सोमबार, बैशाख १७, २०८१
Monday, April 29, 2024

काठमाडौं – एप्पलले आफ्नो लोकपि्रय म्याकबुक एयर ल्यापटपलाई रिडिजाइन गरी नयाँ भर्सनमा ल्याउने भएको छ । उपभोक्ताको सस्तो मूल्यको ल्यापटपको चाहना पूरा गर्दै एप्पलले तीन वर्षपछि पछिल्लो ‘म्याकबुक एयर’मा महत्वपूर्ण अपडेट गर्न लागेको हो ।

ब्लुमबर्गका अनुसार एप्पलले सेप्टेम्बरमा नयाँ आइफोन सार्वजनिक गर्ने समारोह भन्दा पछि अक्टोबरमा नयाँ ‘म्याकबुक एयर’लाई सार्वजनिक गर्ने छ । पछिल्ला महिनाहरुमा एप्पलको म्याक कम्प्युटरको बिक्रीमा १३ प्रतिशत सम्मले गिरावट आएपछि एप्पलले यस्तो कदम चालेको हो । पछिल्लो तीन महिनामा एप्पलले ३७ लाख मात्रै म्याकबुक बिक्री गरेको थियो, जुन सन् २०१० पछिकै सबैभन्दा थोरै हो ।

एप्पलले २००८ मा पहिलो ‘म्याकबुक एयर’ सार्वजनिक गरेको थियो, जुन त्यतिखेर उपलब्ध अन्य ल्यापटपहरु भन्दा पातलो र हलुका थियो । यसको प्रोसेसर तीब्र गतिमा चल्ने बनाइएको छ । डिजाइन परिवर्तन गरिएको छैन र यसमा अल्ट्रा हाइ डेफिनेसन रेटिना स्क्रिन रहेको छैन, जुन अन्य उत्पादनमा छन् । पछिल्ला समयहरुमा एप्पलले आफ्नो उच्च मूल्यको ‘म्याकबुक प्रो’लाई अझै राम्रो बनाएको छ र नयाँ सानो मोडल ‘म्याकबुक’ पनि ल्याएको छ ।

तर, ‘म्याकबुक एयर’ नै उपभोक्ताहरुबीच लोकप्रिय छ । यसको दुई कारणहरु छन्, पहिलो यो एप्पलको अन्य ल्यापटपभन्दा सस्तो छ र दोस्रो यसमा युएसबी र एसडी कार्ड रिडर पोर्टहरु छन् जुन एप्पलका अन्य मोडेलमा छैनन् । एयर मोडेलको सुरुवाती मूल्य ९४९ पाउण्ड छ, जुन म्याकबुक र म्याकबुक प्रो भन्दा धेरै सस्तो हो । ब्लुमबर्गका अनुसार नयाँ ‘म्याकबुक एयर’मा १३ इन्चको स्कि्रन रहनेछ र यसलाई रेटिना रिजोलुसनमा अपग्रेड गरिने छ ।

यसको डिस्प्ले वरीपरीको किनाराको आकार पनि घटाइने छ । त्यस्तै कम्पनीले म्याक मिनी डेस्कटप कम्प्युटरलाई पनि सन् २०१४ पछि पहिलोपटक अपग्रेड गर्ने भएको छ ।

तपाईको प्रतिक्रिया