सोमबार, बैशाख २४, २०८१
Monday, May 6, 2024

टोकियो – जापान सरकारले नर्सिङ क्षेत्रमा प्रशिक्षार्थीरुपमा काम गर्न आउने विदेशीहरु बढि भन्दा बढि आउन सकून् भन्ने उद्देश्यले भाषागत तहको परीक्षामा केही खुकुलो तथा सरलीकरण नीति अपनाउने भएको छ ।

जापानले २०१७ नोभेम्बरदेखि नर्सिङ कियर क्षेत्रमा प्रशिक्षार्थी कामदारका रूपमा विदेशी ल्याउन प्रारम्भ गरेको हो । तर अन्य क्षेत्रको तुलनामा नर्सिङ कियर क्षेत्रमा तहगत भाषा परीक्षाको मापदण्ड उच्च रहेको कारणले गर्दा यस्ता प्रशिक्षार्थीमा आउने कामदारहरुको संख्या अनपेक्षित रहेको बताईएको छ ।

परिवर्तित पछिल्लो नीतिअनुसार यसप्रकारका प्रशिक्षार्थी कामदारहरु आएको १ वर्षपछि तोकिएको तहको जापानी भाषा परीक्षा उत्तीर्ण गरेमा भिसा नविकरण हुने र भाषा परीक्षा उत्तीर्ण गर्न नसकेमा भने स्वदेश फिर्ता हुनुपर्ने प्रावधान राखिएको छ ।

सरकारी स्रोतका अनुसार जापान सरकारले भाषाको दक्षता अभिबृद्धिका लागि जतिसक्दो नियमित अध्ययन र मिहिनेत गर्ने त्यस्ता कामदारहरुलाई भने तोकिएको अवधिभन्दा अतिरिक्त थप दुई वर्ष वा सो भन्दा बढि भिसा उपलब्ध गराईने भएको छ । संभवतः यो प्रणाली आउँदो मार्चदेखि लागू हुने बताईएको छ ।

बृद्धाहरुको बढ्दो दर र घट्दो जन्मदरका कारण जापानले सामना गर्नुपरेको चर्को श्रमिक अभावलाई कम गर्न उक्त योजना ल्याएको हो । नर्सिङ कियर लगायतका अन्य क्षेत्रका कामदार अभाव पूर्ती गर्न थप विदेशीहरु भित्र्याउन आउँदो अप्रिलदेखि लागू हुने नयाँ भिसा प्रणालीले थप सहजीकरण हुने अपेक्षा गरिएको छ ।

जापानले सन् १९९३ देखि विकासोन्मुख देशहरूमा सीप हस्तान्तरण गर्ने उद्देश्यले विदेशीहरुका लागि प्राविधिक प्रशिक्षार्थी कामदार भित्र्याउने योजना शुरु गरेको हो । यस योजना अन्तर्गत भियतनाम लगायतका देशहरुबाट बृद्धाहरुलाई लुगा फेरिदिने, खाना खुवाउने लगायतका स्याहारसुसार गर्ने जस्ता उनीहरुको दैनिक गतिविधिसंग सम्बन्धित नर्सिङ कियरको क्षेत्रमा काम गर्नका लागि आउने संख्या ठूलो हुने जापान सरकारको अपेक्षा छ ।
गत वर्षको अक्टोबर मसान्त सम्ममा यस्ता विदेशी कामदारको संख्या जापानमा करीव २ सय ५० जना मात्र रहेका थिए ।

प्राविधिक प्रशिक्षार्थीमा आउने विदेशीहरू पाँच वर्ष सम्म जापान बस्न पाउँछन् । यद्यपि रोजगारदाता कम्पनीहरुले भने सस्तो ज्यालादरका कामदार ल्याउन पाउनुपर्ने भन्दै यसप्रकारको प्रशिक्षार्थी कामदार प्रणालीको आलेाचना हुँदै आएको छ ।

आउँदो अप्रिल देखि लागू हुने नयाँ भिसा प्रणालीअनुसार प्राविधिक प्रशिक्षार्थी कामदारका रुपमा आई तीन वर्ष भन्दा बढि गुजारी सकेकाहरुले भने नयाँ भिसा स्टाटस परिवर्तन गर्न पाउने भएका छन् । जसअनुसार यसप्रकारका कामदारहरुको ठूलो संख्याले भिसा परिवर्तनका लागि आवेदन गर्ने जापान सरकारको अपेक्षा रहेको छ ।***

तपाईको प्रतिक्रिया