सोमबार, बैशाख १७, २०८१
Monday, April 29, 2024

टोकियो – ’आफ्नै मन घाइते बनाउँछु, ए, मायालु मैलै तिम्लाई कति मन पराउँछु भन्नै डराउँछु’ यस गीतका गायक, सर्जक हुन युवराज आचार्य । लोकभाकामा आधारित दोहोरी गीत मन पराउनेहरुको जनजिब्रोमा झुण्डिएको सदाबहार गीत हो यो, जति पुरानो हुँदै छ, त्यति महत्व बढ्दै छ यस गीतको । यस गीतमा विष्णु माझी र आचार्यले स्वर भरेका छन् । उत्कृष्ट लय र माया प्रीतिको कलात्मक शब्दजालमा उनिएको यस गीत करीव एकदशक अघि बजारमा आएको थियो ।
जापानको ब्यस्तताको बिचमा पनि गीत-संगीतको क्षेत्रमा अनवरत लागिपर्दै आएका उनै लोकप्रिय गायक आचार्यले हालै दोहोरीगीत ’नौटंकी’ को म्युजिक भिडियो बजारमा ल्याएका छन् ।
गायक आचार्यको आफ्नै लय र शब्द संयोजन रहेको नौटंकीमा उनलाई गायिका पूर्णकला बिसीले साथ दिएकी छिन् । आर अडियो म्युजिक इन्डष्ट्रिजले बजारमा ल्याएको ’नौटंकी’ मा कृष्ण विकको संगीत संयोजन रहेको छ । यसमा नरेशविर सिंह र अञ्जली अधिकारीको फिचरिङ देख्न सकिन्छ ।
गीतले मायाको नाममा देखावटी नाटक मञ्चन गरेर रमाईलोका लागि मात्र जीवनलाई खेलबाड गर्न नहुने सन्देश दिन खोजिएको गायक आचार्यले बताए । यदि कुलघरान र खानदानकी छोरा या छोरी हो भने पवित्र मायाको मर्यादाभित्र रहेर साँचो माया गर्नुपर्छ हैन भने कसैलाई फसाउनका लागि मात्र देखावटी मायाको अभिनय गर्न नहुने गीतको केन्द्रिय भाव रहेको उनले बताए ।

दोहोरीमा सवाल यसरी उठाईएको छ –
बिश्वासको ठाउँ रहेन केहीमा नि,
अन्तर्घाती नौटंकी बेइमानी,
कालो कोथी ओंठमुनि कल्लाई फसाउन
खानदानकि छोरी भए दिलमा बसाउन, नत्र नौटंकी चाँहिदैन शत्रु हसाउँन

जबाफी फायरिङमा भनिएको छ –
खेलबाड मेरै जिन्दगीभित्र,
देखाईहाल्यौ असली चरित्र
कालो चश्मा शिरमाथि कल्लाई फसाउन
खानदानको छोरो भए दिलमा बसाउन, नत्र नौटंकी चाँहिदैन शत्रु हसाउँन
https://www.youtube.com/watch?v=N9wJQD0Kork

गायक आचार्यले विदेशी माटो टेकेपछिको चोथौ सिर्जना हो ’नौटंकी’ । झ्याप्पै बत्ति, नौलो माया, दुई मुटु छुट्टिने बेला यसअघि उनले जापानबाटै सिर्जना गरेका गीतहरु हुन् । लगत्तै उनको पञ्चबाजा ’जन्ती’ आउने तयारीमा रहेको उनले बताए । बिलकुल फरक धारको पञ्चैबाजा ’जन्ती’ मा उनलाई गायिका शान्ति परियारले साथ दिएको उनले जानकारी गराए ।

रोजगारीका क्रममा विगत सात वर्षदेखि जापानमा संघर्षरत आचार्य लाइभ दोहोरीमा बिशेष दखल राख्ने गायक मानिन्छन् । उत्कृष्ट शब्द चयन र संयोजनमा हदैसम्मको मिठास भरेर चोटिलो प्रहार गर्न उनी माहिर छन् । विदेशबाट गीत संगीतलाई निरन्तरता दिन त्यति सहज छैन, ब्यस्तताका कारण स्वदेशमा जस्तो फ्रेश मुड बनाएर पुरा तयारीका साथ लाग्न नसकिने अवस्था एकातिर छ, अर्कोतिर रेकर्डिङ, संगीत संयोजन, एरेञ्ज, भिज्युयलका बिषय फोनको भरमा विदेशबाटै तारतम्य मिलाउन र समन्वय गर्न ज्यादै गाह्रो छ, खर्चिलो प्रविधि आफ्नो ठाउँमा छँदै छ ।’ – उनले आफ्नो अनुभव सुनाए ।

