सुनिरहन्छु केहि हल्लाहरू
बजिरहे मनमा अशान्तिका ढोलक,
देखें एकाबिहानै एक अखबारमा
ठूला अक्षरहरूका शीर्षक
’एउटा फूलको आत्महत्या’
प्रिय फूल,
हत्या गरेपछि तिमीले सुवास
तिम्रै सुवासमा जीवन खोजिरहने हामी
कहाँ खोजौं आफ्नो ढुकढुकी ।
मुनामदन र गोरेकुञ्जिनी
सुन्दैछु ल्हासा र मलाया गए,
उजाड देखिन्छ पूरा गाउँबस्ती
अड्किएछन पानीका थोपाहरू,
र त बन्द भएका भिराला ठाउँका
सँधैजसो बगिरहने पानीका पँधेराहरू ।
प्रिय फूल,
यति उज्यालो तिमीले
घरदेशबाट परदेशको यात्रा गर्नू
जोखिमको भारी उठाउनु हो,
एउटै चालमा अभ्यस्त गोडा र हातमा
नेल र हतकडी लगाउनु हो,
पनि
रोज्यौ किन आत्महत्याको बाटो
डरलाग्दो र त्यो विभत्स रूप ।
आज बास्ना चलेन पारिजातका फूलहरु,
ओइलिरह्यो घण्टी फूलहरु
र फुल्दै फुलेनन् १२ बजे पनि फूलहरु ।।
मलाई लाग्छ तिम्रो बियोगमा
सम्पूर्ण बगैंचाका फूलहरू शोकाकुल बनेका छन् ।
कम्तिमा आत्महत्या गर्नुअघि
सम्झनुपर्थ्यो तिमीले
पृथ्वीलाई, पृथ्वी जस्तो बनाउने बगैचा ।
तिम्रो आँगन डुलिरहने
चञ्चले भमराहरू ।
तिम्रो काखमा हास्न हतार गरिरहेका
ती कलिला तिम्रा सन्ततीहरू ।
बर्षौदेखि मिलनको पल पर्खीरहेका
नवयुगल जोडीहरू !
कोही कसैको प्रबाह नगरी भिरालो बाटो रोज्यौ ।
प्रिय फूल,
तिमीले आत्महत्या गरेपछि आज बिहान फुल्ने फूलहरु फुल्नै सकेनन् ।
हिजो बेलुका फुलेका फूलहरुले सुगन्ध छर्न सकेनन् ।
एउटा फूलको क्षतिपूर्ति अर्को फूलले कहाँ तिर्न सक्छ र ?
मलाई यस्तो लाग्यो,
तिम्रो त्यो असामयिक आत्महत्यापछि
बगैचाहरू अब बगैचा रहेनन्,
फूलहरूको मरुभूमि असाध्यै कुरूप हुने रै’छ ।
यसर्थ,
ए नयाँ फुल्दै गरेका र फुलिरहेका फूलहरु हो
अहँ आत्महत्या गर्दै नगर
अहँ आत्महत्या गर्दै नगर
तिमी बिनाको जमिन कुरूप हुँदो रै’छ !!!
(पौडेल अनेसास जापानका महासचिव हुन्)