सोमबार, बैशाख १७, २०८१
Monday, April 29, 2024

टोकियो – जापानमा अंग्रेजी नयाँ वर्षको चहलपहल सुरु भईसकेको छ । नेपाली समुदायबीच विभिन्न साँगीतिक तथा भेटघाट कार्यक्रमहरु आयोजित छन् ।  नयाँ वर्षको बेलामा जापानमा लामो विदा हुने भएकोले यतिखेर कार्यक्रम आयोजनाका लागि उपयुक्त समय मानिन्छ ।

डिसेम्वर ३० तारिख आइतवार साँझ स्थानीय कलाकारहरुको प्रस्तुती रहेको एक साँगीतिक कार्यक्रम हुने भएको छ । शिनओकुबोस्थित टोकियो रोधीघरमा हुने सो कार्यक्रममा सरला राई, अनु मगर, प्रस्वती तामाङ, एलबी थोकर लगायतका कलाकारहरुले प्रस्तुती दिने भएका छन् । सो कार्यक्रम साउण्ड इभेन्ट इन्टर्टेन्टमेन्ट र टोकियो रोधीघरको संयुक्त आयोजनामा हुने बताईएको छ । यसैगरी डिसेम्वरको ३१ तारिखका साँझ दर्शन समाज जापानले एक भेटघाटसहित नयाँ वर्ष शुभकामना आदान प्रदानसहितको काउन्ट डाउन पार्टीको आयोजना गरेको छ । कार्यक्रम टोकियो शिन-ओकुबोस्थित मो मो भोजनालयमा हुने सो संस्थाका अध्यक्ष भरत मल्लले बताउनुभयो । सोही साँझ टोकियो रोधीघरमा पनि बृहत काउन्ट डाउन पार्टी हुने बताईएको छ ।

उता हरेक वर्ष नयाँ वर्षमा नेपालका चर्चाको शिखरमा रहेका कलाकार आमन्त्रण गरी विभिन्न सहरमा साँगीतिक कार्यक्रम गर्दै आएको गल्कोट समाज जापानले यसपाली राजधानी टोकियो लगायत चारवटा सहरमा कार्यक्रम गर्ने भएको छ । जसअनुसार डिसेम्वर ३० मा शिजुओका, डिसेम्वर ३१ मा ओसाका, जनवरी १ मा नागोया र जनवरी २ मा टोकियोमा नयाँ वर्ष साँगीतिक कार्यक्रम गर्ने भएको छ । कार्यक्रमका लागि कलाकारहरु विष्णु खत्री, प्रमोद खरेल, जितु नेपाल र जुना श्रीष नेपालबाट प्रस्थान गरिसकेको आयोजकले जनाएका छन् । गल्कोटमा आँखा अस्पताल भवन निर्माण तथा शैक्षिक जागरण अभियान सम्पन्न गर्ने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरिएको बताईएको छ ।
यसैगरी राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको जापान शाखाले प्रवासी कलाकार संघ जापानको सहकार्यमा यही डिसेम्वर ३० तारिख फुकुओकामा र ३१ तारिख नागोयामा साँगीतिक कार्यक्रम आयोजना गरेको छ । कार्यक्रमका लागि वरिष्ठ लोक तथा दोहोरी गायक नारायण रायमाझी र शान्तिश्री परियार नेपालबाट प्रस्थान गरिसकेका छन् । प्रतिष्ठानको केन्द्रिय कार्यालय भवन निर्माणमा सहयोग गर्ने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरिएको जापान शाखाका अध्यक्ष युवराज आचार्यले बताउनुभयो । यसैगरी नेपाल मगर संघ जापानले हरेक वर्ष जनवरी १ का दिन गर्दै आएको लाङ्घाली साँझ कार्यक्रम यसपटक पनि सोही दिन स्थानीय कलाकारहरुको साँगीतिक प्रस्तुतीसहित २३ औं लाङ्घाली साँझको आयोजना गरेको छ । संघको कान्तो क्षेत्रीय कमिटीको आयोजनामा हुन गईरहेको सो कार्यक्रम टोकियो रोधीघरमा हुने कान्तो अध्यक्ष रित राना मगरले जानकारी दिनुभयो ।

जनवरी १ नयाँ वर्षकै दिनमा वामी सेवा समिति जापानले छैठौं अधिवेशन टोकियो रोधीघरमा सम्पन्न गर्न गईरहेको छ । सो समाजले हरेक वर्ष जनवरी १ का दिन आफ्नो साधारण सभा तथा अधिवेशन गर्दै आईरहेको छ ।

