सोमबार, बैशाख १७, २०८१
Monday, April 29, 2024

काठमाडौं –  चिनियाँ सरकारी सञ्चारमाध्यमहरुले हिरासतमै मृत्यु भएका भनिएका उइगर संगीतकार अब्दुरेहिम हेयित जीवितै रहेको देखिने भिडियो सार्वजनिक गरेका छन् ।

चिनियाँ सरकारी रेडियो चाइना रेडियो इन्टरनेसनलको तुर्केली भाषा सेवाले अब्दुरेहिम हेयित बोलिरहेको भिडिओ सार्वजनिक गरेको हो ।

उनको मृत्यु भएको दाबीका साथ चीनको आलोचना गर्ने टर्कीको कदममा कुनै तुक नभएको उसले जनाएको छ ।

फेब्रुअरी १० तारिखमा खिचिएको त्यो भिडिओमा अब्दुरेहिम हेयित जीवितै रहेको र उनले आफ्नो ’स्वास्थ्य राम्रो’ रहेको बताएको देखिन्छ ।

यसअघि टर्कीले अब्दुरेहिमको हिरासतमा मृत्यु भएको भन्दै चीनको उत्तर पश्चिमी सिन्जियाङ प्रान्तका बन्दी गृहहरू बन्द गर्न चीनलाई आग्रह गरेको थियो ।

सार्वजनिक गरिएको भिडिओमा हेयितले आफूले देशको कानुन मिचेको अभियोगमा अनुसन्धान भइरहेको बताएका छन् । तर हेयित जीवितै देखिने भिडिओको सत्यतामाथि सिन्जियाङका मुस्लिम उइगर समुदायका मानिसले भने आशंका व्यक्त गरेका छन् ।

मुस्लिम समुदायका उइगरहरू टर्कीको भाषासँग मिल्दोजुल्दो भाषा बोल्छन् र उनीहरू चीनको पश्चिम उत्तरी सिन्जियाङ क्षेत्रमा बसोबास गर्छन् । उनीहरूका क्रियाकलापमाथि चीनले कडा निगरानीमा राख्दै आएको छ ।

तपाईको प्रतिक्रिया