बिहिबार, बैशाख २७, २०८१
Thursday, May 9, 2024

टोकियो – प्रतिपक्षको बिरोधका बावजुद पनि सत्तामा रहेका पार्टीको बहुमतबाट विदेशी कामदार जापान भित्र्याउने सम्बन्धि बिधेयक जापानको तल्लो सदनबाट पारित भएको छ ।

थप दुई प्रकारका नयाँ भिसा स्टाटसहरुको सिर्जना गरी आवश्यक विदेशी कामदार भित्र्याउन जापान सरकारले गृहकाय गर्दै आईरहेको छ । जसअनुसार सत्तामा रहेका लिबरल डेमोक्र्याटिक पार्टी (एलडिपी) र कोमेइतोको यो नीतिको विपक्षमा रहेका डेमोक्र्याटिक पार्टी अफ जापान (डिपिजे) लगायतका साना दलहरुले भने बिरोध गर्दै आईरहेका थिए । सोहीअनुरुप मंगलबार संसदमा बिरोधका बावजुद बहुमतमा रहेका सत्तापक्षको मतदानबाट उक्त बिधेयक पारित भएको हो ।

प्रधानमन्त्री सिन्जो आबे बिहीबार जि-२० को शिखर बैठकमा भाग लिन अर्जेन्टिना प्रस्थान गर्ने कार्यक्रम रहेकोले त्यसअघि उत्त बिधेयकलाई बुधबार उपल्लो सदनबाट पारित गर्ने कार्यक्रम रहेको छ । त्यसपछि तत्सम्बन्धि नियम, कानुनहरु निर्माण गरी आगामी वर्षको अप्रिलदेखि थप गरिने दुई प्रकारका नयाँ क्याटगोरीका भिसामा विदेशी कामदार जापान भित्र्याईने जापान सरकारको तयारी छ । विभिन्न १४ वटा क्षेत्रमा काम गर्ने गरी दुई प्रकारका नयाँ भिसा स्टाटस थप गर्न लागिएको र जसअनुसार पहिलो क्याटगोरीका कामदारलाई विशेष खालको सीप सिकाई ५ वर्ष सम्मका लागि काम लगाईने छ, त्यसपछि अर्को ५ वर्ष थप गरी १० बर्षसम्म काम गर्न पाउने ब्यवस्था गरिने सरकारी योजना छ । यो स्टाटसमा आउने कामदारहरुले आफ्नो परिवार भने ल्याउन नपाउने भएका छन् । जापानी कानुन ब्यवसायीहरुको संगठन जापान बार एसोसियशनले भने परिवार ल्याउन पाउने ब्यवस्था गर्न सरकारलाई यस बिषयमा पुनविर्चार गर्न आग्रह गरेको छ ।

दोस्रो प्रकारको भिसा स्टाटस भने उच्च सीपयुक्त दक्ष जनशक्तिलाई राखिने बताईएको छ । यस क्याटगोरीका विदेशी कामदारलाई भिसा थपिरहन झन्झट नहुने गरी संभव भएसम्म स्थायी आवासीय भिसा सरहको सुबिधामा भित्र्याईने सरकारी योजना छ ।

जापान सरकारको यस योजना अनुसार कार्यान्वयन भएमा आगामी वर्ष २०१९ मा मात्र जापानले ४७ हजार ५ सय ५० विदेशी कामदार भित्र्याउने छ । त्यसमध्यमा आधाभन्दा बढि टेक्निकल इन्टर्नशिप योजनामा आएका पूर्व प्रशिक्षार्थीहरु हुने अपेक्षा गरिएको छ । सरकारी योजना अनुसार आगामी ५ वर्षमा करीव ३ लाख ४५ हजार १ सय ५० जना विदेशी कामदार जापान भित्रिईन सक्ने जापानी सञ्चारमाध्यमहरुले जनाएका छन् । ***

तपाईको प्रतिक्रिया