यसैगरी यसपालीको नयाँ वर्षमा जापानका प्रमुख तीन सहरमा नेपाल आइडल सिजन टु लाइभ कन्सर्ट हुने भएको छ । कार्यक्रमका लागि नेपाल आइडल रवि ओड सहित विक्रम बराल, अमित बराल, सुमित पाठक र अस्मिता अधिकारी जापान आउने भएका छन् । साथमा उदघोषिका रिमा विश्वकर्मा र गायिका तथा नृत्याङ्गना आलिसा राई पनि जापान आउने भएका छन् । रेस्पेक्ट एण्ड राइज कम्पनीको आयोजनामा हुने सो कार्यक्रम जनवरी २ तारिख फुकुओका, जनवरी ४ मा नागोया र जनवरी ५ मा टोकियोको नेरिमा कल्चर सेन्टरमा हुने सो कम्पनीका कार्यकारी प्रमुख राजीव श्रेष्ठले बताउनुभयो । महिला हिंसा रोकथामका लागि कार्य गर्दै आईरहेको माइती नेपालको सहयोगार्थ उक्त कार्यक्रम आयोजना गरिएको बताईएको छ ।यसैगरी जनवरी ६ आइतवारका दिन एनआरएन जापानको आठौं अधिवेशन हुने भएको छ । टोकियो नाकानोस्थित नाकानो जिरो हलमा हुने सो साधारण सभाको सबै तैयारी पुरा भएको बताईएको छ । सोही साँझ आँपचौर सेवा समिति जापान र सेभ द चिल्ड्रेनको आयोजनामा सोही हलमा नयाँ वर्ष विशेष साँगीतिक कार्यक्रम हुने भएको छ । कार्यक्रमका लागि नायक राजेश हमाल, गायिका प्रीति आले, गायकहरु हेमन्त शर्मा र हेमन्त राना जापान आउने भएका छन् । उनीहरुलाई जापानमै रहेका गायक सूर्य खड्काले साथ दिने भएका छन् । सेभ द चिल्ड्रेन र एनआरएन जापानको राहत कोष सहयोगार्थ उक्त कार्यक्रमको आयोजना गरिएको आयोजक संस्थाका अध्यक्ष महेन्द्रकुमार अधिकारीले बताउनुभयो ।
राजेश हमाल, हेमन्त शर्मा र प्रीति आलेको प्रस्तुती रहने सोही कार्यक्रम अघिल्लो दिन अर्थात जनवरी ५ मा गुन्माकेनको ओइजुमी कुमिनकानमा हुने भएको छ । नेपाली साझा समाज जापानको आयोजनामा हुने सो कार्यक्रमको सबै तैयारी पुरा भईसकेको अध्यक्ष बुद्धि शेरचनले बताउनुभयो ।

नयाँ वर्षको विदाको उपयोग गर्दै नेपालीहरु सपरिवार तथा साथीभाइ मिलेर विभिन्न रमणीय ठाउँहरुमा घुम्न जाने, साथीभाइ तथा इष्टमित्र भेटघाट गरी रमाईलो गरी नयाँ वर्ष मनाउने, रुचीअनुसार रमाईला कार्यक्रमहरुमा सहभागी हुने, घरमै आराम गरी बस्ने गर्दछन् । नयाँ वर्षको अघिल्लो साँझ भने आ-आफ्नो पायक पर्ने ठाउँमा भेला भई काउन्ट डाउन पार्टी गरी पुरानो वर्षलाई विदाइ गर्ने र नयाँ वर्षलाई स्वागत गरी नयाँ वर्ष बनाउने प्रचलन नेपालीहरुबीच पुरानो भईसकेको छ । नयाँ वर्षको अघिल्लो साँझ टोकियोका प्रिमियर रुटमा चल्ने जेआर ट्रेन लाईनहरु रातभरि चल्ने भएकाले पनि कार्यक्रमहरुमा सहभागी हुनका लागि सहज हुने गर्दछ ।

जापानका सरकारी कार्यालय तथा कम्पनीहरु प्रायः डिसेम्वर ३० देखि जनवरी ३ सम्म विदा हुने भएकोले पनि उक्त विदाको उपयोग गर्दै जापानीहरु विदेश घुम्न जाने, आफ्नो पुर्ख्यौली थातथलो पुगी मान्यजनहरुलाई भेटी सम्बन्धको नविकरण गर्ने सँस्कार छ । जापानीहरुको नयाँ वर्षको शुभकामना कार्ड पठाउने प्रचलन बडो रोचक छ । जापानीहरुले आफ्ना शुभेच्छुक, बिजनेश कष्टमर, साथीभाइ तथा मान्यजनहरुलाई जनवरी १ कै दिन पुग्ने गरी शुभकामनाको पोष्ट कार्ड (नेन्गाजो) हुलाकमार्फत पठाउने चलन छ । उनीहरु महिनौ अगाडिदेखि यसको तैयारी गर्ने गर्दछन् । ठूला कम्पनीले त हजारौंका संख्यामा यस्ता कार्ड छपाएर पठाउनका लागि आफ्ना कर्मचारी परिचालन गर्ने गर्दछन् ।

