आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

टोकियो – जापानको कानुन मन्त्रालय अन्तर्गतको मानव अधिकार ब्यूरोले जापानमा रहेका मानव अधिकार उल्लंघनसंग सम्बन्धित बिभिन्न खाले हिंसाबाट पीडित विदेशीहरुका लागि परामर्श (काउन्सेलिङ) सेवा उपलब्ध गराउने भएको छ ।

आफु बसेको समुदाय, काम गर्ने ठाउँ वा स्कुलमा हुने विभेदजन्य हिंसा वा अन्य कुनै पनि हिंसाबाट पीडित विदेशीहरुका लागि पीडितको अवस्था र स्थिति हेरेर ब्यूरोले आवश्यक परामर्श, अनुसन्धान र चाल्नुपर्ने कदमका बारेमा सहयोग गर्ने जनाएको छ । त्यस्ता पीडितहरुको समस्या समाधानका लागि ब्यूरोका कर्मचारीहरुले सहजीकरण गर्ने भएकोले सम्पर्कमा रहन अपिल गरेका छन् ।

जापानमा विदेशीहरुको आगमन बढ्दो क्रममा रहेको र मानव अधिकार उल्लंघनसंग सम्बन्धित हिंसा पनि बढ्न सक्ने संभावनालाई ध्यानमा राख्दै मन्त्रालयको ब्यूरोले परामर्श सेवा प्रदान गर्ने भएको हो ।
फरक भाषा, सँस्कृति, धर्म, रितिरिवाज र सँस्कारका कारण विदेशीहरुले विभेदजन्य हिंसाबाट पीडित हुन नपरोस् भन्ने उद्देश्यले यस्तो सेवा दिन लागिएको ब्यूरोले जनाएको छ । घर-कोठा, पसल भाडामा लिने क्रममा र स्कुलमा बच्चाहरुमाथि विभेदजन्य हिंसा हुने गरेको आवाज उठिरहेकै बेला यस्तो सेवा सुरु गरिन लागेको बताईएको छ । मानव अधिकार संग सम्बन्धित मूल्य र मान्यताको सम्मान गर्दै जापानमा रहेका विदेशीहरुलाई त्यसको प्रत्याभूति दिलाउन यसप्रकारको सेवाले धेरै भन्दा धेरै पीडित विदेशीहरु लाभान्वित हुने अपेक्षा गरिएको छ ।

ब्यूरोले यस्तो सेवा हटलाइन फोन, अनलाइन र कर्मचारीमार्फत प्रत्यक्ष गरी तीन किसिमले उपलब्ध गराउने जनाएको छ । यस्तो सेवा जापानभरि गरेर ५० भन्दा बढि आधिकारिक अफिसियल ब्यूरो र जिल्ला तहका सम्बन्धित निकायहरुबाट उपलब्ध हुने जनाईएको छ । जापानी भाषामा राम्रो पहुँच नभएका विदेशीहरुलाई यसप्रकारको सेवाबाट राहत मिल्ने ब्यूरोका अधिकारीहरु बताउँछन् । स्रोत : कानुन तथा मन्त्रालय, मानव अधिकार ब्यूरो जापान  ***

विदेशी भाषाका लागि Hotline 0570-090911, Weekdays 9:00-17:00 (Closed in New Year)

तपाईको प्रतिक्रिया