’एउटा सिर्जना तयार हुन लय, शब्द, आवाज, संगीत र भिज्युअल बिचको उत्कृष्ट संयोजन हुनु आवश्यक छ’ – उनले भने – ’यिनीहरुबिच तालमेल नमिल्दा गीत गीत जस्तो बन्न सक्दैन ।’
उनी भन्छन् – ’स्रोता-दर्शकको सुन्ने कान र हेर्ने आँखा हुँदैं हृदयमा ठाउँ लिन सकेमा मात्र गीतले जीवन पाउँछ, न्याय पाउँछ । मौलिकता हराउँदै गएको सामाजिक परिवेश र साँगीतिक बजारमा अहिले दुईखाले धार विद्यमान छन् । एकथरिहरु गीतको अन्तर्वस्तुमा खासै गुदी नभए पनि चमकदार टाइटल दिएर सक्दो मिडियामा छाउने र जबरजस्ती हेर्न र सुन्न बाध्य पारी चर्चा, भ्युअर्स बटुल्ने र आम्दानीको पछि लाग्ने छन् भने अर्कोथरि चर्चा, लोकप्रियता र भ्युअर्सको पछि लाग्दैनन् तर हृदयमा ठोक्किन पुग्ने, सबैले गुनगुनाउने खालको संख्यामा थोरै भए पनि गुणस्तरिय र कालजयी गीत उत्पादनतिर तल्लिन देखिन्छन् ।

बागलुङ बाटाकाचौरका आचार्य स्कुले जीवनदेखि नै गायनमा बिशेष रुची राख्थे । २०५६ देखि सुरु भएको उनको साँगीतिक यात्रा स्कुलको साप्ताहिक कार्यक्रम, दोहोरीगीत प्रतियोगिता, स्थानीय जात्रामात्रा, मेला, महोत्सव हुँदै राजधानीको दोहोरी साँझ, रेकर्डिङ स्टुडियोसम्म र त्यसपछि समुद्रपारको मुलुक जापानसम्म आईपुगेको देखिन्छ । विदेश आएर पनि उनी संगीतको दुनियाँभन्दा अलग बस्न सकेनन् । सोहीअनुसार समयले भ्याएसम्म विभिन्न साँगीतिक कार्यक्रमहरुमा सहभागी हुनुका साथै साँगीतिक साधनामा लागिपर्दै आईरहेका छन् ।
लोक दोहोरी, द्वैध लोकगीत, देशभक्ति गीत र जनताका गीत जस्ता विधा गरी १ सय ५० भन्दा बढि गीतमा उनले स्वर दिएका छन् भने उनका करीव दुई दर्जन जति आफ्नै एल्बम प्रकाशित छन् ।

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान जापान शाखाका अध्यक्ष समेत रहेका आचार्यले बिदेशमा रहेर पनि हाम्रा मौलिक कला, सँस्कृति, लोक दोहोरीगीत तथा संगीतको संरक्षण एवं संबर्द्धन गर्न र यस संग सम्बन्धित कलाकर्मीहरुको हितका लागि प्रतिष्ठानको जापान शाखा स्थापना गरिएको बताए । स्थापनाको पहिलो वर्ष भएकोले शाखालाई संस्थागत गर्न र आधारभूत संरचनाको बिस्तार गर्नमा जोड दिदैं आएको बताउँदै उनले प्रतिष्ठानको केन्द्रिय भवन निर्माणका लागि सक्दो सघाउने योजना रहेको बताए । जसअनुसार आउँदो अँग्रेजी नयाँ वर्षमा फुकुओकामा वरिष्ठ सर्जक, गायक नारायण रायमाझी र शान्ति परियारको बिशेष प्रस्तुती रहने एक साँगीतिक कार्यक्रमको आयोजना गरिएको उनले जानकारी दिए । लगत्तै २ महिनापछि एक बृहत साँगीतिक कार्यक्रम सहित संस्थाको वार्षिक साधारण सभा आयोजना गरिने योजना तय गरिएको उनले बताए । – प्रस्तुती तिलक मल्ल
(कुराकानीमा आधारित)

तपाईको प्रतिक्रिया