यो समयमा जापानीहरुको जमिनमुनी उत्पादन हुने तरुल, पिडालु, आलु, सख्खरखण्ड, कमलको जरा (रेन्कोन) गोबो जस्ता खाद्यपदार्थ र कोन्याकु, चामलको पीठोबाट बन्ने मोची (राइस केक) खाने प्रचलन छ । फ्रिजमा नराखे पनि नबिग्रने यस्ता परिकारहरु दुई तीन दिनलाई पुग्ने गरी एकैचोटी बनाई परिवार जम्मा भई खाने, रमाईलो गर्ने जापानी चलन छ । यसका साथै सुशी, सासीमी जस्ता परिकार पनि नयाँ वर्षमा विशेष परिकारकारुपमा जापानीहरु लिने गर्दछन् । नयाँ वर्षको बेला जापानीहरु आफ्ना दिवंगत मान्यजनको समाधिस्थल पुगी सरसफाई गर्ने, नयाँ वर्षजन्य विशेष परिकारहरुका साथै फलफूल तथा अन्य विशेष परिकार चढाउने गर्दछन् । समाधिस्थललाई जापानीहरु पवित्र स्थलकारुपमा लिने गर्दछन् । नयाँ वर्षको अवसरमा जापानीहरु आफुभन्दा जुनियर अर्थात केटाकेटीहरुलाई विशेषप्रकारको खाममा राखेर दक्षिणा (ओतोसी दामा) दिने चलन छ ।सबैभन्दा महत्वका साथ जापानीहरु नयाँ वर्ष आउनु महिनौ पहिलेदेखि आफ्ना घर, कोठा, कम्पनीका अफिस सरसफाई गर्ने, सामानहरु मिलाउने, अनावश्यक सामानहरु फ्यांक्ने जस्ता कार्य गर्न ब्यस्त हुन्छन् । आफै नभ्याउने वा धनाढ्य परिवार तथा ठूला घरानाका कम्पनीहरुले सरसफाईका लागि छुट्टै क्लिनिङ कम्पनीहरुलाई यस्तो कामको जिम्मा लगाउने गर्दछन् ।

नयाँ वर्षको बेला २४ सै घण्टा खुल्ने कन्भिनियन्स स्टोर बाहेक, सपिङ सेन्टर, सुपर मार्केट, सरकारी कार्यालयका साथै बैंकिङ कारोवार, एटिएम, सार्बजनिक स्नानगृह (ओफुरो, ओनसेन) सबै बन्द हुने भएकोले डिसेम्वरको अन्तिम सातादेखि नै बिदाभरिलाई पुग्ने खाद्यान्न, सागपात, माछा मासु र अन्य सामानको जोहो गरी बस्ने जापानी चलन छ । जापानीहरुले नयाँ वर्षलाई ओसो गात्सु भन्दछन् । नयाँ वर्षको पहिलो र नयाँ एवं शुभ महिना भन्ने अर्थ लाग्ने यस समयमा उनीहरु सके जनवरी १ कै दिन नभए १, २ पछिसम्म मात्र नयाँ वर्षको शुभकामना आदानप्रदान गर्ने चलन छ । नेपालीहरु जस्तो हप्तौ पहिलेदेखि अग्रिम र हप्तौ पछिसम्म शुभकामना दिने चलन जापानमा छैन । पुरानो वर्षको अन्ततिर आईपुग्दा जापानमा आफ्ना कम्पनीका सबै स्टाफ जम्मा भई वर्षान्त पार्टी (बोनेन-खाइ) र नयाँ वर्ष लागिसकेपछि नयाँवर्ष शुभारम्भ पार्टी (शिननेन-खाई) गर्ने चलन छ । उक्त पार्टीमा कम्पनीका वर्षभरिका कामकार्वाही, कार्यसम्पादन, कार्यप्रगती, स्टाफको मुल्याङ्कन लगायतका बिषयमा समीक्षा गर्ने र आउने वर्षको कार्ययोजनाका बारेमा छलफल गर्ने चलन छ । काम छोड्ने ईच्छा भएका स्टाफहरुले यसै समयमा कम्पनी छोड्ने घोषणा गर्दछन् भने नयाँ स्टाफको भर्ना गर्नुपर्ने भएमा नयाँ वर्षदेखि राख्ने चलन पनि छ ।

शैक्षिक वर्ष र आर्थिक वर्ष जापानमा अप्रिल १ देखि सुरु हुने भएपनि क्यालेण्डरअनुसार जनवरी १ देखि नै नयाँ वर्ष सुरु हुन्छ । वर्षको अन्तमा छुटि्टने बेलामा जापानीहरु इ ओतोसीओ (वर्षान्त सुखद रहोस्), राइनेन मो योरोसिकु ओनेगाईसिमास (अर्को साल पनि सहयोग, सद्भाव र सदशयता कायम रहोस भन्ने हार्दिक अनुरोध छ) भन्दै बिदाबादी हुने गर्दछन् तर नयाँ वर्ष लाग्नु अगावै नयाँ वर्षको अग्रिम शुभकामना दिने चलन जापानमा छैन ।
त्यसैलै सबैमा योई ओतोसी ओ, राइनेनन मो योरोसिकु ओनेगाई सिमास

 

तपाईको प्रतिक्रिया