आइतबार, बैशाख १६, २०८१
Sunday, April 28, 2024

टोकियो-नेपाल र नेपालीहरुको पहिचान कला र संस्कृतिलाई जापानीजहरुमाझ देखाउँदै नेपाल भ्रमणको निमन्त्रणा दिन आयोजना गरिएको नेपाल फेस्टिवल फुकुओकामा सम्पन्न भएको छ । अप्रिलको १४ र १५ तारिकका दिन जापानको फुकुओकामा पञ्चेबाजा घन्कियो, जापानी नागरिकले पानको पात भाकामा गीत घन्काए अनि त पञ्चेबाजाको धुन र डाडापाखामा लोकभाका सुनेर हुर्किएका नेपालीलाई स्वदेश नै पुगेजस्तो भयो । नेपाली लोक संस्कृतिसँग अपरिचित विदेशीहरुले पनि रोमाञ्चित हुँदै पञ्चेबाजा र लोकभाकाको धुनसँगै रमाए ।
प्रसंग हो, जापानको फुकुओकामा यही अप्रिल १४ र १५ गते सम्पन्न नेपाल फेस्टिवलको । नेपाली कला, संस्कृति र संस्कार जापानीज नागरिकलाई परिचित गराउने उद्देश्यले आयोजित २ दिने नेपाल फेस्टिवल फुकुओका २०१८ भव्य रुपमा सम्पन भएको छ । जापानको फुकुओका शहरको तेन्जिन सेन्ट्रल पार्कमा क्युस्यु क्षेत्रमा सक्रिय फुनेसो, एनआरएनए क्युस्यु, नेपाल जापान फ्रेन्डशीप लायन्स क्लब लगायत विभिन्न सामाजिक संघ संथाहरुको संयुक्त आयोजनामा कार्यक्रम सम्पन्न भएको हो । सन् २०११ साल देखि बैशाखी मेलाको नामबाट सञ्चालित कार्यक्रम यस बर्षदेखि पूर्णरुपमा नेपाल फेस्टिवलको नामबाट सञ्चालन भयो ।
जापानी नागरिकलाई नेपालप्रति आकर्षित गर्न र नेपालमा पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यले आइतबार सम्पन्न फेस्टिवलमा ५ हजारभन्दा बढी जापानी तथा नेपालीले सहभागिता जनाएको कार्यक्रम संयोजक पुर्षाेत्तम सिग्देलले जानकारी दिनुभयो ।
कार्यक्रममा १६ वटा नेपाली खाना स्टलहरु र अन्य पोसाक तथा व्यावसयिक स्टलहरु गरी ३६ स्टलहरु रहेका थिए । नेपालको पर्यटनलाई टेवा र्पुयाउनको लागि सर्वाेच्च शिखर सगरमाथा, गौतम बुद्धको जन्मस्थल लुम्बिनी लगायत प्रमुख पर्यटकीय क्षेत्रको प्रचार सामाग्री सहितका स्टलहरुलाई सजाइएको थियो ।
सांस्कृतिक कार्यक्रम पनि गत वर्षभन्दा उत्कृष्ट भएकोले धेरै रमाइलो भएको प्रतिक्रिया दर्शकहरुले दिएका थिए । लोक तथा दोहोरी प्रतिष्ठान जापानका चर्चित कलाकार सूर्य खड्का, माधव सिग्देल, सोना केसीलगायतका कलाकारहरुको प्रस्तुतिबाट पनि सहभागीले भरपूर मनोरञ्जन लिए । कार्यक्रममा पञ्चेबाजा, कुमारी, लाखे नाँच लगायत विभिन्न जातजातिको आ–आफ्नो पहिचानसहितको परेडले पनि दर्शकको मन जित्न सफल भएको थियो ।
जापानको फुकुओका शहरमा आयोजना गरिएको उक्त कार्यक्रमले नेपालीबीच भावनात्मक एकता बलियो बनाउँदै नेपाल चिनाउन महत्वपूर्ण भूमिका खेलेको भन्दै राजदूत प्रतिभा राणाले आयोजकको प्रशंसा गर्नुभयो । यस्ता कार्यक्रमहरुले नेपालमा लगानी भित्राउन समते मद्दत पुग्ने भन्दै उहाँले एकजुट भएर लाग्न सबैलाई अपिल गर्नुभएको अर्जुन थापाले जानकारी दिनुभयो ।
नेपाल फेस्टिवलको औपचारिक कार्यक्रम दिपक देवकोटा र अर्जुन थापाको सञ्चालन रहेको थियो भने सांस्कृतिक कार्यक्रम सचिन आचार्य, माधव सिग्देल, मालुहिया चुजीले सञ्चालन गरेका थिए ।

तपाईको प्रतिक्रिया