाले गत अगस्तमै जापानमा मोवाइल फोन प्रदायक कम्पनीहरुले ४० प्रतिशतसम्म सेवा शुल्क घटाउनुपर्नेमा जोड दिएका थिए ।***

तपाईको प्रतिक्रिया