आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

टोकियो – राष्ट्रिय लोक तथा दोहारीगीत प्रतिष्ठान नेपाल, जापान शाखाको आईतवार टोकियोमा प्रथम साधारण सभा सम्पन्न भएको छ ।

सो साधारण सभाको प्रमुख अतिथि नेपाली राजदूतावासका उपनियोग प्रमुख कृष्णचन्द्र अर्याल र प्रतिष्ठान जापान शाखाका अध्यक्ष युवराज आचार्यले संयुक्तरुपमा दीप प्रज्वलन गरी उदघाटन गरेका थिए । प्रमुख अतिथिको आसनबाट बोल्दै उपनियोग प्रमुख अर्यालले प्रतिष्ठानको जापान शाखाले एक वर्षको छोटो अवधिमा विभिन्न रचनात्मक कार्यहरु गरी जापानमा आफ्नो अलग्गै पहिचान कायम गर्न सफल भएको बताए । उनले नेपाली कला, सँस्कृति र गीत, संगीतको संबर्द्धन एवं कलाकारहरुको हकहित र अधिकारका लागि प्रतिस्थानको जापान शाखाले चाल्ने हरेक जायज कदममा दूतावासको सँधै सहयोग र सहकार्य रहने बताए ।

शाखाका अध्यक्ष आचार्यको सभापतित्वमा भएको सो साधारण सभामा सहकोषाध्यक्ष महेन्द्र न्यौपानेले आर्थिक प्रतिवेदन र सहसचिव सोना केसीले वार्षिक कार्यप्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रस्तुत प्रतिवेदनलाई सभाले अनुमोदन गरेको थियो । शाखाका उपाध्यक्ष सूर्य खड्काको स्वागत मन्तब्य रहेको सो साधारण सभामा उपस्थित विभिन्न संघसंस्थाका प्रतिनिधि तथा पर्यवेक्षकहरुले शुभकामना मन्तब्य राखेका थिए । शुभकामना दिनेहरुमा गुल्मेली समाज जापानका अध्यक्ष शालिकराम भण्डारी, पत्रकार महासंघ जापान शाखाका अध्यक्ष मोहन घले, अनेसास जापानका पूर्व अध्यक्ष बेलुकाजी थापा, एनआरएन जापानका उपाध्यक्ष शिव पौडेल, प्रतिष्ठान जापान शाखाका सल्लाहकारद्वय तिलक मल्ल तथा रामकृष्णबम मल्ल, घुम्टे नौमति बाजा समुह जापानका संयोजक चन्द्र खत्री, काष्ठमण्डप होटल ब्यवसायी संघका महासचिव देवेन्द्रराज सापकोटा लगायतका थिए । शुभकामना दिने वक्ताहरुले अदम्य शक्ति रहेको गीत र संगीतको माध्यमबाट सामाजिक रुपान्तरणमा अहम भूमिका निर्बाह गर्न सकिने धारणा ब्यक्त गरेका थिए । उनीहरुले मौलिक कला र सँस्कृतिमार्फत जापानमा नेपालको चिनारी बढाई दुई देशबीचको साँस्कृतिक सम्बन्धलाई थप उचाईमा पुर्‍याउन र पर्यटन प्रबर्द्धनमा योगदान पुरयाउनुपर्नेमा जोड दिएका थिए ।

राष्ट्रियगानबाट सुरु भएको सो सभाको बिच बिचमा कलाकर्मीहरुको मनोरञ्जनात्मक साँगीतिक प्रस्तुती रहेको थियो ।
शाखाका सचिव नारायण कँडेलको सञ्चालनमा भएको सो साधारण सभामा सहकोषाध्यक्ष महेन्द्र न्यौपानेलाई क्रियाशीलताका हिसाबले वर्षको उत्कृष्ट सदस्य घोषणा गरी प्रशंसापत्रले सम्मान गरिएको थियो ।

जापानलाई कर्मभूमि बनाएर आ-आफ्ना पेशा, ब्यवसाय र रोजगारीमा संलग्न कलाकर्मीहरुको साझा संस्थाका रुपमा गत वर्ष प्रतिष्ठानको जापान शाखा स्थापना गरिएको थियो । सर्जक तथा स्रष्टाहरुको हक, अधिकार कुण्ठित हुन नदिन देश विदेशमा रहेका कलाकर्मीहरु एकताबद्ध भएर अगाडि बढ्नुपर्नेमा उनीहरुले जोड दिएका छन् ।
शाखाका अर्का उपाध्यक्ष पुरुषोत्तम सिग्देलको धन्यबाद ज्ञापन र सभाध्यक्ष आचार्यको समापन मन्तब्यसंगै साधारण सभा समापन भएको थियो । साधारण सभा टोकियो, शिन-ओकुबो स्थित टोकियो रोधीघरको सभाकक्षमा भएको थियो ।  ***

तपाईको प्रतिक्रिया