सोमबार, बैशाख १७, २०८१
Monday, April 29, 2024

काठमाडौं – जापानी विदेश मन्त्री तारो कोनो २ दिने भ्रमणमा लागि नेपाल आउनु हुने भएकाे छ । परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीको निमन्त्रणामा कोनोले पुस २५ देखि २६ गतेसम्म नेपालको भ्रमण गर्नुहुने भएकाे हाे ।

नेपाली कामदारलाई जापानको श्रम बजार खुला गरेको केही साता नबित्दै विदेश नेपालको औपचारिक भ्रमणमा आउँदै हुनुहुन्छ । भ्रमणका बेला नेपाल-जापान द्विपक्षीय सम्बन्धका सबै आयामहरु र विशेषगरी नेपाली कामदारलाई जापान लैजाने प्रक्रियाका विषयमा छलफल गरिने छ । जापानको मन्त्रिपरिषदले मंगलबार नेपालसहित ९ वटा राष्ट्रबाट कामदार लैजान नयाँ नियमावली पास गरेको थियो ।

सोहीअनुसार जापानका विदेश मन्त्री नेपाली कामदारलाई कसरी जापान लैजाने भन्ने प्रक्रियाका सम्बन्धमा छलफल गर्न नेपाल आउन लाग्नु भएकाे बताइएकाे छ । परराष्ट्र मन्त्रालयका अनुसार नेपाल भ्रमणका क्रममा कोनोले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गर्नुहुनेछ भने परराष्ट्र मन्त्री ज्ञवालीसँग प्रतिनिधि मण्डलस्तरीय वार्ता गर्ने कार्यक्रम छ ।

भेटपछि दुबै देशका परराष्ट्र मन्त्रीले संयुक्त पत्रकार सम्मेलन गर्ने कार्यकम रहेकाे पनि परराष्ट्र मन्त्रालयले जनाएको छ । यसअघि मन्त्री ज्ञवालीले मंसिर १-५ सम्म जापान भ्रमण गर्नुभएकाे थियाे ।

तपाईको प्रतिक्रिया