शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

टोकियो – नारा प्रिफेक्चरको इकोमा सिटीमा एक महिला यात्रुलाई धकेलेर ट्रेनको लिगमा खसालेको आरोपमा २८ वर्षिय युवालाई प्रहरीले पक्राउ गरेको छ ।

बिहीबार अपरान्ह ५ बजेतिर ट्रेनको प्लेटफर्ममा हिडिरहेकी ५३ वर्षिय महिलालाई ती युवाले पछाडिबाट धकेलेर लिगमा खसालेका थिए ।

इकोमा प्रहरी स्रोतका अनुसार ती महिलालाई स्टेशनका कर्मचारीले ट्रेन आउनु अगावै उद्वार गरी बचाउन सफल भएका थिए । यद्यपि उनलाई सामान्य चोटपटक भने लागेको बताईएको छ ।

तोमोयुकी मात्सुओ नाम गरेका बेरोजगार ती युवाले ट्रेन आउने समय हुनै लाग्दा ती महिलालाई दूवै हातले जोडसंग पछाडिबाट धकेलेर ट्रेनको लिगमा खसालेको स्टेशनमा जडित क्यामेराको फुटेजमा देखिएको प्रहरीको भनाई छ । ती महिला प्लेटफर्ममा हिडिरहेको अवस्थामा तोमोयुकीले धकेलेर लिगमा खसालेको र तत्काल स्टेशनका कर्मचारीले इमर्जेन्सी बटन थिचेर आउँदै गरेको ट्रेनलाई केही परै रोक्न सफल भएका थिए ।

प्रहरीको सोधपुछमा ती युवाले ट्रेन आउँदै गरेको थाहा पाएपछि ती महिलालाई धकेलेर खसालेको स्वीकारेका छन् । तर ती महिला को हुन् भन्ने आफुलाई पनि थाहा नभएको उनले बताए । त्यसो गर्नुको कुनै कारण पनि नभएको उनले प्रहरीलाई बताएका छन् । उनलाई कसुर बमोजमको सजायँका लागि प्रहरीले नियन्त्रणमा लिएको छ ।

जापानमा सनकीहरु सनकको भरमा अप्रिय एवं अवाञ्छित क्रियाकलाप गर्ने गरेको घटना समय समयमा समाचार बन्ने गरेको पाईन्छ । केही वर्ष अगाडि ओसाकामा एक जापानीले रातको समयमा नेपालीलाई मरणासन्न हुने गरी साइकलै साइकलले हिर्काएर जीवन बर्बाद पारेका थिए भने शिनओकुबोमा पछाडिबाट आएका भियतनामी युवाहरुको समुहले एक नेपाली युवालाई पछाडिबाट अन्धाधुन्ध फलामको रडले हिर्काएर अपांग तुल्याएका थिए । उपद्रोमा रमाउने स्वभावका सनकीहरुबाट मच्चाउने यदाकदा यस्ता घटनाहरुले आफु मात्र सद्दे भएर अप्रिय घटनाबाट जोगिन नसकिने भएकोले आफै पनि हरदम सचेत र सजग हुनुपर्ने सन्देश दिएको पाईन्छ । रातीको समयमा बिशेष गरी एक्लै हिडडुल नगर्ने, अपरिचितहरुसंग सकेसम्म टाढै रहने, संदिग्ध मनस्थिति, अति उग्र एवं सँधै नेगेटिभ स्वभाव भएका मान्छेहरुबाट जोगिनु नै श्रेयस्कर हुने जानेमानेकाहरु बताउँछन् ।***

तपाईको प्रतिक्रिया