बुधबार, जेठ ०२, २०८१
Wednesday, May 15, 2024

टोकियो – उज्वल भविष्यको सपना बोकेर ४ वर्ष अघि जापान आएका पोखराका राजु खत्री क्षेत्रीको चिवाकेनमा निधन भएको छ ।
पोखरा लेखनाथ महानगरपालिका वडा नं २२ पुम्दीभुम्दी घर भएका करिव २७ वर्षिय क्षेत्री शुक्रबार बिहान ओछ्यानमा मृत अवस्थामा भेटिएको उनका छिमेकी साथी धनबहादुर भुजेलले समुद्रपारिलाई बताए ।

संगै पढेका ३ जना साथीहरु सेन्मोनको पढाई सकेर एउटै कम्पनीबाट रोजगारी भिसा हासिल गरेको खुशीयालीमा अघिल्लो साँझ साथीभाइसंग रमाईलो गरी खानपिन गरी राजु सकुशल सुतेको ३ जना मध्यका एक ज्योती भट्टराईले बताए । राजु, ज्योती, सुरेश सापकोटा र मिल्ने साथी अरुण आचार्य गरी ४ जना भएर गोल्डेन वीकको बिदामा सामुहिक खुशीयालीमा अघिल्लो साँझ रमाईलो गरेको अरुणले बताए ।

अरुणका अनुसार राती १२ बजेतिर सकुशल सुतेका राजुले सुत्नुअघि श्रीमतीलाई फोन पनि गरेका थिए । चिवा केनको शिरोईसी सिटीमा बस्दै आएका राजु गत वर्ष मात्र नेपाल गएर बिहे गरेर आएका थिए ।

राजुको शव अहिले प्रहरीले पोष्टमार्टमका लागि जिम्मा लिएको छ । उनको पार्थिव शरीर नेपाल पठाईयोस् भन्ने घरपरिवारको चाहना रहेको बुझिएको छ । यस कार्यमा सहकार्य गर्न स्व. राजुको परिवारले जापानस्थित नेपाली दूतावास लगायत जापानमा क्रियाशिल बिभिन्न संघसंस्थाहरुमा अपिल गरेका छन् ।***

तपाईको प्रतिक्रिया