आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

टोकियो – जापानी बजारमा हिजो शुक्रबारदेखि केहि माछाजन्य खाद्यवस्तु र पेयपदार्थहरुको मूल्यमा वृद्धि भएको छ । उत्पादन लागतका साथै वितरणमा खर्च वृद्धि भएका कारण मूल्यमा वृद्धि भएको जनाईएको छ ।

यसैगरी आगामी अप्रिलदेखि दूध, दहीजन्य वस्तुका साथै ठूला बोतलका पेयपदार्थहरुमा पनि मूल्य वृद्धि हुने फुजी टेलिभिजनले जनाएको छ ।

मूल्य वृद्धिसंगै आगामी अक्टुवरदेखि वृद्धि हुन गईरहेको १० प्रतिशत उपभोग्य कर समेतले गर्दा सर्वसाधारणको पारिवारिक खर्च अझ प्रभावित हुने भएको छ ।

स्रोतका अनुसार मेइजी तथा डेरीजन्य उत्पादनका २३ वटा वस्तुहरुको खुद्रा मूल्यमा १ सय ४० देखि १ सय ५१ येनसम्म वृद्धि हुने एक विज्ञप्तीमार्फत जानकारी गराईएको छ । विज्ञप्तीमा, उत्पादक कम्पनी मेइजीले भनेको छ – ‘आधारभूत मापदण्डअनुसार सकेसम्म मूल्यमा सन्तुलन ल्याउन खोजिएको हो, तथापि उत्पादनमा हुने लागत खर्च वृद्धिका कारण साबिकै मूल्यलाई निरन्तरता दिन नसकिएको हो ।’
मूल्य वृद्धि भएका आइटमहरुमा मोरिनागाका उत्पादन आइसक्रिम, दूध, एजाकी ग्लिको, लोत्ते, चिकुवा लगायतका माछाजन्य वस्तुका साथै फ्रोजन आइटममा ५ देखि १३ प्रतिशतसम्म मूल्य वृद्धि हुने भएको हो ।

यसका साथै कोकाकोला बोतलर्स र सन्तोरी बेभरेज एण्ड फुड कम्पनीले पनि २५ वर्षपछि आफ्ना उत्पादनका पेय पदार्थमा अप्रिलदेखि मूल्य वृद्धि गर्न लागेको हो । ती वस्तुहरुमा करीव २० येनदेखि माथि मूल्य बढ्ने भएको हो।

जापानमा कुनै पनि वस्तुको मूल्य वृद्धि गर्दा सरोकारवाला निकायहरुको समन्वयमा बजारमा त्यसको नकारात्मक प्रभाव नपर्ने गरी वृद्धि गर्नुको स्पष्ट कारण सहित सर्बसाधारण जनतालाई पूर्व जानकारी गराई वृद्धि गर्ने चलन छ।***

तपाईको प्रतिक्रिया