बिहिबार, बैशाख २७, २०८१
Thursday, May 9, 2024

टोकियो – नेपाली ब्यवसायी संघ (NBA) जापानले शनिवार एक भेटघाट कार्यक्रम गरी नेपाली ब्यवसायीहरुवीच विद्यमान समस्या, ब्यवसायिक प्रवर्धनका लागि चालिनुपर्ने आगामी कदमहरुका बारेमा गम्भीर छलफल गरेको छ ।

कार्यक्रममा नेपाली ब्यवसायीहरुले भोग्नुपरेका समस्यालाई न्युनिकरण गर्न र ब्यवसायिक हितका लागि तत्सम्बन्धि नियमित कार्यक्रमहरु गर्दै जानुपर्नेमा जोड दिईएको थियो ।
अध्यक्ष बिजय थकालीको सभापतित्वमा भएको सो कार्यक्रममा बोल्ने वक्ताहरुले नेपाली ब्यवसायीहरुको अभिलेखीकरण गरी संघमा आबद्ध हुन आह्वान गरिनुपर्ने, नेपाली खानाको प्रचारप्रसार गरी ब्यवसायिक प्रबर्द्धन हुने खालका कार्यक्रमहरु गरिनुपर्नेमा जोड दिइएको थियो ।  ब्यवसायी संघले निकट भविष्यमै ब्यवसायीहरुका लागि महत्वपूर्ण जानकारी प्रवाह गर्ने उद्देश्यले ट्याक्स सम्बन्धि, बैंकिङ कारोबारमा सहजीकरण सम्बन्धि, भिसा तथा अध्यागमन सम्बन्धि, जापानमा सामाजिक विमा सम्बन्धि सेमिनार आयोजना गरिने अध्यक्ष थकालीले जानकारी दिनुभयो । सम्बन्धित बिषयका विज्ञहरुलाई आमन्त्रण गरी उक्त सेमिनार कार्यक्रमको आयोजना गरिने तैयारी भईरहेको उहाँले जानकारी दिनुभयो ।

महासचिव पुष्करजंग थापाले सहजीकरण गर्नुभएको सो कार्यक्रममा कोषाध्यक्ष नरबहादुर थापाले स्वागत मन्तब्य राख्नुभएको थियो ।

यसअघि ब्यवसायी संघ र शिनओकुबो स्योतेनगाई कुमिआई (शिनओकुबो वाणिज्य प्रवर्द्धन संघ) का पदाधिकारी बिच भेटवार्ता तथा समसामयिक बिषयमा छलफल भएको थियो ।

उक्त संघका तर्फबाट अध्यक्ष सेत्सुको इतो, महासचिव खाजुयोसी ताकेदा, सदस्यहरु सोनोसुके ओहासी, ओकी शिन लगायतका जापानीहरुको सहभागिता रहेको थियो । उक्त अवसरमा दुई संस्थाबिच आपसी सहकार्य गरेर जाने बिषयमा समझदारी भएको छ । सो अवसरमा नेपाली पक्षले यस क्षेत्रमा अत्यधिक भिडका कारण फुठपाथको आवागमनमा असुबिधा उत्पन्न भएको, बैंकिङ कारोबारका लागि नजिकमा बैंक सुबिधा नभएको, एटिएम काउन्टरको पनि पर्याप्त सुबिधा नभएको जस्ता बिषयमा सम्बन्धित निकायको ध्यानाकर्षण गराईदिन आग्रह गरेका थिए भने जापानी पक्षले यस क्षेत्र लगायत समग्रमा जापानमा बढ्दोक्रममा रहेका नेपालीहरुसंग पारस्परिक सम्बन्धलाई थप सुदृढ गर्दै आपसी सहयोग आदानप्रदान गर्दै जाने दिशामा आफुहरु उत्साहित रहेको बताएका थिए ।   स्थानीय निकायहरुद्वारा विदेशीहरुलाई गरिने महत्वपूर्ण पत्राचारमा जापानी भाषा पहिलो समस्या बन्ने गरेको बिषयलाई जोड दिदैं नेपाली पक्षले संभव भएसम्म अंग्रेजीमा पनि पत्राचारको ब्यवस्था हुन सकेमा अर्थात क्युआर कोडको ब्यवस्था हुन सकेमा समस्या न्युनिकरण हुन सक्नेमा जापानी पक्षको ध्यानाकर्षण गराएका थिए ।
आगामी दिनहरुमा हुने सबै खाले कार्यक्रमहरुमा सहभागिता आदान प्रदान गर्दै जाने र जापानी समुदाय र नेपाली समुदायबीचको अन्तरसंवाद र अन्तरसम्बन्धलाई थप मजबुत गराउँदै लैजाने बिषयमा पनि दुई पक्षबीच समझदारी भएको महासचिव थापाले जानकारी दिनुभयो ।

नेपालीहरुको जापान बसाईलाई सहज बनाउन, उनीहरुका समस्यालाई न्युनिकरण गर्न र ब्यवसायिक प्रवर्धनका लागि आफुहरुबाट यथासंभव सहयोग र सहकार्य रहने जापानी पक्षको तर्फबाट महासचिव ताकेदाले बताउनुभयो ।

सो अवसरमा जापान र नेपालबीच रहेको सुमधुर सम्बन्धलाई जनस्तरसम्म बिस्तार गर्ने कार्यलाई नेपाली ब्यवसायी संघले उच्च प्राथमिकतामा राखेको संघका सदस्य ब्यवसायी महेशकुमार श्रेष्ठले बताउनुभयो ।

ब्यवसायी संघलाई जापानको नियम कानुन अनुसार यथाशिघ्र सम्बन्धित निकायमा दर्ता गरी ब्यवसायीहरुको हक, हित, सेवा र सुबिधालाई केन्द्रमा राखी फरक ढंगले कार्यसम्पादन गर्दै जाने नीति लिईएको संघका वरिष्ठ उपाध्यक्ष ददिवल खड्काले बताउनुभयो ।

सो अवसरमा पत्रकार ऋतुकुमार दुराले जापानी समुदाय र नेपाली लगायत विदेशी समुदायबीच विभिन्न समयमा नियमित हुँदै आएको सर्बपक्षिय बैठकहरुबाट पुलको रुपमा आधारशिला तयार भईसकेकोले ब्यवसायी संघलाई काम गर्न सहज हुने विचार ब्यक्त गर्नुभयो ।

संघले नेपाली ब्यवसायीहरुलाई प्रोत्साहित गर्न निकट भविष्यमा नेपाली फुड फेयरको आयोजना गरी उत्कृष्टलाई पुरस्कृत गर्दै जाने योजना रहेको अर्का सदस्य ब्यवसायी ओम गुरुङले बताउनुभयो ।  कार्यक्रममा एनआरएन जापानका अध्यक्ष तासी वाङदी लामा, पत्रकार महासंघ जापान शाखाका अध्यक्ष मोहन घले, आध्यात्मिक केन्द्र जापानका अध्यक्ष कपिलदेव थापा लगायतका ब्यक्तिहरुको बिशेष उपस्थिति रहेको थियो ।***

तपाईको प्रतिक्रिया