शनिबार, बैशाख २२, २०८१
Saturday, May 4, 2024

काठमाडौं – निकुञ्जमध्ये आम्दानी र पर्यटक आगमन बढी हुने चितवन निकुञ्जको प्रमुख चयनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र उनका भाइ नारायण दाहालसम्मले चासो देखाएका छन् । नारायण पूर्वसभासद हुन् ।

चितवनमा वार्षिक दुई लाख हाराहारी पर्यटक भित्रिन्छन् भने करिब २५ करोड रुपैयाँ राजस्व जम्मा हुन्छ । आम्दानीको ५० प्रतिशत रकम सिधै मध्यवर्ती क्षेत्रको विकासमा खर्च हुन्छ ।

दाहाल निकुञ्ज रहेको चितवन–३ का प्रतिनिधिसभा सदस्यसमेत हुन् । दाहालले चितवनमा आफूअनुकूल हुने गरी वार्डेन (प्रमुख संरक्षण अधिकृत) पठाउन आफूनिकट वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतलाई ताकेता गरेको स्रोतको दाबी छ ।

मन्त्री बस्नेतले विगतमा गरिएका काजसरुवा फिर्ता गर्न सकिने तर्क गरे । ‘कतिपयलाई फिर्ता र कतिपयलाई राख्न सकिन्छ,’ बस्नेतले भने, ‘चितवनबारे ठ्याक्कै निर्णय भएको छैन ।’

माघ पहिलो साता निकुञ्ज प्रमुख बनाएर पठाइएका उपसचिव वेदकुमार ढकाललाई यसै साता चितवनबाट काठमाडौं फर्काइएको छ ।

ढकाललाई हटाउन चितवनका माओवादी नेता र मध्यवर्ती क्षेत्रका बासिन्दाले समेत आफ्ना सांसद एवं माओवादी अध्यक्ष दाहाललाई पटक–पटक ध्यानाकर्षण गराएका थिए ।

तपाईको प्रतिक्रिया