आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

काठमाडौँ – नेपाल आउने विदेशी केही महिना र वर्ष बस्छन् अनि आफ्नै देश फर्किन्छन् । २५ वर्षअघि जापानबाट यहाँ आएका काजुमासा काकिमी भने ७८ वर्षको ढल्किँदो उमेरमा पनि ग्रामीण बस्तीको समाजसेवामै रमाएका छन् । मगर गाउँमा बढी रमाउने उनलाई समय बितेको पत्तो भएन ।

जापानी भाषा होइन, अंग्रेजीसमेत नबुझ्ने समुदायमा उनको नाम हो, ‘ओके बाजे’ । ‘म सुरुमा नेपाली भाषा बुझदिनथेँ,’ उनले भने, ‘ओके..ओके..भन्दै हिँड्थें । पछि मेरो नाम नै ओके बाजे पो राखिदिनुभएछ ।’

अहिले उनलाई साना बच्चादेखि वृद्धसम्म ओके बाजे नामले चिन्छन् । उनी गाउँबस्ती, पाखापखेरा सबै डुलेका छन् । ०५० सालमा नेपाल आएका उनी अन्नपूर्ण बेस क्याम्प घुमेर यहाँको पूर्वखोला २, जल्पास्थित ढोलीमारामा बस्न पुगे । ग्रामीण भेकको विपन्नता, फोहोर, अशिक्षा देखेपछि उनलाई समाजसेवा गर्न मन जाग्यो । ‘मलाई यतै केही गरौं भन्ने लाग्यो,’ उनले भने, ‘त्यसैले पुनः आएँ र समाजसेवामा रमाउन थालेँ ।’

२५ वर्षदेखि सामाजिक काममा सक्रिय उनै काकिमीलाई फागुन ३० मा तानसेन टुँडिखेलमा नागरिक अभिनन्दनको तयारी गरिएको छ । उनले शिक्षा, स्वास्थ्य, आयआर्जन, खेलकुद, विकास निर्माण तथा जनचेतनाका क्षेत्रमा काम गर्दै आएका छन् । यसअघि उनलाई दुई पटक अभिनन्दन गरिसकिएको छ । जनजाति, दलित बस्तीमा विद्यालय खोल्ने, स्वास्थ्यचौकी निर्माण, गरिब बालबालिकालाई छात्रवृत्ति, विद्यालयमा शिक्षक नियुत्ति, विद्यालयमा पुस्तकालय स्थापना, विद्यालय भवन निर्माणमा उनले सहयोग गर्दै आएको जलपाका गाइड तिलक आले बताउँछन् ।
नागरिक अभिनन्दन मूल समारोह समिति संयोजक सुन्दरप्रसाद श्रेष्ठका अनुसार काकिमीले २ सय बढी विद्यालयमा सहयोग गरेका छन् । ‘सामाजिक क्षेत्रमा सत्रिय रहेको भन्दै सरकारले गोरखा दक्षिण बाहु तेस्रोले विभूषित गरिसकेको छ,’ उनले भने, ‘नेपालका लागि आवासीय प्रवेशाज्ञा ४ वर्षअघि प्रदान गरेको छ ।’
उनी जापानबाट अंग्रेजी शिक्षक सेवानिवृत्त हुन् । उनले पेन्सनबाट आउने सबै रकम जिल्लाको सामाजिक कार्यमा लगाउँदै आएका छन् । टोकियोमा रहेको घरसमेत बिक्री गरी उनले शिक्षा र अन्य क्षेत्रमा लगाएका छन् । उनले सामाजिक क्षेत्रमा १ अर्ब बढी खर्च गरिसकेको श्रेष्ठको दाबी छ । ‘अहिले एकवर्षे भिसा नवीकरण गर्दै बसेका छन्,’ उनले भने ।
यातायात सुविधा नभएको, ग्रामीण विकट बस्ती, हिँडेर जानुपर्ने स्थानमा पुगेर जनताको सेवा गर्नुमा आफूलाई खुसी लाग्ने उनी बताउँछन् । जापानमा पाएको सम्मानको रकमले उनले यहाँ अक्षयकोष बनाएका छन् । सिलुवा, ज्यामिरे, मित्याल, बांकामलाङ, ख्याहामा ७ झोलुंगे पुल बनाउन उनले सहयोग गरेका छन् । ***
तानसेनको मिसन अस्पताल र लुम्बिनी मेडिकल कलेज प्रभासमा खाता खोलेर गरिब र औषधि गर्न नसक्नेका लागि निःशुल्क सेवा पुर्‍याएका छन् । काकिमीले शिक्षा, स्वास्थ्यबाहेक यातायात, कृषि, सिंचाइ, पुल निर्माणमा सहयोग पुर्‍याएका छन् । उनले ५ सय बढी चर्पी बनाउन सहयोग गरेका छन् । यस्तै १ सय ५० बढी विद्यार्थीलाई मासिक सयदेखि २ हजार रुपैयाँसम्म छात्रवृत्ति प्रदान गरेका छन् ।
यो पनि पढ्नुहोस :-
तपाईको प्रतिक्रिया