बुधबार, जेठ ०२, २०८१
Wednesday, May 15, 2024

टोकियो – जापानको माछा मार्केटमा एउटै माछाको ३३ करोड ३६ लाख येनमा खरिद विक्रि भई नयाँ रेकर्ड कायम भएको छ । यस अघि सन २०१३ मा एउटा माछाको १५ करोड ५० लाखमा किनवेच भएको थियो ।

विश्वप्रसिद्ध माछा बजार चुकुजीबाट गत अक्टुबरमा सरेको तोयोसु फिस मार्केटमा शनिवार बिहानै एउटै माछाको उक्त मूल्यमा खरिद विक्रि भएको हो । टोकियोमा नयाँ वर्षको अवसरमा हरेक वर्ष माछा मेला प्रदर्शनी हुने गर्दछ । सो अवसरमा २ सय ७८ किलो वजन भएको मागुरो जातको उक्त माछाको सुशी ब्यापारी कियोशी किमुराले लिलाम बढाबढ्मा किनेका हुन् ।

लिलाम बढाबढ्मा मागुरो खरिदपछि किमुराले भने – मैलै असल मागुरो किनेको छु, सोचेको भन्दा महंगो पर्न गए पनि मेरा ग्राहकले यो असल मागुरो अवश्य मन पराउने छन् ।

सन् १९३५ देखि होलसेल तथा फुटकर माछा बजारकारुपमा विश्वप्रसिद्ध चुकुजीको माछा बजार ८३ वर्ष पछि गत अक्टुवरमा तोयोसुमा सारिएको थियो ।

नयाँ ठाउँमा सरेको पहिलो नयाँ वर्षमै नयाँ रेकर्ड राख्न सफल भएकोमा उक्त माछा बजारका कार्यकारी प्रमुख योसिहिको ओताकीले खुशी ब्यक्त गरे ।

टोकियो महानगरपालिकाकी गभर्नर युरिको कोइकेले नयाँ ठाउँमा स्थानान्तरण गरिएको माछा बजारबाट विगतमा झैं अब पनि जापानी जनताले अधिक सेवा लिन सक्नेमा आफु विश्वस्त भएको बताईन् । स्थानीय जनता र सरकारी निकाय बीचको विवाद तथा लामो रस्साकस्सीका बाबजुद चुकुजीबाट तोयोसीमा माछा बजार स्थानान्तरण गरिएको थियो ।

क्योदो न्यूजका अनुसार चुकुजी माछा बजारमा सेवाग्राहीको बढ्दो चाप अनुसार आवश्यक ब्यवस्थापकीय सुधार गर्न समस्या देखिएकोले अन्यत्र सार्नुपरेको अधिकारीहरुले बताउँदै आईरहेका छन् । पुरानो बस्ती भएकोले चुकुजीमा आधुनिकीकरण एवं बिस्तार गर्न स्थानको अभाव, अग्निनियन्त्रण, हाइजिन लगायतका दृष्टिले थप सेवा, सुविधा बढाउन नसकिने भएकोले स्थानीय सरकारको पहलमा त्यहाँको माछा बजार तोयोसुमा सारिएको हो । तोयोसुको माछा बजार चुकुजीको भन्दा दोब्बर फराकिलो, आधुनिक र सुविधाजनक भएको अधिकारीहरुको दावी छ ।***

तपाईको प्रतिक्रिया