आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

टोकियो – जापानले जनमत संग्रहको निर्देशविपरीत ओकिनावा टापुमा रहेको अमेरिकी सेनाको बेस क्याम्प सार्ने प्रक्रियालाई निरन्तरता दिने भएको छ । सोमबार प्रधानमन्त्री सिन्जो आबेले जनमत संग्रहको नतिजालाई सरकारले गम्भीरतापूर्वक लिए पनि २० वर्षअघिदेखिको योजनालाई रोक्न भने नसक्ने बताउनुभयाे ।

यसअघि, बेस क्याम्प सार्ने र नयाँ क्याम्प निर्माण गर्नेबारे भएको ‘ननबाइन्डिङ पोल’मा भन्डै ७२ प्रतिशत स्थानीयले क्याम्प नसार्ने पक्षमा मत दिएका थिए । यद्यपि, पछिल्ला वर्ष क्याम्प आसपास भएका थुप्रै दुर्घटना र अपराधहरुले क्याम्पविरुद्ध स्थानीय जनमत बढाइरहेको छ । ओकिनावामा रहेको ‘मराइन कर्प्स एयर स्टेसन फुटेन्मा’ले जापानभर अमेरिकी सैन्य सुविधा प्रदान गरिरहेको छ ।

‘हामी फुटेन्मालाई सार्नुपर्ने आवश्यकतालाई नजरअन्दाज गर्न सक्दैनौँ, जुन विश्वकै सबैभन्दा खतरनाक बेस मानिएको छ,’ पत्रकारहरुमाझ प्रधानमन्त्री आबेले भन्नुभयाे, ‘हामी यसलाई अझै यही हालतमा छाड्न सक्दैनौँ । स्थानीय जनताले उनीहरुको जनमतविरुद्ध जानुपर्ने सरकारको बाध्यतालाई बुझ्ने उनको विश्वास छ ।

सरोकारवाला क्षेत्रमा आइतबार भएको जनमत संग्रहमा क्याम्प सार्ने कुराको पक्ष, विपक्ष र तटस्थ गरी तीन विकल्पमा मतदान गर्ने व्यवस्था थियो । अधिकारीहरुका अनुसार, ७२ प्रतिशत मतदाताले विपक्षमा मतदान गरेका थिए । १९ प्रतिशतले पक्षमा र ९ प्रतिशतले तटस्थ रहने पक्षमा मत दिएका थिए । कानुनअनुसार, स्थानीय गभर्नरले नतिजाबारे टोकियो र वासिंगटनलाई जानकारी गराउनुपर्नेछ ।

यद्यपि, टोकियोस्थित केन्द्र सरकारले नतिजालाई बेवास्ता गर्न पनि पाउँछ । फुटेन्मा बेस क्याम्प ओकिनावाको सहरी भागमा पर्दछ, र वासिंगटन यसलाई रिमोट एरियामा सार्न चाहन्छ । ओकिनावा टापुमा अमेरिकी सेनाको उपस्थिति दोस्रो विश्वयुद्धपछिको अमेरिका र जापानबीचको ‘पोस्ट वार सुरक्षा सहकार्य’को मुख्य कडी हो, तर थुप्रै स्थानीय क्याम्पलाई झन्झटका रुपमा झेलिरहेका छन्, र यो ओकिनावाबाहिर सरोस् भन्ने चाहन्छन् ।

जापानमा रहेका ४७ हजार अमेरिकी सैनिकमध्ये आधाभन्दा बढी ओकिनावामा छन् । सन् १९९५ मा अमेरिकी सैनिकबाट भएको १२ वर्षे बालिकामाथिको सामूहिक बलात्कारपछि अमेरिकी क्याम्पविरुद्धको आवाज एक्कासि चुलिएको थियो । सन् २०१६ मा एक अमेरिकी क्याम्पका पूर्वकर्मचारी २० वर्षे स्थानीय महिलालाई दुर्व्यवहार गरेको र उनको हत्या गरेको अभियोगमा दोषी ठहर भई आजीवन कारावासको सजाय पाएका थिए । उनको गिरफ्तारीपछि अमेरिकी बेस क्याम्पले केही समय मदिरामा प्रतिबन्धका साथ मध्यरातमा कर्फ्युसमेत लगाएको थियो ।

तपाईको प्रतिक्रिया